अब पढेलेखेका युवाहरुले विदेश जानु पर्दैनः अर्थमन्त्री डा. खतिवडा
झापा । अर्थमन्त्री डा युवराज खतिवडाले पढेलेखेका युवाहरु वैदेशिक रोजगारीका लागि विदेशिनु नपर्ने दावी गरेका छन् । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा व्याज अनुदान वितरण कार्यक्रम’ मा बोल्दै अर्थमन्त्री डा खतिवडाले भने-“शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिनु पर्दैन”, उनले भने, “योग्यताका आधारमा युवालाई सहुलियत व्याज दरमा ऋण दिने व्यवस्था मिलाइएको छ ।” युवालाई व्यवसायी बनाउन सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई १० लाख, सीप भएका महिलालाई १५ लाख, दलितलाई १० लाखलगायतका आधा दर्जनभन्दा बढी सहुलियत व्याजदरमा ऋण दिने व्यवस्था मिलाएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । स्वरोजगार कोषबाट ऋण लिएर धेरै युवा आत्मनिर्भर भएको बताउँदै अर्थमन्त्री खतिवडाले भने, “गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न स्वरोजगार कोष सहायक बनेको छ ।” झापामा स्वरोजगार कोषको माध्यमबाट धेरै युवा आत्मनिर्भर भएकामा अर्थमन्त्रीले खुशी व्यक्त गरे । स्वरोजगार कोषले उपलब्ध गराउने कर्जा रकम कम भएको सहभागीको गुनासो सुनेपछि अर्थमन्त्री खतिवडाले अनुदानको सस्तो पैसा धेरै उपलब्ध गराउन कठिनाइ हुने उल्लेख गरे । “सरकारको आम्दानी स्रोत भनेको कर हो”, उनले भने ‘‘धेरै अनुदान दिन धेरै कर उठाउनुपर्ने हुन्छ, कर बढी उठाउँदा सरकार आलोचित हुने अवस्था आउँछ ।” जनताको पैसा जनतालाई नै वितरण गरिने भएकाले धेरै अनुदानको रकम दिन नसकिने उनले बताए। कोषमार्पmत दुई लाख उपलब्ध गराउँदै आएकामा अब रकम बढाउने सोचमा सरकार रहेको समेत उनले उल्लेख गरे। मुलुकमा अझै पनि धेरै नागरिक वित्तीय पहुँचमा नरहेकाले सोको अभिवृद्धि गर्ने उद्देश्यले पनि स्वरोजगार कोषको अवधारणा अघि सारिएको अर्थमन्त्री खतिवडाले बताए । सहकारीलाई लगाइएको आयकरको विषयमा उनले ग्रामीण सहकारी करको दायरामा नरहेको स्पष्ट पार्दै नगरपालिका क्षेत्रमा रहेका सहकारीलाई पाँच प्रतिशत, उपमहानगर र महानगरपालिकालाई १० प्रतिशत कर लगाइएको उनले बताए । कार्यक्रममा स्वरोगार कोषमार्फत ऋण लिएका ६२ जनालाई व्याज अनुदान रकम वितरण गरिएको थियो । झापामा तीन चरणमा दुई हजार ३०० सय जना युवाले स्वरोगार कोषमार्फत रु ३३ करोड ऋण लिएका छन् । पहिलो चरणमा कोषमार्फत रु आठ करोड ८५ लाख ऋण लिएका ८४२ जना युवालाई व्याज अनुदान रकम प्रदान गरिएको छ । रासस
प्रमाणपत्र धिताेमा कर्जा लिन राष्ट्र बैंकको आह्वान, बैंकहरुले नदिए कारबाही गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज अनुदानसहितको सहुलियत कर्जा लिई उद्यम गर्न सार्वजनिक आह्वान गरेको छ । राष्ट्र बैंकले शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्प पीडितहरुको निजी आवास निर्माण तथा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रयोजनका लागि तोकिएको ब्याज अनुदान प्रदान गर्नेगरी ऋण प्रवाह गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकिएको भन्दै आफ्नो पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरुमार्फत् कर्जा लिन आह्वान गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुले उक्त कर्जा प्रवाहमा आनाकानी गरे नेपाल राष्ट्र बैंकमा गुनासो गर्न समेत नेपाल राष्ट्र बैंकले अनुरोध समेत गरेको छ । आर्थिक वर्ष २०७५/७६ मार्फत् घोषणा भएको ब्याज सहुलियतसम्बन्धी उक्त व्यवस्थालाई पूर्णता दिन अर्थ मन्त्रालयले गत साउनमा नै सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरे पनि बैंक तथा वित्तीय संस्थाले उक्त स्वरुपको कर्जा दिन आनाकानी गर्दै आएका छन् । कार्यविधिमार्फत् मन्त्रालयले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि १० लाख, दलित समुदाय विकास कर्जाका लागि १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरिसकेको छ । उक्त प्रकृतिको कर्जामा कर्जाको प्रकृतिअनुसार उद्यमीले सञ्चालन गरेको परियोजना वा शैक्षिक प्रमाणपत्र धितो रहनेछ भने ब्याज २ प्रतिशतभन्दा बढी हुनेछैन भने सेवाशुल्क लगायत अन्य कुनै पनि शुल्कहरु समेत लिन पाइने छैन ।
बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टबीच सहकार्य सम्झौता
काठमाडाैं । बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्ट बीच बैकिङ्ग तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दीर्घकालीन रुपमा सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा एक समारोहका बीच ढाकास्थित बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको कार्यालयमा कार्तिक २१ गते हस्ताक्षर भएको छ । सहमतिपत्रमा बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालको तर्फबाट संस्थाका अध्यक्ष तथा प्रबन्ध संचालक डा. विनोद आत्रेय र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको तर्फबाट उक्त संस्थाका डाइरेक्टर जनरल डा.तोफिक अहमद चौधरीले हस्ताक्षर गरेका छन् । नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाहरु र इमर्जिङ्ग नेपाल लि.ले नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि प्रबद्र्धन गरेको बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालले बंगलादेशको केन्दीय बैक सहित अन्य सरकारी तथा निजी क्षेत्रका बैकहरुद्धारा प्रर्वद्धित सन् १९७४ देखि संचालनमा रहेको बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टसंगको सहकार्यमा सर्टिफाइड शैक्षिक कार्यक्रमहरु संचालन गर्ने, सेमिनार, कार्यशाला तथा गोष्ठीहरु आयोजना गर्ने, वित्तीय क्षेत्रमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने जस्ता कार्यहरु मार्फत नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छ । बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टले आयोजना गरेको सातौ बार्षिक बैकिङ्ग सम्मेलनका अबसरमा गरिएको उक्त सहमतिपत्र हस्ताक्षर कार्यक्रममा बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालका संचालकद्वय भवानी ढकाल र सुदिप खनाल तथा बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टका विशिष्ट पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।