लक्ष्मी बैंकको सीईओमा अजय विक्रम शाह

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजय विक्रम शाह नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई अगामी चार वर्षसम्मको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।

मेगा बैंक र आइएमई डिजिटलबीच मोबाइलबाटै वित्तीय सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्धारा प्रवद्र्धित आइएमई डिजिटलबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले उक्त दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

राष्ट्र बैंकमा जागिर खानेले राष्ट्रिय वाणिज्य बैंकमा पैसा बुझाउनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नयां जनशक्तीको लागि विज्ञापन गर्दा दरखास्त शुल्क अनलाइन प्रविधिबाट भुक्तानी गर्ने सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको उपस्थितीमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सरकारी स्वामित्वको ठूलो बैंक संग सहकार्य गर्न पााउदा खुशी लागेको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सेवालाई प्रभावकारी ढङ्गबाट कार्यन्वयन गर्दै भविश्यमा राष्ट्र बैंक संग सहकार्य गरी जनतालाई थप सेवाहरु प्रदान गर्न बैंक सदैव तयार रहेको बताए । उक्त सम्झौता भएपश्चात नेपाल राष्ट्र बैंकले निकट भविष्यमा नयां जनशक्ती भर्नाको लागि माग गर्ने विज्ञापनमा आवेदन गर्दा दरखास्त फारम अनलाइन प्रविधि मार्फत भर्नुपर्ने र सो को दरखास्त शुल्क राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेट बैंकिङ्ग वा मोवाइल बैंकिङ्ग अथवा इसेवा डिजिटल सेवा मार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको नेपाल राष्ट्र बैंकको खातामा सिधै रकम जम्मा हुने छ । बैंकको हाल ७४ जिल्लामा २०७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख देवेशप्रसाद लोहनी, नेपाल राष्ट्र बैंकका तर्फबाट निर्देशक गुरुप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो ।