पछिल्लो ३६ घण्टा यता उद्योगहरुमा बिजुली छैन, काम ठप्प हुँदा उद्योगी चिन्तित

काठमाडौं । अनियमित विद्युत् आपूर्तिका कारण विभिन्न औद्योगिम क्षेत्रका समस्यामा समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत नदिँदा उद्योगहरु ठप्प भएका छुन् । विद्युत नियमित आपुर्ति नहुँदा उद्योगिक क्षेत्रका व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उनीहरु चिन्तित भएका हुन् । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी करिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भएको हो । करिब एक महिनदेखि विद्युत् आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको छ । पछिल्लो ३६ घण्टा यतादेखि भने उद्योगहरुमा विद्युत नै पठाइएको छैन । जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गानाले भने पछिल्लो १५ दिनदेखि विद्युत् आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जानकारी दिए । ‘अहिले सिमेन्ट उत्पादनका लागि उपयुक्त समय हो, यो समयमा उत्पादन हुन नसके भारतीय सिमेन्टले बजार लिन्छ । हाम्रो बजार बिग्रिन्छ र यसले दीर्घकालसम्म समस्या हुन्छ’, उनले भने । उद्योगमा उत्पादन बन्द हुँदा कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैंकको ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्था सिर्जना हुन लागेको उनको गुनासो छ । विद्युत् आपूर्ति बन्द हुँदा लुम्बिनी करिडोरका मात्रै १२ सिमेन्ट र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ । अघोषित लोडसेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगमा विद्युत् आपूर्ति रोकिएपछि प्लान्ट सञ्चालन गर्न सकिएको छैन । अनियमित विद्युत् आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपछि अहिले अघोषितरूपमा २४ घण्टा विद्युत् कटौती गर्दा ठूला उद्योग सञ्चालनमा समस्या भएको उहाँको भनाइ छ । उद्योगीले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकारणसँग पटक–पटक आग्रह गर्र्दै आए पनि समस्या समाधान हुनसकेको छैन । प्राधिकरणले समयतालिका बनाएर उद्योग क्षेत्रको विद्युत् आपूर्ति नियमित गर्नुपर्ने माग उनीहरुकोे छ । ‘प्राधिकरण नेतृत्वको असक्षमताका कारण पटक–पटक उद्योगीहरूले पीडा भोग्नुपरेको छ, हाल विद्युत् आपूर्तिमा देखिएको समस्या नियोजित हो’, उद्योगी बाबुराम बोहोरा भन्छन्, ‘समस्या सामाधानमा छिट्टै कदम नचालिए सङ्घ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ विद्युत् नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी बताउँछन् । यस्तो अवस्था आउँदा पनि विद्युत् प्राधिकरण जिम्मेवार बन्न नसकेको गुनासो उनीहरूको छ । आपूर्तिको समस्या समाधान गर्न ढिलाइ गरिए आफूहरु उद्योगमा ताला लगाएर सडकमा आउने उद्योगीहरुको चेतावनी छ । रुपन्देही उद्योग सङ्घ, उद्योग वाणिज्य सङ्घ र सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर धेरै पटक ध्यानाकर्षण गराउने काम गरे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको उद्योगीहरूको गुनासो छ । कोभिड महामारीका कारण थला परेका उद्योग विस्तारै उठ्न थाले पनि विद्युत्का कारण धरासायी हुने अवस्थामा छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले प्राधिकरणले बिनासूचना विद्युत् आपूर्ति बन्द गर्ने र नियमित विद्युत् नदिएका कारण उद्योगहरूले ठूलो क्षति व्यहोर्नुपरिरेहको बताए । विद्युत् वितरणमा भइरहेको समस्यालाई तत्काल समाधान गर्न उनको आग्रह छ । औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेका छन् । नेपाल उद्योग वाणिजय महासंघले चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रहसहित सयौं उद्योगहरूबाट अनुरोध पत्र आएको बताएको छ । लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने स्थिति श्रृजना भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । अपर्झट विद्युत आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुग्ने र उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला लगायतका समस्या उत्पन्न हुन थालेको बताइएको हो । प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि विगतमा पटक–पटक गरेको प्रतिवद्धताको महासंघले स्मरण समेत गराएको छ । यसले मुलुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिने महासंघको भनाइ छ । विद्यमान समस्याको तत्काल समाधानका लागि कुटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिँदै आएको बिजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्ब पहल गर्न महासंघले आग्रह गरेको छ । त्यस्तै उद्योगहरूमा विद्युत कटौती हुने तालिका सार्वजनिक गर्न र विजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउन समेत महासंघले माग गरेको छ ।

