नेपालगञ्जमा नयाँ उद्योगको लागि जग्गा अपुग
नेपालगञ्ज । औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाको लागि जग्गा अपुग भएको छ । नयाँ उद्योग स्थापनाको लागि कार्यालयमा जग्गा माग हुँदै आए पनि खाली जग्गा नभएका कारण दिन नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनलेले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज औद्योगिक क्षेत्रमा अहिले ३५ उद्योग सञ्चालनमा छन् । २३३ रोपनी जग्गामा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका सबै उद्योग सञ्चालनमा रहेका छन् । ‘उद्योग स्थापनाको लागि उद्योगी व्यवसायीबाट औद्योगिक क्षेत्रमा माग छ तर हामीसँग जग्गा छैन’, कार्यालयका प्रमुख पुनले भने, ‘नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन नहुँदासम्म दिन सकिने अवस्था छैन ।’ नेपालगञ्जको बीच बजारमा रहेको औद्योगिक क्षेत्र सुरक्षा र सुविधाका दृष्टिकोणले उपयुक्त रहेकाले नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीको आकर्षणमा पर्ने गरेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रमा पाइप निर्माण गर्ने, प्लाष्टिक उद्योग, प्लाई उद्योग, मेटल उद्योग र पानी उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । यहाँ रहेको विनोद मेटल उद्योग र विजय मेटल उद्योगबाट उत्पादन हुने चरेशका थालहरू तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको कार्यालयका प्रमुख पुनले बताए । नेपालगञ्जमा उद्योग स्थापना गर्ने जग्गा अभाव भएपछि पछिल्लो पटक नेपालगञ्जसँगै जोडिएको जानकी गाउँपालिकाको वडा नं ६ स्थित गनापुरमा जग्गा किनेर धेरै उद्योग स्थापना भएका छन् । त्यहाँ करिब ८० उद्योग सञ्चालनमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए । शिलान्यास भएको एकवर्ष बितिसक्दा पनि नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको काम सुरु हुन सकेको छैन । उनले नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना नहुँदासम्म उद्योग स्थापनाको लागि जग्गा अभाव देखिएको बताए । शिलान्यास भएको १३ महिना बित्दासमेत उक्त औद्योगिक क्षेत्रको काम सुरु हुन सकेको छैन । काम सुरु गर्न आफूहरूले बारम्बार अनुरोध गर्दै आएको महासचिव ओलीको भनाइ छ ।
७० करोड रूपैयाँकाे सडक योजना अलपत्र
बागलुङ । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप कालोपत्रका लागि छनोट भएको सडक योजना अलपत्र परेको छ । ताराखोला गाउँपालिकाको केन्द्र अर्गललाई जोड्ने रिजालचोक–अमरभूमि–अर्गल सडक खण्ड कालोपत्र हुने छाँटकाट देखिएको छैन । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गत वर्ष नै उक्त सडक कालोपत्रका लागि छनोट गरेको थियो । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले निर्णय भए पनि योजना कार्यान्वयन अन्योलमा परेको बताए । “सडक कालोपत्रका लागि छनोटमा परे पनि अरु कामले गति लिन सकेन, केही सुरसार देखिन्न”, उनले भने, “सरकारले चासो नलिएपछि योजना ओझेलमा परेको छ ।” सरकारले गरेको बजेट कटौतीको मारमा उक्त सडक पनि परेको हुनसक्ने अध्यक्ष घर्तीको बुझाइ छ । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालय, गण्डकीका प्रमुख कुमार थापाले सो योजना सुसुप्त अवस्थामा रहेको बताए । “थुप्रै सडकको बजेट कटौती भएको छ, यो योजना पनि प्राथमिकता नपरेका कारण कुनै काम अघि बढ्न सकेको छैन”, उनले भने । त्यस प्रकृतिका सडक योजनाको कार्यान्वयन सङ्घ र प्रदेश सरकारले गर्ने भन्नेमा पनि अन्योलता छ । कार्यालय प्रमुख थापाले आफूले पनि प्रदेश सरकारलाई जिम्मेवारी दिने विषयमा छलफल भइरहेको थाहा पाए पनि विस्तृतमा जानकारी नभएको बताए । उनले बजेटको सुनिश्चितता भए सडक कालोपत्रको प्रक्रिया अघि बढ्ने उल्लेख गरे । उनीसहित भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सिनियर डिभिजन इञ्जिनीयर र गाउँपालिकाका प्रतिनिधि रहेको छनोट समितिले २० किमी दूरीको उक्त सडकलाई कालोपत्रका लागि छनोट गरी केन्द्रमा सिफारिस गरेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर छिट्टै कालोपत्र थालिने जनाइए पनि योजना नै अलपत्र पर्नु दुःखद रहेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । वर्षौंदेखिको कच्ची सडक कालोपत्र हुने खबरले त्यसबेला स्थानीयवासीमा पनि खुसी छाएको थियो । योजनाको टुङ्गो नै नलागेपछि अहिले फेरि गाउँलेले गुनासो गर्न थालेका छन् । गाउँपालिकाले त्यस सडकलाई ‘सहिद मार्ग’ का रुपमासमेत नामकरण गरेको छ । जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर उक्त सडकको मार्ग खोलेका थिए । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि उत्तर–पश्चिम हुँदै सो सडक ताराखोलाको केन्द्र अर्गलमा जोडिन्छ । उक्त खण्ड कालोपत्रका लागि झण्डै ७० करोड रुपैयाँको लागत अनुमान गरिएको छ । योजना कार्यान्वयनमा आए सङ्घ सरकारको ७०, प्रदेशको १० र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने जनाइएको छ । मार्ग खुलेको वर्षौं बित्दासमेत सो सडक कालोपत्र हुन सकेको छैन । गाउँपालिकाले आफ्नै बजेटबाट मर्मत तथा सुधार गर्दै आएको छ । वर्षायाममा त सडक जीर्ण नै बन्छ । उक्त सडकमा जोखिम उठाएर यात्रा गर्नुपर्ने स्थिति छ । पक्की सडकसँग जोडिएमा यात्रुको आवतजावत सहज हुनाका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्ने देखिएको छ । कृषि, पशु र वनजन्य उपजका दृष्टिले ताराखोला जिल्लामै धनी छ । अहिले पनि त्यहाँका मौलिक उत्पादन बाहिर निर्यात भइरहेका छन् । स्तरहीन सडकका कारण अहिले ताराखोलादेखि सदरमुकाम आउन घण्टौँको यात्रा तय गर्नुपर्छ । सडक कालोपत्र भएमा भने लोकमार्ग हुँदै प्रदेश राजधानी पोखराको यात्रा सहज र छरितो हुनेछ । रासस
बुढानीलकण्ठका ८ मिटरभन्दा फराकिला सडक झलमल्ल पार्न ५५० बत्ती जडान गरिँदै
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका विभिन्न सडकका विभिन्न रुटमा स्मार्ट स्ट्रिट लाइट जडान हुने भएका छन् । नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी उक्त बत्ती जडान गर्न लागेको हो । सडकका विभिन्न रुटमा ५५० वटा लाइट जडान गर्ने भएको बुढानीलकण्ठ नगरपालिका प्रवक्ता नवराज भट्टराई जानकारी दिए । प्रवक्ता भट्टराईका अनुसार नगरपालिकाले बत्ती जडान गर्नको लागि टेन्डर भई ठेक्का गरिसकेको छ । करिब ७ करोड रुपैयाँ बजेटमा नगरको विभिन्न स्थानमा उक्त बत्ती जडान हुनेछन् । यसमा ६० प्रतिशत नगरले र ४० प्रतिशत प्राधिकरणको खर्च गर्ने भएको छ । ‘नगरपालिकासँग सम्झौता भई उक्त काम प्राधिकरणमार्फत गर्ने भनिएको हो, प्राधिकरणले टेन्डर गरेर सम्झौताको प्रक्रिया अगाडि बढाएको छ,’ भट्टराईले भने । ८ मिटरभन्दा माथि चौडा भएका सम्पूर्ण सडकमा उक्त बत्ती जडान गर्नको लागि टेन्डर गरेको भट्टराईले बताए । स्मार्ट स्ट्रिट लाइट जडानको लागि आवश्यक काम हाल विद्युत् प्राधिकरणबाट भइरहेको छ । रातको समयमा सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ उक्त लाइट जडान गर्न लागेको भट्टराईले जानकारी दिए । सम्झौता भएर काम सुरु भएको ४ महिनाभित्र बत्ती जडान गरी सक्ने नगरपालिकाको योजना छ । ‘नगरका अधिकांश सडकमा बत्ती नहुँदा सवारी चालक र यात्रुले समस्या भोग्नु परेको छ भने रातका समयमा सडक दुर्घटना पनि वृद्धि भइरहेको छ, सडकमा जडान गर्न लागिएको बत्ती आधुनिक प्रकारको हो, यो दिनमा निभ्ने र अँध्यारो भएसँगै बल्ने गर्छ,’ उनले भने रात्रिकालीन सडक सौन्दर्य तथा सवारी आवागमनको सहजताका लागि नगरपालिका र प्राधिकरणबीच सम्झौता भएको हो । सोलार बत्तीभन्दा स्मार्ट लाइट जडान र मर्मतसम्भारका हिसाबले सस्तो पर्ने भएकाले स्मार्ट लाइट जडान गर्ने निर्णय गरिएको भट्टराईले जनाए । १३ पालिकामा लाइट जडान गर्दै प्राधिकरण नेपाल विद्युत् प्राधिकरणले १३ पालिकासँग सम्झौता गरी स्मार्ट स्ट्रिट लाइट जडानको काम अगाडि बढाएको छ । प्राधिकरणले ललितपुर, पोखरा, भरतपुर र काठमाडौं महानगरका सडकको विभिन्न रुटमा स्मार्ट बत्ती (लाइट) जडान गर्ने योजना अगाडि सारेको हो । प्राधिकरणले भक्तपुरको विभिन्न ठाउँमा बत्ती जडान गरिसकेको छ । प्राधिकरणका अनुसार पोखरामा ११ करोड रुपैयाँमा १७ सय बत्ती, भरतपुरमा २ हजार बत्ती १२ करोडको लागतमा जोड्ने योजना रहेको छ । यसैगरी काठमाडौं महानगरपालिकामा पनि महानगर र नेपाल विद्युत् प्राधिकरण सहकार्य गरी सडकमा २१ सयवटा लाइट जडान हुने भएको छ । विद्युत् प्राधिकरणका अनुसार भ्याटसहित १२ करोड रुपैयाँको लागतमा काठमाडौं महानगका विभिन्न स्थानमा उक्त बत्ती जडान हुनेछन् । यस्तै, बेलका, भीमदत्त, भीमेश्वर र कनकाई नगरपालिकामा पनि लाइट जडान गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । कीर्तिपुर, महालक्ष्मी, फिदिम र कटहरी नगरपालिकामा बत्ती जडान गर्नको लागि टेन्डर प्रक्रिया अगाडि बढाएको प्राधिकरणको योजना छ ।