नागढुङ्गा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने
काठमाडौं । नागढुङ्गा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ । विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुईदुई लेनका पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक खण्डमा २७ पुल छन् । तीमध्ये तीन पुल नयाँ र फराकिला भएकाले त्यहाँ नयाँ पुल आवश्यक नभएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । पुराना पुल भएका स्थानमा तिनलाई मर्मत गर्नका साथै सँगै नयाँ पुल पनि निर्माण गर्न लागिएको हो । सडकसँगै पुल निर्माण तीन वर्षमा सम्पन्न गरिने आयोजनाका प्रमुख किरण कार्कीले बताए । पुराना पुल दुई लेनको रहेकामा नयाँ निर्माण हुन लागेको पुल पनि दुई–दुई लेनकै बनाइनेछ । अधिकांश स्थानमा तीन लेन र बजार क्षेत्रमा चार लेनको सडक निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ । सडक जत्तिकै चौडा पुल निर्माण भएपछि सवारी चाप व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ । नागढुङ्गा चेकप्वाइन्टबाट सुरु भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौं, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ । यो सडक विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ । सबैभन्दा बढी सवारीसाधन भित्रिने र बाहिरिने नाका भएकाले सडकको सुरक्षाका लागि आवश्यक निर्माणमा ध्यान दिइनेछ र मोड सुधार गर्ने, पुल पनि थपिनेलगायत काम गरिनेछ । यो खण्डको अधिकांश स्थानमा सडक झण्डै १० देखि ११ मिटरसम्म चौडा हुनेछ । ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एक/एक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ ।
व्यवसायीले भनेजस्तो उद्योगमा १४ घण्टा लोडसेडिङ छैन : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीले भने जस्तो उद्योगमा १४ घण्टा लोडसेडिङ नभएको बताएका छन् । बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको बताएका हुन् । निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगमा लोडसेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताए । कुनै उद्योगमा ट्रान्समिसन लाइनको कारण विद्युत् कटौती भएर बेलुका एक/दुई घण्टा विद्युत् कटौती भएको हुन सक्ने तर, प्राधिकरणले समयमा नै जानकारी दिने गरेको बताए । उनले तीन महिना भारतबाट केही विद्युत् आयात गर्ने तर, असारबाट भारतलाई विद्युत् निर्यात गर्ने अवस्था रहेको बताए । असारसम्म नेपालको विद्युत् उत्पादन २३ सय मेगावट पुग्ने निश्चित रहेको उनको दाबी छ ।
दैनिक पाँच घण्टा बन्द हुँदै मालढुङ्गा-बेनी सडकखण्ड, सवारीसाधन चलाउन रोक
पर्वत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा-बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालय समक्ष समय व्यवस्थापनको प्रस्ताव गरेको थियो । हाल तेह्र किलोमिटर लामो सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ । सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । एम्बुलेन्स र विकास निर्माणका अत्यावश्यक सवारीसाधनका हकमा सहजीकरण गरिने छ । मालढुङ्गा-बेनी सडक बन्द भएको समयमा बागलुङ-रत्नेचौर-बेनी हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ । एपेक्स-खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारीसाधन रोकेर काम गर्न समय मागिएको बताए । कुश्मा नगरपालिका-१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । मालढुङ्गा-बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । विसं २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरी सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गर्दैआएको छ । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत निर्माण थालिएको सडक २०५२ मा सञ्चालनमा आएको हो । विसं २०६८ मा कालोपत्र भएको मालढुङ्गा-बेनी सडक पछिल्लो समय जीर्ण थियो । रासस