कपिलवस्तुको मोतीपुर १३२ केभी सबस्टेसनको उद्घाटन, विद्युत आपूर्तिमा सुधार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गरेका छन् । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत प्रयोग गर्न आग्रह गरिन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सबस्टेसनले मोतीपुर क्षेत्रको विद्युत आपूर्तिमा सन्तुलन ल्याउने बताइन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै यस मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन आग्रह गरे । उनले सबस्टेसनबाट विद्युत आपूर्ति सुरु भएपछि यस क्षेत्रको विद्युत आपूर्ति भरपपर्दो र गुणस्तरीय भएको र प्राविधिक चुहावट समेत कम भएको बताए । मोतीपुर सबस्टेसनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत आपूर्तिका लागि क्रमश: ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत आपूर्ति हुँदा न्यून भोल्टेज,ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जानेलगायतका समस्या थियो । सालझण्डीमा ३३/११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुने छ । बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन र मोतीपुर–सन्धिखर्क खण्ड प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा छ । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब ३ अर्ब रुपैयाँ छ ।

डेढ अर्ब लगानीमा तयार भयो देशकै दोस्रो ठूलो सबस्टेशन, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ । उद्योग कलकारखानामा पुग्छ । पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । देशभित्र उत्पादित बिजुली देशभित्रै खपत गराउने उद्देश्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ । देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ । सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेशन आगामी शनिबार उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । सो सबस्टेशनलाई प्राधिकरणले न्यूखिम्ती नाम दिएको छ । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ । सोही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ । सबस्टेशनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ । ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेशन भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेशन सञ्चालनमा छन् । न्यूखिम्ती सबस्टेशनका इलेक्ट्रिकल इञ्जीनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ । विसं २०७५ देखि निर्माण सुरु भएको सो सबस्टेशन गत असारमा निर्माण सम्पन्न भएको हो । सुरुआती लागत एक अर्ब ५० करोड रुपैयाँ बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रासलगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियसन’ भएको छ । नयाँखिम्ती सबस्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२।४ मेगावाट क्षमताको लिखु दोस्रो र २४।१ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ । यस्तै गज्र्याङ हाइड्रोपावर, खिम्ती–२ को बिजुलीसमेत सोही सबस्टेशनमा जोडिनेछ । हालको क्षमताअनुसार सो सबस्टशेनमा कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले जानकारी दिए । रामेछाप, दोलखालगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेशन प्राधिकरणको भाषामा हब सबस्टेशनका रूपमा विकास हुनेछ । गत साउनको अन्तिम साता सो सबस्टेशन चार्ज गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउनका लागि महत्वपूर्ण मानिएको सो सबस्टेशनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ । माथिल्लो तामाकोसीको झण्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेशन भएर प्रवाह भइसकेको छ । सबस्टेशनमा चारवटा पावर ट्रान्सफर्मर जडान भएका छन् । जडान भएका ट्रान्सफर्मरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ । सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यूखिम्ती सबस्टेशनका कर्मचारीको भनाइ छ । “काम सम्पन्न हुँदा असाध्यै खुसी लागेको छ । त्यसमाथि प्रधानमन्त्रीले नै उद्घाटन गर्न लाग्नुभएकाले हामीले गरेको कामप्रति अझै गौरवको महसुुस भएको छ”, इलेक्ट्रिकल इञ्जीनियर दाहालले भने । सिभिल फोरम्यान भण्डारीले पनि लामो मेहेनतपछि आयोजना सम्पन्न हुँदा प्राधिकरणका सबै कर्मचारीले गौरवको महसुस गरेको बताए। केही दिनअघि मात्रै ऊर्जामन्त्री पम्फा भुसालले सर्लाहीको लालबन्दीमा निर्माण सम्पन्न भएको १२२÷३३ केभी सबस्टेशनको उद्घाटन गरेकी थिईन । रासस

पेट्रोलियम पदार्थभन्दा सस्तोमा पाइने विद्युतको खपत बढाउँ: मन्त्री भुसाल

सुनवल । नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गरेकी हुन । मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकहरुमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको बताईन । रसिया र युक्रेनबीचको युद्धले अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमासमेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह समेत गरिन । ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विद्युत व्यापारका लागि थप पूर्वाधार तयार भएको बताए । नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिंदै सबस्टेसन निर्माणबाट विद्युत प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताए । उनले ऊर्जालाई प्रतिश्पर्धी बनाउन सकिएमा नेपाल दक्षिण एसियाली क्षेत्रकै विद्युत हब बन्न सक्नेमा जोड दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानी क्षेत्रमा विद्युत आपूर्तिका लागि अर्को ३३÷११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको जानकारी दिए । उनले नेपालको विद्युत महसुल सस्तो रहेको र मागेजति विद्युत उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे । कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी किरडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ । नेपाल सरकारकोको लागानी, नर्वेको अनुदान र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा सबस्टेसनको निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि ८ नेभेम्बर २०१७ मा करिब एक अर्ब आठ करोड रुपैँयामा टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य एक अर्ब पाँच करोड रुपैयाँमा २३ नेभेम्बर २०२१ मा सम्पन्न भएको थियो नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि न्यू बुटवल सबस्टेसनबाट सुरु हुने छ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो विद्युत् हब बन्नेछ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फ दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने छ । बर्दबाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ ।