प्रसारण लाइन अभावमा विद्युत् खेर जान नदिन प्राधिकरणको पहल
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् जतिसक्दो छिटो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युत्हरूबाट उत्पादित विद्युत् खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको काम तत्काल सम्पन्न गरिने छ । प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरूको विद्युत् जोड्न नसकिएको भन्ने सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत् आयोजना र ती आयोजनाहरूको विद्युत् प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीको टोलीले शनिबार आयोजनाहरूको निरीक्षण गरेको हो । टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन, न्यादी हाइड्रोपावर लि.को ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीको १२ मेगावाटको दोर्दी–१, जलविद्युत आयोजनाहरूको भ्रमण गरेको थियो । टोलीले ती आयोजनाहरूको हालसम्मको निर्माण प्रगति र सम्पन्न हुने तालिकालगायतका बारेमा सम्बद्ध व्यक्तिहरूसँग छलफल गरी जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले आयोजनाहरू जतिक्दो छिट्टो निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्रसारण लाइनमा अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन नदिने बताए । प्राधिकरणले दोर्दी खोलाका जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी करिडोर) र कीर्तिपुरमा सबस्टेसन निर्माण सम्पन्न गरेको थियो । तर, १ असार २०७८मा दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ वटा टावरमध्ये ४ वटालाई बगाएको थियो । बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत आयोजनाहरूमा पनि ठूलो क्षति पुर्याएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनका ४ वटा टावर र जलविद्युत आयोजनाहरूको पुनर्निर्माण भइरहेको छ । आयोजनाहरूमध्ये दोर्दी खोला रे दोर्दी–१ जलविद्युत् आयोजनाको काम केही छिट्टै सम्पन्न हुने र माथिल्लो दोर्दी एको केही समय लाग्ने देखिएको उनले बताए । दोर्दी खोला आयोजनाको व्यवस्थापनले सम्पूर्ण परीक्षणहरू सम्पन्न गरी २० दिनभित्रमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराएको थियो ।
समयमै सकिएन तार भूमिगतको काम, थपियो १५ महिना म्याद
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले तीव्रता पाउन सकेको छैन । काम सुरु भएको करिब ३ वर्ष हुनै लाग्दा पनि कामको गति अपेक्षित रुपमा बढ्न नसकेको हो । प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा रहेका अव्यवस्थित तारलाई व्यवस्थित बनाउनको लागि तार भूमिगत गर्ने योजना अघि सारेको थियो । तार भूमिगत गर्दा शहरको सौन्दर्य पनि कायम रहने प्राधिकरणको भनाई थियो । तार भूमिगत गर्ने कार्य जुन रफ्तारमा हुनपर्ने हो त्यो अनुसारको काम हुन नसकेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई स्वीकार गर्छन । सडक विभागले २०७६ माघमा प्राधिकरणलाई सडक खन्ने अनुमति दिएपछि प्राधिकरणले उपत्यकामा २०७६ को फागुनदेखि तार भूमिगत गर्ने काम सुरु गरेको हो । प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार काठमाडौंमा हुने ट्राफिक जाम र कोभिड महामारीको कारण समयमा नै काम सक्न मुस्किल परेका हो । