वैशाखदेखि हुने भनिएको नागढुङ्गा-मुग्लिन सडकखण्ड विस्तार तत्काल नहुने
काठमाडौं । नागढुङ्गा–मुग्लिङ सडक खण्ड विस्तारको काम तत्कालै सुरु नहुने भएको छ । वैशाखबाट सुरु हुने भनिएको सो काम तत्कालै सुरु नहुने भएको हो । वर्षाको समय नजिकिएको कारण अहिले नै सडक विस्तारको काम गर्न नसक्ने सडक विभाग अन्तरगतको विकास सहायता कार्यान्वयन महाशाखाका वरिष्ठ डिभिजनल इन्जिनियर त्रिलोक घिमिरेले जानकारी दिए । सडक विस्तार गर्ने काम नागढुङ्गादेखि नौबिसेसम्म जियाङसु–सगुनले र नौबिसेदेखि मलेखुसम्म शर्मा–लामा–जेडआइसीजी जेभी कम्पनीले ठेक्का पाएको छ । इन्जिनियर घिमिरेका अनुसार सडकको सर्भे गरेर वर्षाको समयपछि सडक विस्तारको काम अगाडि बढ्ने छ । वर्षाको समय अगाडि सडक विस्तार नगर्नु पर्ने ठाउँमा नाली नगाउने काम हुने उनले जानकारी दिए । प्रोजेक्टको प्रक्रिया सुरु भई फिल्ड मोभिलाइज्ड गर्ने काममा समय लागेको पनि घिमिरेले बताए । ‘हाल नाली, साइड कटिङ, सर्भे काम हुन्छ, सर्वेको काम नभईकन अरू काम हुँदैन, फिल्डमा मानिसहरुले काम देख्दैनन्, सर्भेको काम मात्र देख्छन्,’ उनले भने । तीन खण्डमा विभाजन गरी सडक विस्तारको काम सुरु हुनेछ । विकास सहायता कार्यान्वयन महाशाखाले पहिला नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु गरी दुई प्याकेजमा ठेक्का लगाएको हो । ‘दुई प्याकेजको काम अर्को महिनाबाट सुरु हुन्छ, तेस्रो मलेखु–मुग्लिङ प्याकेजको आर्थिक प्रस्ताव नै माग्न बाँकी नै छ, आर्थिक प्रस्ताव माग्नको लागि प्राविधिक प्रस्ताव स्वीकृत गरेर विश्व बैंकमा पठाएका छौं, उक्त बैंकले कुनै आपत्ति छैन भन्ने बित्तिकै आर्थिक प्रस्ताव माग्छौं, यसको सम्झौता पनि छिटै हुन्छ,’ उनले भने । सडक विस्तारको लागि पहिलो खण्ड नागढुङ्गा–नौबिसेमा १ अर्ब ३१ करोड रुपैयाँ र नौबिसे–मलेखु खण्डको लागि ५ अर्ब ३३ करोड रुपैयाँ बजेट छ । निर्माण सुरु भएको पहिलो प्याकेजलाई २ वर्ष र दोस्रो प्याकेजलाई ३ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । ‘सुरुमा ठेकेदार र परामर्शदाता आइसकेपछि पुन संयुक्त सर्भे गर्नुपर्छ, त्यो सर्भेमा हालको अवस्था, स्टक्चरहरु नोट गर्नको लागि लाइन लेबल फेरि नयाँ फिक्सड गर्नुपर्छ, त्यो काम गर्नको लागि अझै १÷२ महिना लाग्छ,’ उनले भने । अहिले सडक विस्तार गर्ने काम सुरु भयो भने यातायात सेवा अवरुद्ध र बाढि पहिरोका कारण बढी खर्च हुने भएकाले तत्काल काम सुरु गर्न नसकिएको घिमिरेले जानकारी दिए । सो काम भदौबाट सुरु हुने विकास महाशाखाको भनाइ छ । १६ करोड मुआब्जामा खर्च सो सडक विस्तार गर्दा १६ करोड ३८ लाख ५२ हजार रुपैयाँको मुआब्जा वितरण गर्नुपर्ने भएको छ । सडक विस्तारको लागि १२.६३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । सो जग्गाको अधिग्रहण गर्नको लागि मात्रै ५० लाख ५३ हजार रुपैयाँ खर्च हुने घिमिरेले बताए । त्यस्तै, सो सडकमार्गमा ७६ वाट निजी संरचना र ९ वाट सार्वजनिक संरचना पर्छन् । निजी संरचनाको जम्मा १५ करोड ६१ लाख र सार्वजनिक संरचना मा २७ लाख गरिजम्मा १५ करोड ८८ लाख रुपैयाँ घर टहराको मुआब्जा तिर्नु पर्ने हुन्छ । सम्बन्धित समाचार नागढुङ्गा–मुग्लिङ विस्तारको काम वैशाखदेखि, ठाउँ अनुसार फरक लेन
चौधरी फाउन्डेसनले हस्तान्तरण गर्यो साढे २ करोडको कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड
काठमाडौं । चौधरी फाउण्डेसनले काठमाडौंको कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरि अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । चौधरी फाउण्डेसनमार्फत् उक्त अस्पतालको आकस्मिक कक्षको स्तरोन्नती र विस्तार कार्यमा सारिकादेवी चौधरीको विशेष योगदान रहेको छ । बुधबार अस्पतालमा आयोजित एक समारोहकाबीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरेका छन् । उक्त अवसरमा बोल्दै राज्य मन्त्री श्रेष्ठले देशको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले सर्वसाधरण नागरिकका सन्ततीले उपचार सेवा पाउने अस्पताललाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने अपेक्षा आफुले राखेको बताए । फाउण्डेसनद्वारा १४ शैयाको इमरजेन्सी वार्ड विस्तार गरि २५ शैयाको निर्माण गरिएको छ । चौधरी फाउण्डेसन नेपालका एकमात्र डलर अर्बपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कामकालागि स्थापना गरेका हुन् । राजनीतिमा समेत सक्रिय रहेका चौधरी