पहिलोपटक कन्सल्टेशन पेपर सार्वजनिक, सर्ट सेलिङ लागू गर्ने बाटो खुल्दै
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको धितोपत्र बजारमा मार्जिन कर्जा, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङ सञ्चालनका लागि आवश्यक नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्थासम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले बजारको तयारीको अवस्था मूल्याङ्कन गर्न तथा सरोकारवालाको राय-सुझाव संकलन गर्ने उद्देश्यले ‘नेपालको धितोपत्र बजारमा मार्जिन कर्जा, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङ सञ्चालनसम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक परामर्शका लागि पहिलोपटक सार्वजनिक गरेको जनाएको छ । सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा एकै दिनभित्र खरिद-बिक्री, सर्ट सेलिङ र व्युत्पन्न वित्तीय उपकरण चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरिएको थियो । त्यसैअनुरूप बोर्डले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मार्जिन कर्जा, धितोपत्र सापटी तथा उधारो तथा छोटो बिक्री सञ्चालनका लागि आवश्यक कानुनी, संस्थागत र प्रक्रियागत व्यवस्था गर्ने योजना अघि सारेको छ । बोर्डका अनुसार विश्वका विकसित पुँजी बजारमा यस्ता वित्तीय सेवाले बजारलाई थप गहिरो, प्रतिस्पर्धी, प्रभावकारी र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । सोही अनुभवलाई आधार बनाएर नेपालको पूँजी बजारलाई समयानुकूल, आधुनिक, सुरक्षित तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विकास गर्ने उद्देश्यले यी व्यवस्था चरणबद्ध रूपमा लागू गर्ने तयारी गरिएको हो। बोर्डले सफल कार्यान्वयनका लागि स्पष्ट कानुनी आधार, सक्षम बजार पूर्वाधार, प्रभावकारी सूचना प्रविधि प्रणाली, सुदृढ जोखिम व्यवस्थापन तथा लगानीकर्ता संरक्षणका उपाय अपरिहार्य रहेको जनाएको छ । चार अध्यायमा विभाजन गरिएको अवधारणापत्रमा नेपालको पूँजी बजारको वर्तमान अवस्था, संरचनागत विश्लेषण तथा सुधारको आवश्यकता, अन्तर्राष्ट्रिय अभ्यास र नेपालका लागि उपयोगी सिकाइ, नियामकीय प्रभाव विश्लेषण तथा नेपालका लागि उपयुक्त मार्जिन कर्जा, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्रीको नीतिगत ढाँचा प्रस्ताव गरिएको छ । अवधारणापत्रमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल, धितोपत्र व्यापारी, बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता तथा अन्य सरोकारवाला निकायको भूमिका पनि स्पष्ट गरिएको छ । साथै कानुनी सुधार, नियामकीय पुनर्संरचना, बजार पूर्वाधार सुदृढीकरण, सूचना प्रविधिको आधुनिकीकरण, जनशक्ति विकास, लगानीकर्ता शिक्षा तथा चरणबद्ध कार्यान्वयन रणनीतिलाई समेटिएको छ । बोर्डले सार्वजनिक परामर्शबाट प्राप्त सुझावका आधारमा मार्जिन कर्जा, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्रीसम्बन्धी नियमावली तर्जुमा गरी सार्वजनिक गर्ने जनाएको छ । सम्बन्धित सबै पक्षलाई आफ्ना सुझाव बोर्डको इमेलमा पठाउन पनि आग्रह गरिएको छ । बोर्डका अनुसार यी धितोपत्र वित्तीय सेवा कार्यान्वयन भएपछि नेपालको पूँजी बजारमा स्थायित्व कायम हुने, तरलता बढ्ने, व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार हुने, नयाँ वित्तीय उपकरणको विकास हुने तथा निजी क्षेत्रको दीर्घकालीन पूँजी परिचालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