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले विभिन्न ठाउँमा तार भूमिगतको काम गर्दैछ । तार भूमिगत गर्दा सडक र फुटपाथ अस्तव्यस्त बनेका छन् । सडकपेटीमा नै विद्युतीय ट्रान्समिटर राख्दा स्थानीय र पैदल यात्रुलाई जोखिम भएकोले प्राधिकरणले आलोचना पनि खेपेको छ । प्राधिकरणले धेरै ठाउँमा सडक भत्काएर नपुरेको र खानेपानीको पाइपहरु पनि व्यवस्थित नगरेको गुनासो छ । महाराजगन्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोङ्गबु, महाराजगन्ज लगायतका क्षेत्रमा तार भूमिगत गरिनेछ । यस्तै, महाराजगन्ज वितरण केन्द्रअन्तर्गत नै बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, महाराजगन्ज, धापासी, बसुन्धारा, शिवपुरी, चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिङ हस्पिटललगायतका स्थानमा लाइन भूमिगत गर्ने प्राधिकरणको योजना छ । जस अन्तर्गत महाराजगन्ज वितरण केन्द्र वितरण हुने तारको काम ६० प्रतिशत पुरा भइसकेको भट्टराइले जानकारी दिए । ‘तार भूमिगत गर्ने धेरै भागको काम सकिँदैछ, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतको करिब सबै काम भइसकेको छ, सो क्षेत्रमा गोंगबुदेखि न्यूचाबहिलसम्मको बाँकी छ, त्यो काम गर्नको लागि सडक, ढल, खानेपानी जस्ता सरोकारवाला निकायसँग सहकार्य गरी काम सुरु गर्नेछौं,’ उनले भने । आयोजनामा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा प्राधिकरणको लगानी छ । यो आयोजना अन्तर्गत करिब २ सय ५० किलोमिटरमा ११ हजार भोल्ट र ४ सय किलोमिटरमा ४ सय भोल्टको भूमिगत वितरण लाइन निर्माण गरिनेछ । काठमाडौंले तारको गुजुल्टोबाट मुक्ति पाउने, बिजुलीका तार भूमिगत गरिँदै रत्नपार्क वितरण केन्द्रअन्तर्गतका रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल, जोरपाटी क्षेत्रमा पनि तार जमिनमुनि बिछ्याइने काम प्राधिकरणले गरिरहेको छ । चाबहिल क्षेत्रको वितरण लाइन भूमिगत गर्ने काम पूरा भइसकेको छ । प्रवक्ता भट्टराईका अनुसार हरेका ठाउँमा काम गर्नको लागि सम्बन्धित निकायसँग छलफल गर्नुपर्ने हुन्छ । त्यसकारण पनि काम गर्न ढिलाई भएको छ । ‘निर्माण व्यवसायीहरुको पनि अहिले आफ्नै समस्या छ, काम गर्न सक्ने पर्याप्त ठाउँ उपलब्ध गर्न सकेनौं, अवरोध नभई छिटो तरीकाले काम गर्ने योजना उनीहरूको हुन्छ, तर हाम्रोमा यो सम्भव छैन, कहिले सडक, खानेपानी, महानगर लगायतसँग सम्झौता गर्नु पर्ने भएकोले पनि यसमा समस्या आएका हो,’ उनले भने । रत्नपार्क वितरण केन्द्रको पनि ४० प्रतिशत काम भइसकेको भट्टराईले दाबी गरे । सो केन्द्र अन्तर्गत हाल केही ठाउँमा भूमिगत रूपमा नै लाइन प्रसारण भइसको छ । प्राधिकरणको यो काम २०२१ अक्टोबर सम्ममा सक्ने गरी भारतको केईआई कम्पनीलाई ठेक्का दिएको थियो । प्राधिकरणले सो समयभित्रमा काम गर्न नसकेर प्राधिकरणले १५ महिनाको टेन्डर अवधि थपेको छ । सो समयभित्रमा नै भूमिगत तारको काम सक्ने लक्षय प्राधिकरणको छ ।
सर्वोत्तम स्टीलद्वारा प्राविधिक कार्यक्रम सम्पन्न
काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरूलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तरीय घरनिर्माणसम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान गरिएको थियो । कार्यक्रममा सर्वोत्तम स्टीलको तर्पmबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले इन्जिनियर तथा ठेकेदारहरुलाई सर्वोत्तम स्टीलको गुणस्तरीयता तथा प्राविधिक विवरणबारे जानकारी प्रदान गराएका थिए । त्यसैगरी जगदम्बा सिमेन्टको तर्फबाट कम्पनीका डिजिएम. चिरञ्जीवी घिमिरेले जगदम्बा सिमेन्टको बारेमा जानकारी प्रदान गराएका थिए । सो कार्यक्रम विर्तामोड, इटहरी र लहान गरी ३ स्थानहरुमा आयोजना गरिएको हो ।