सिटिजन्स बैंकका ग्राहकलाई बयोधा हस्पिटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खु स्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा अस्पतालका तर्फबाट संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक तथा कर्मचारीहरुले बयोधा हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।

नागबेली लघुवित्तले शतप्रतिशत हकप्रद पछि १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद पछि १६.११ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद जारी पश्चात कायम हुन आउने पुँजीमा सो मात्रा अर्थात २ करोड ४६ लाख ९६ हजार ५४१ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, संस्थाले बोनस सेयरको कर प्रयोजनको लागि ०.८४ प्रतिशत अर्थात १२ लाख ९९ हजार ८१८ रुपैयाँ नगद लाभांश वितरण गने प्रस्ताव गरेको हो । हालै सम्पन्न संस्थाको २५२औँ सञ्चालक समितिको बैठकले सो मात्राको बोनस र नगद गरी २ करोड ५९ लाख ९६ हजार ३५९ रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

अब महालक्ष्मी विकास बैंकबाटै सूर्य लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब महालक्ष्मी विकास बैंक लिमिटेड बाटै सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा पाइने भएको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने उद्देश्यले सूर्य लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको हो । उक्त सम्झौतामा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहको छ । बैंकले हालसम्म २६ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।