हाल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका सदस्य रहेका छन् । आकस्मिक कक्ष हस्तान्तरण समारोहमा बोल्दै फाउण्डेसनका महासचिव सारिकादेवी चौधरीले आफु आमा रहेको र आफ्ना सन्तान बिरामी पर्दा आमाहरुको मन कति पोल्छ भन्ने बारेमा आफुलाई गहिरो अनुभूति रहेको बताउदै सर्वसाधारण नेपाली नागरिकका बालबच्चाले उपचार पाउने कान्ति बाल अस्पताललाई आफुले रोज्नुको कारण यहि रहेको बताईन् । आम नेपाली बालबालिकाको उपचारमा अहिले विस्तार गरिएको आकस्मिक कक्षले महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरिन् । उक्त अवसरमा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा.डा. युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गरेका थिए । हस्तान्तरणपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफुलाई सन्तोष लागेको बताए । चौधरीले आउँदा दिनहरुमा अस्पतालको सेवा विस्तारमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । ‘बालबालिका देशको भविष्य निर्माता हुन्’ उपाध्यक्ष चौधरीले भने, ‘त्यसैले उनीहरुलाई गुणस्तरिय स्वास्थ्य र शिक्षा उपलब्ध गराउन हामी सबैले विशेष ध्यान दिनुपर्छ ।’ उपाध्यक्ष्य चौधरीले दुर-दराजसम्मका सर्वसाधरण र निम्न आर्थिकस्तर भएका नागरिकका सन्ततीले पनि सर्वसुभल र गुणस्तरीय उपचार सेवा पाउन भन्ने ध्येयले आफुहरुले कान्ती बाल अस्पताललाई सहयोग गरेको बताए । देशको विकासका लागि बालबालिकामाथिको लगानी अत्यावस्यक रहेकोमा जोड दिँदै उपाध्यक्ष चौधरीले गुणस्तरीय शिक्षा र स्वास्थ्यमार्फत् बालबालिकाहरूलाई बलियो बनाउन आवश्यक रहेको बताए । कान्ती अस्पताल देशकै मुख्य बाल अस्पताल हो । हरेक वर्ष करिव एक लाख पचास हजार विरामी वालबालिकालाई चिकित्सकीय सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पताल ३७२ शैयाको छ । चौधरी फाउण्डेसनले आज हस्तान्तरण गरेको आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेको छ । फाउण्डेसनले इमरजेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि उपलब्ध गराएको छ । फाउण्डेसनले इमरजेन्सी वार्डलाई नि:शुल्क वाईफाई जोन पनि बनाएको छ । यसकोलागि सीजी नेटको इन्टरनेट जडान गरिएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चौधरी फाउण्डेसनले देशका विभिन्न अस्पतालहरुमा गरिरहेको सहयोगको सह्राना गर्दै कान्ति अस्पतालको आकस्मिक कक्ष विस्तारमा पुर्याएको योगदान अतुलनीय भएको बताए । अस्पतालका निर्देशक डा.युवनिधि बस्यौलाले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । उनले चौधरी फाउण्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए । चौधरी फाउण्डेसनले स्वास्थ्य क्षेत्रमा देशैभरि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कोभिड महामारीकावीच गत बर्षको जेठमा युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) मा १८ शैयाको सिजी आइसियु वार्ड तथा धनगढी तथा सुर्खेतमा अक्सिजन प्लान्ट निर्माण गरेको थियो । फाउण्डेसनले आफ्नो स्वास्थ्य सहयोग अन्तर्गत हाल सरकारी अस्पतालका पूर्वधार निर्माणमा सहयोग केन्द्रित गरिरहेको छ ।
मेलम्चीको पानी सडकमा जम्दा आवागमनमा कठिनाइ
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो । बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावत गर्न समस्या भएको यात्रु रमिता लामाले गुनासो गरे । सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण स्कुटर तार्न समस्या भएको उनले सुनाए । सडकमा जमेको पानी जाने निकास पनि नभएकाले यात्रु र सवारी साधान समस्यामा पर्ने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्दा ध्यान नदिँदा समस्या भएको स्थानीयवासीको गुनासोे थियो । स्थानीयवासी पासाङ शेर्पाले वर्षाको पानी जमेको वा पानी पोखरीमै चुहावट भएको भन्न नसकिने बताए । ठूलो पानी पोखरी भएको स्थानमा निर्देशनालयका कोही कर्मचारीसमेत नभेटिँदा के भएको हो भन्ने अन्योल र त्रासमा बस्नुपरेको उनको भनाइ थियो । निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पानीपोखरीको चुहावट नभएको बताए । पानीपोखरी निर्माण भएपछि त्यसअघिको सडक कालोपत्र गर्न बाँकी रहेकाले पानी जमेको हुनसक्ने उनको ठम्याइ थियो । पोखरीमा वैशाख पहिलो सातादेखि पानी आउन थालेको थियो । सुन्दरीजलमा प्रशोधन भएको मेलम्चीको पानी काठमाडौं उपत्यकाका १० वटा पानी पोखरीमार्फत् ग्राहकको धारामा वितरण गरिन्छ । रासस