सेयर बजार घट्दा एक सातामा लगानीकर्ताले गुमाए १३ अर्ब ९८ कराेड
काठमाडौ । सेयर बजार घट्दा एक सातामा लगानीकर्ताले २३ अर्ब ९८ करोड रुपैयाँ गुमाएका छन् । अघिल्लो साताको अन्तिम दिन १४ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ रहेको कूल बजार पूँजीकरण यस साताको अन्तिम दिन १४ खर्ब ५६ अर्ब ६२ करोड रुपैयाँमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । धितोपत्र बजारमा यस साता १ अर्ब २१ करोड १८ लाख १० हजार रुपैयाँ बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन १ हजार २२७ बिन्दुमा रहेको कारोवार मापक नेप्से साताको अन्तिम दिन घटेर १ हजार २२० बिन्दुमा पुगेको छ । साताभर एक दिनमात्र उकालो लागेको सेयर बजार चार दिन भने लगातार ओरालो लाग्यो । नेप्सेका अनुसार यस साता बजारमा १८३ कम्पनीको कारोवार भएको छ । नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.६५ प्रतिशतले घटेर २५९. ६७ अङ्कमा आइपुगेको छ । रासस
बैङ्किङ क्षेत्रमा ‘विद्युतीय हस्ताक्षर’ सबै कार्यालयमा लागु गर्ने सरकारको तयारी
काठमाडौ । विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ ।सरकारी तथा निजी कार्यालयमासमेत विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रमाणीकरण नियन्त्रणको कार्यालयले बैंकिङ क्षेत्रका सरोकारवालासँग छलफलसमेत गरेको छ । विद्युतीय हस्ताक्षरले मान्यता प्राप्त कागजात पठाउने÷प्राप्त गर्ने व्यक्तिको पहिचान हुने तथा पठाएको व्यक्तिले पठाएको होइन वा पठाएको छैन भनी नकार्न नसक्ने र कागजात पठाएको÷प्राप्त भएको विषयवस्तुको अखण्डता कायम राख्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, आन्तरिक राजस्व विभाग, वैदेशिक रोजगार विभाग, निजामती किताबखाना, कर्मचारी सञ्चयकोष, लोकसेवा आयोग र उद्योग विभागलगायत १२ वटा कार्यालयमा अहिले विद्युतीय हस्ताक्षर परीक्षण भइरहेको उक्त कार्यालयका नियन्त्रक तथा उपसचिव दीपककुमार श्रेष्ठले जानकारी दिए । विद्युतीय हस्ताक्षर प्रयोग गरी बैंकबाट प्रदान गरिने कर्जा प्रक्रियाालाई कागजरहित बनाउनुका साथै काम कारवाही छिटोछरितो ढङ्गबाट सम्पन्न गर्न सकिने नियन्त्रक श्रेष्ठको भनाइ थियो । सरकारी निकायका ‘इ–गर्भमेन्ट एप्लिकेशन’ हरूमा क्रमशः विद्युतीय हस्ताक्षर लागू गर्ने, ‘इ–कमर्श’ तथा वित्तीय क्षेत्रमा विद्युतीय हस्ताक्षरको प्रयोगकर्तालाई बढुवा दिने नियन्त्रणको कार्यालयको भावी कार्यदिशा छ ।सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले कागजरहित सरकारी कार्यालय बनाउने सरकारको योजनाअनुसार विद्युतीय हस्ताक्षरलाई सबै क्षेत्रमा लागू गर्ने तयारी गरिएको जानकारी दिए। रासस
पछिल्लो छ वर्षमा महिलाको वित्तीय पहुँच दोब्बरले बढ्यो
