राष्ट्र बैंकले १४३ करोड रूपैयाँ बोलकबोलबाट लगानी गर्ने
काठमाडौ । नेपाल राष्ट्र बैंकले सिलबन्दी बोलपत्रमार्फत बैंक तथा वित्तीय संस्थामा १ अर्ब ४३ करोड १२ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मङ्सिर २ गतेदेखि २०७६ कात्तिक ३० गतेसम्मका लागि मुद्धती निक्षेपमा त्रैमासिकरुपमा व्याज भुक्तानी हुने गरी लगानी गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम तथा सो रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई सिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी पेश गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु एक अर्ब १४ करोड ५० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकलाई रु २१ करोड ४६ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ७ करोड १६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले यही कात्तिक २० गते मङ्गलबार अपराह्न ३ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको बैंक तथा वित्तिय संस्थाले भाग लिन पाउने शर्त राखिएको छ । यस्तै कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, घर कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलाई कुनै पनि जरिवान भएको हुन नहुने प्रावधान छ । सुधारात्मक कारवाही भएको भए फुकुवा भएको छ महीना पूरा भएको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिएको हुनुपर्ने शर्तसमेत राखिएको छ । रासस
सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लिमिटेडबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्वन्धमा बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ । कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब रुपैयाँ र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्ष भित्र ३० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।
सामुदायिक विद्युत उपभोक्ता र एनआईसी एशियाबीच बैंकिङ सेवा साझेदारी सम्झौता
काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र एनआईसी एशिया बैंकबीच बैंकिङ साझेदारको लागी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वित्तीय क्षमता विकास गर्ने उद्देश्य सहित उक्त संस्थासँग सम्झौता गरेको हो । उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपालको तर्फबाट अध्यक्ष नारायण ज्ञवाली र एनआईसी एशिया बैंकको तर्फवाट बैंकका सीईओ रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झैता बमोजिम एनआईसी एशिया बैंकले आफ्ना २६४ शाखा र २० काउन्टर मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिंग स्रोत उपलब्ध गराउँने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका र सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय अनि उद्योगमा लगानी गर्ने भएको छ । समुदायको बैकिंङ् शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्ने र निम्न आय भएका समुदायको जीवनस्तर माथि उठ्न सहयोग पुग्ने बैंकले जनाएको छ । साथै, यस सम्झौताबाट ग्रामीण विद्युतीकरणको विकास , रोजगार तथा उद्यमशीलताको विकास तीव्र रुपमा हुने समेत विश्वास गरिएको छ । नेपाल सरकारको आगामी तीन वर्षभित्र आधारभूत रुपमा सवै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्ष भित्रमा चाहेजति विद्युत उपलव्ध गराउँने भन्ने नीति रहेको छ । नेपाल सरकारले जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम शुरु गरेपछि देशभरका ५२ जिल्लामा २८२ सामुदायिक संस्थामार्फत ५,००,००० घर परिवारका २० लाख उपभोक्तामा विद्युतको विस्तार भएको छ । सामुदायिक विद्युतीकरण शुरु भएको १४ वर्षको अवधिमा सहभागिता वापत समुदायबाट नगद १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम नेपाल विद्युत प्राधिकरणमा जम्मा भईसकेको छ ।