नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छः मन्त्री झाँक्री

काठमाडाैं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छन् । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताइन्। मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन नसक्ने बताउँदै नयाँ शहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिइन् । “पछिल्लो पटक ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराइ हुनेक्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण शहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्दछ”, उनले भनिन्, “ग्रामीण शहरीकरणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छ ।” मन्त्री झाँक्रीले सरकारले घोषणा गरेका नयाँ शहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले गतिलिन नसकेको उल्लेख गर्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिइन् । उनले प्राथमिकताका आधारमा आयोजना छनोट गर्नुपर्ने र असिमित आवश्यकतालाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन् । उनले भनिन्, “आयोजना स्वचालित ढङ्गले नभई आवश्यकता र प्राथमिकीकरणको आधारमा छनोट हुने प्रणालीको स्थापना गर्नु जरुरी छ ।”

काभ्रेबाट हेटौँडा जोड्ने सडकलाई ५० करोड बजेट

सांकेतिक तस्विर काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका ५० करोड छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र दुई अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । जिल्लामा ‘अति दुर्गम तथा कर्णाली’को उपनाम पाएको डाँडापारी क्षेत्रस्थित उक्त सडक आयोजना क्रमागत बनाइ प्रदेश सरकार तथा सङ्घीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ । ६४ किलोमिटर लामो उक्त सडकको पिन्थलीतर्फबाट गाउँपालिकाको केन्द्र घर्तीछापसम्म अर्को बजेटबाट ६७ करोड बजेटबाट स्तरोन्नति भइरहेको सो गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । उनका अनुसार थप दुई अर्ब १० करोडले मात्रै काभ्रेको क्षेत्रभित्र पर्ने ६४ किमी सडक पक्की गर्न सकिने अध्ययनले देखाएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित हुने सडकको ‘ट्र्याक’ मात्रै खोलिएको छ । ट्र्याक मात्रैको कच्ची सडकमा वर्षाका समय यातायातका साधन नचल्ने भएकाले स्तरोन्नतिसहित पक्की गर्न केही वर्षदेखि प्रदेश सरकारसँग बजेट माग गर्दै आएको बताइन्छ । प्रदेशस्थित युवा तथा खेलकुदमन्त्री रत्न ढकालले उक्त सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षको बजेटबाटै ५० करोड बजेट विनियोजन गर्ने निर्णय भएको बताए । ‘यो सडकका लागि लामो समयदेखि बजेट माग गरिरहेका थियौँ, बल्ल विनियोजन गर्ने निर्णय भएको छ’, उनले भने । उक्त सडक मकवानपुरको बागमती गाउँपालिकाको केन्द्र जुरजुरेस्थित धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिनेछ । काभ्रेपलाञ्चोकको दक्षिणीतर्फको महाभारत पर्वत शृङ्खलापारी अवस्थित डाँडापारी क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा स्थानीय जनप्रतिनिधिलगायत आवतजावतमा सास्ती खेप्न बाध्य हुनुपरेको छ । जिम्वाले सडक राम्रो भए डाँडापारीका क्षेत्रका मात्र नभई दोलखा, रामेछाप, सिन्धुपाल्चोकको नागरिकसमेत लाभान्वित हुने बताए । उनले भने, ‘हाल जिल्लाको जनप्रतिनिधिसमेत राजधानी पुग्न अर्को जिल्ला भएर जानुपर्ने बाध्यता रहँदै आएको छ ।’ यसैबीच, उक्त सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने निर्णयपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेपलाञ्चोबाट हेटौँडा जोड्ने सकडसँगै बागमती खोलामा निर्माणाधीन १६५ मिटर लामो पुल तथा महाभारत गाउँपालिकाको घर्तीछापसम्मको सडकको गत हप्ता निरीक्षण गरेका थिए । ११ करोडमा सम्झौता भएको उक्त पुलको हाल १२ प्रतिशत मात्रै काम भएको छ । ‘पुल पाँच वर्षअघि निर्माण सुरु भएको रहेछ, उक्त पुलको कामलाई निरन्तरता दिन निर्माणकर्तालाई अल्टिमेटन दिइसकेका छौँ, अब यही बाटो भएर राजधानी हेटाैँडा जान निकै सजिलो हुन्छ’, मुख्यमन्त्री पाण्डेले भने । उनका अनुसार पिन्थली–महाभारत–घर्तीछाप–गोकुले सडक खण्डलाई थप बजेटका लागि अर्को आर्थिक वर्षमा क्रमागत योजना बनाइनेछ । रासस

बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरेको उनले बताए । कालीगण्डकी करिडोरको सो सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो । यसअघि पनि मुस्ताङको थासाङ गाउँपालिका–४ मा भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्न फागुन १५ गतेसम्म दैनिक ४ घण्टा उक्त सडक बन्द गरिएको थियो । ‘फागुन २३ देखि चैत १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर घाँसा, काभ्रेभिरलगायतका स्थानमा कडा चट्टान फुटाउनुपर्ने भएको छ । यो अवधिमा बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सबै प्रकारका सवारीसाधन अवरुद्ध हुने छन्’, उनले भने, ‘आवश्यक सहयोगको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरीचौकी घाँसा र तत्कालको सहयोगको लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिने छ ।’ रासस