कालोपत्रे हुँदै सिगाना, बरेङ शान्तिपुर सडक

गलकोट । बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाकोे बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ । साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको छ । उक्त सडकसँगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रेका लागि सो प्रक्रिया शुरु गरेको हो । बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइसक्ने सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर कृष्णबहादुर खड्काले जानकारी दिए । “डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी वैशाख १५ गते पूर्वाधारसहित कालोपत्रे गर्न ठेक्का आह्वान गरेका छौँ”, खड्काले भने, “यस निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सांसदले रोजेर सिफारिस गरेको सडक हो, ठेक्का सम्झौता गरेको साढे दुई वर्षमा कालोपत्रे भइसक्नेछ, उक्त सडक लामो भए पनि अहिले सडकको सुरुबाट १० किलोमिटर सडक कालोपत्रे गरिने छ ।” लामो समय बजेट अभावले कालोपत्रेका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर कालोपत्रेको चरणमा प्रवेश गरेको बागलुङ क्षेत्र नम्बर एकका सांसद डा सूर्य पाठकले बताए । “निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत बागलुङ बजार हुँदै सिगाना, चापाखर्क, बरेङ हुँदै शान्तिपुर पुग्ने सडक छनोट गरेर सिफारिस गरेको थिए”, डा पाठकले भने, “म निर्वाचित भएको पाँच वर्षभित्र सडक कालोपत्रे भइसक्थ्यो, बीचमा बजेट अभावका कारण ठेक्कामा जान सकेन, अहिले ढिलै भए पनि ठेक्कामा गएको छ, कालोपत्रे हुने भयो ।” यो ठेक्काअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्म सडक कालोपत्रे भइसकेका कारण बोक्सेबाट बौडैचौरसम्म कालोपत्रे हुदाँ यहाँका जनताले विकासको महसुस गर्ने बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए । उक्त सडकको १० किलोमिटरमा नाली, पर्खाल, कल्र्भटलगायतका पूर्वाधार निर्माणपश्चात् सडक कालोपत्रे गरिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । रासस

व्यवसायीले काम नगर्दा ५०० पूर्वाधार निर्माणका योजना प्रभावित, भन्छन्ः यथास्थितिमा काम गर्न सक्दैनौं

फाइल फोटो बाँके । निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५०० भन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका छन् । मूल्यवृद्धिअनुसारको मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब सात अर्ब रुपैयाँ बढीका साना, ठूला योजना ठप्प भएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले बताए । उनका अनुसार, निर्माण व्यवसायी आन्दोलनमा लागेपछि बाँकेमा सरकारी तहबाट भइरहेका पूर्वाधार निर्माणका काम ठप्प भएका छन् । निर्माण व्यवसायीले दैनिक जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएका छन् । चालु आर्थिक वर्षको अन्त्यतीर निर्माण व्यवसायीले काम ठप्प पारिदिएपछि स्थानीय तहमा बजेट खर्चसमेत प्रभावित हुने भएको छ । बाँकेका आठ स्थानीय तहमा पूर्वाधार निर्माणका योजना कार्यान्वयनको अवस्थामा छन् । अहिले भइरहेको अप्रत्यासित मूल्य वृद्धिले निर्माण व्यवसायीले यथास्थितिमा काम गर्न नसक्ने भएकाले आन्दोलन गर्नु परेको सङ्घका वरिष्ठ उपाध्यक्ष लिलाराज उपाध्यायको भनाइ छ । निर्माण सामग्री तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि आव २०७८/७९ को जिल्ला दररेटलाई आवश्यक संशोधन गरी नयाँ दररेटको निर्माण व्यवसायीले माग गर्दै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यसअघि नै निर्माण व्यवसायीलाई जिल्लाबाट हुनसक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको बताए । रासस