२०६ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.६७ अंकले घटेर २६६७ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३७ कम्पनीको ७५ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड, रिडि पावरको १० करोड र आँखु खोलाको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नेपाली ई–कमर्स बजारमा सिल्क ग्रुपको ‘चाइना बजार’, आईपीओ ल्याउने योजना
काठमाडौं । सिल्क ग्रुपले व्यवसाय विविधीकरण रणनीतिअन्तर्गत ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले एक विशेष कार्यक्रम आयोजना गरी ‘चाइना बजार’ ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको जानकारी दिएको हो । ‘चाइना बजार’ले प्रारम्भिक चरणमा व्यवसायदेखि ग्राहक (बीटुसी) मोडलमार्फत सेवा सुरु गरेको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । उनले ‘चाइना बजार’सँगै कम्पनीले पहिलो अफलाइन रिटेल स्टोर पनि सञ्चालनमा ल्याएको बताए । उनका अनुसार ग्वार्खोस्थित टुलिप होटल परिसरभित्र सञ्चालनमा आएको उक्त स्टोरमा ग्राहकले सामान प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् । कम्पनीले एक वर्षभित्र वीरगञ्ज र भैरहवामा थप दुई वटा ‘एक्सपेरियन्स स्टोर’ विस्तार गर्ने योजना बनाएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले आगामी दिनमा व्यवसायदेखि व्यवसाय (बीटुबी) सेवा पनि देशभर विस्तार गर्ने बताए । ‘चाइना बजार’मार्फत साना तथा मझौला व्यापारीहरूले समेत प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ । कम्पनीले ई–कमर्स प्लेटफर्मलाई देशव्यापी व्यापारिक सञ्जालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । ‘चाइना बजार’ले नेपाली उपभोक्ताको दैनिक किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने उनको भनाइ छ । सिल्क ग्रुपले आईपीओ जारी गर्ने तयारी गरेको जानकारी दिँदै अध्यक्ष शेर्पाले छिट्टै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने घोषणा गरे । उनले भने, ‘सिल्क ग्रुपले व्यवसाय विविधीकरण गर्दै ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’ सञ्चालनमा ल्याएको छ । सुरुमा ‘चाइना बजार’ले बीटुसी अर्थात् व्यवसायबाट ग्राहकलाई सेवा दिन्छ । ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’सँगै हामीले ‘चाइना बजार’को एक्सपेरियन्स स्टोर पनि सञ्चालनमा ल्याएका छौँ । यो एक्सपेरियन्स स्टोर अर्थात् अफलाइन रिटेल स्टोर हो । यसले ग्राहकलाई सामान प्रत्यक्ष हेर्ने र अनुभव गर्ने अवसर दिन्छ । हामी यसलाई बिस्तारै देशभरका प्रमुख सहरमा विस्तार गर्दै जानेछौँ ।’ ‘चाइना बजार’मार्फत नेपाली उपभोक्ताले गुणस्तरीय सामान सरल, उचित र पारदर्शी मूल्यमा खरिद गर्न पाउनेछन् । उद्योगदेखि उपभोक्ताको दैलोसम्म पुग्दा बीचमा लाग्ने अतिरिक्त शुल्कको भार अब ग्राहकले बेहोर्नु नपर्ने कम्पनीले जनाएको छ । ‘चाइना बजार’ले चीनका उत्पादनकर्ताबाट प्रत्यक्ष सामान खरिद गर्ने, आफ्नै गोदाममा भण्डारण गर्ने र ग्राहकसम्म डेलिभरी गर्ने व्यवस्था गरेको जनाएको छ । यसबाट डेलिभरी समय कम हुने, लागत घट्ने र मूल्यमा पारदर्शिता कायम रहने कम्पनीको दाबी छ । ‘इन्जोय योर सपिङ’ भन्ने नारासहित सुरु गरिएको ‘चाइना बजार’मा प्रारम्भिक चरणमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइलका सामग्री तथा स्वास्थ्य र सौन्दर्यसम्बन्धी सामग्री उपलब्ध हुनेछन् । कम्पनीका अनुसार ग्राहकले ईसेवा र खल्ती मार्फत भुक्तानी गर्न सक्नेछन् ।