काठमाडौं। पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ । सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको हो । प्रतिवेदनअनुसार सन् २०११ मा २१ दशमलब दुई प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थामा खाता खोलेका थिए भने सन् २०१७ को अन्त्यमा आइपुग्दा सो सङ्ख्या बढेर ४१ दशमलब ६ प्रतिशतमा पुगेको छ । प्रतिवेदनले महिला क्रमशः वित्तीय संस्थाको पहुँचमा पुग्दै गएको र त्यो सङ्ख्या क्रमशः बढ्दै जाने देखाएको छ । शहरी तथा ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच बढ्दै गएको, बचत गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण पनि महिलाको सङ्ख्यामा वृद्धि भएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा हरेक नेपालीको एक बैंक खाता अनिवार्य खोल्ने कार्यक्रम ल्याएको छ । सो कार्यक्रमले समेत महिलाको सङ्ख्यामा वृद्धि हुने देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत २०७५ भदौ मसान्तमा १५१ रहेका छन् । हाल २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६६ लघुवित्त संस्था सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा छ हजार ६५१ रहेकामा गत २०७५ भदौ मसान्तसम्ममा छ हजार ८१९ पुगेका छन् । सङ्घीयता कार्यान्वयनका क्रममा गठन भएका ७५३ स्थानीय तहमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकलाई आफ्ना शाखा विस्तार गर्न बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्दप्रसाद नागिलाका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने नेपालीको सङ्ख्या रु दुई करोड ३५ लाख रहेका छन् । “एकै व्यक्तिका पनि तीन/चार वटासम्म बैंक खाता रहेका छन्, सबै खातालाई फरकफरक खाताका रुपमा लिइन्छ”, सहायक प्रवक्ता नागिलाले भनी। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमध्ये भारतमा सन् २०११ मा २६ दशमलब पाँच प्रतिशत महिलाले खाता खोलेकामा सन् २०१७ मा बढेर ७६ दशमलब ६ प्रतिशत पुगेको छ । यस्तै भूटानमा २७ दशमलब ७ प्रतिशत महिला बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगेका छन् । पाकिस्तानमा सन् २०११ मा मात्रै तीन प्रतिशत महिलाले बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा सन् २०१७ मा पुग्दा सात प्रतिशत पुगेका छन् । छिमेकी देश बङ्गलादेशमा सन् २०११ मा २६ प्रतिशत महिला बैंक तथा वित्तीय संस्थामा आबद्ध रहेको र त्यो सङ्ख्या सन् २०१७ को अन्त्यसम्म बढेर ३५ दशमलब आठ प्रतिशतमा पुगेको छ । अफगानिस्तानमा सात दशमलब दुई प्रतिशत महिला मात्रै वित्तीय संस्थाको पहुँचमा रहेका छन् । यस्तै श्रीलङ्कामा ७३ दशमलब चार प्रतिशत महिला वित्तीय संस्थाको पहुँचमा छन् । अष्ट्रलियामा ९९ दशमलब दुई, अष्ट्रियामा ९८ दशमलब चार, बेल्जियममा ९८.८, चीनमा ७६ दशमलब चार प्रतिशत महिलाको पहुँचमा बैंक तथा वित्तीय संस्था रहेका छन् । यस्तै बेलायतमा ९६ दशमलब एक प्रतिशत ४, अमेरिकामा ९२ दशमलब ७ प्रतिशत मात्रै बैंकिङ पहुँचमा रहेका छन् । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले महिलालाई नै केन्द्रित गरेर खाता खोल्ने कार्यक्रम अगाडि सारेका छन् । राष्ट्रिय वाणिज्य बैंकले महिलालाई नै केन्द्रित गरे महालक्ष्मी बचत खाता कार्यक्रम सञ्चालन गरेको छ । कृषि विकास बैंकले एक घर, एक खाता हाम्रो अभियान सञ्चालन गरेको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि महिला केन्द्रित खाता कार्यक्रम सञ्चालनमा ल्याएका छन् । यी विभिन्न कार्यक्रमले बैंक तथा वित्तीय संस्थामा महिलाको पहुँच बढाएको छ ।रासस