काटमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोसीले बर्षेनि विदेशिरहेको ठूला धनराशी स्वदेशमै रोक्ने बताएका छन् । माथिल्लो तामाकोसीको सञ्चालनपछि हाल बिहान र साँझको पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको परिमाणमा करिब आधाभन्दा बढी घटेकोले यसले ठूलो धनराशी स्वदेशमै सहयोग गरेको बताएका हुन् ।
शनिबार देशकै दोश्रो ठुलो २२०/१३२ के.भी.खिम्ती सबस्टेसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको खरिद दर यस हिउँदमा नेपाली रुपैंया ३२ प्रति युनिटसम्म पुगेको अवस्थामा तामाकोशीको विद्युत खरिद दर यो वर्ष अधिकतम नेपाली रूपैयाँ ६.९६ मात्र रहेकोले देशको ठूलो धनराशी विदेश जानबाट रोकिएको छ,’ उनले भने ।
दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा (४५६ मेगावाट) विद्युत उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत प्रसारण प्रणालीलाई ठुलो मद्दत पुर्याइरहेको बताए ।
घिसिङले अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको बताएका छन् । निर्देशक घिसिङले यसबाट जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको बताए । सो आयोजनाका अध्यक्ष समेत रहेका घिसिङले यो सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट र दक्षता प्राप्त भएको दाबी गरे ।
उनले माथिल्लो तामाकोशीको छेउमा रहेको २० मेगावटको रोल्वालिङ खोला हाइड्रोपावर निर्माणाधीन रहेको बताउँदै त्यसबाट उत्पादन भएको विद्युत पनि तामाकोशीमा मिसाउने योजना रहेको सुनाए । उनले भने, ‘वार्षिक २ अर्ब २८ करोड युनिट विद्युत उत्पादन हुने आयोजनाले दोश्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दैछ । रोल्वालीङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुख्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत ऊर्जा थप हुनेछ ।’
उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रति युनिट औसत ४.०६ रुपैयाँ विद्युत खरीद बिक्री दर रहेको छ । यसबाट आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनुको साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधारको अपेक्षा गरिएको छ ।