नेप्सेमा ‘सिद्धार्थ इक्विटी फण्ड २’ सूचीकृत, बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ को सामूहिक लगानी कोष एकाइ सूचीकृत भएको छ । नेप्से र सिद्धार्थ क्यापिटलबिच साउन १९ गते प्रति एकाइ १० रुपैयाँ अङ्कित मूल्यका १२ करोड ५० लाख एकाइ नेप्सेमा सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । सूचीकरणसँगै यो फण्डको दोस्रो बजार कारोबार भोलि अर्थात् साउन २० गतेदेखि सुरु हुने नेप्सेले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि सिद्धार्थ क्यापिटलमार्फत १२ करोड ५० लाख एकाइ निष्कासन गरेको थियो । धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम नेप्सेको साउन १५ गतेको निर्णयानुसार उक्त सेयर सूचीकृत गरिएको हो ।
अप्पर स्याङ्गे हाइड्रोले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले १:१ (१ बराबर १) को अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा चयन गर्ने निर्णय गरेको हो । कम्पनीका प्रबन्ध सञ्चालक वीर बहादुर घलेका अनुसार २०८२ असोज ९ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजी २२ करोड रुपैयाँको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्वीकृत गरिसकेको थियाे ।
सिद्धार्थ बैंकको नाफा साढे ३ अर्ब, लाभांश क्षमता २६.१५ प्रतिशत
काठमाडौं । सिद्धार्थ बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ४.५४ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ७.२४ प्रतिशत बढेर ९ अर्ब ५ करोड ११ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब ४३ करोड ९८ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ८६ करोड ४६ लाख ९० रुपैयाँ, कुल सञ्चालन आम्दानी १२ अर्ब ५ करोड १६ लाख ६२ हजार रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब १६ करोड २७ लाख २० हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड ४३ लाख ६३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ९ करोड ८६ लाख ४२ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ९८ ३१ लाख २४ हजार रुपैयाँ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड ८२ लाख ३० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता २६.१५ प्रतिशत रहेको छ । १८ अर्ब २९ करोड ४४ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ९२ करोड ४८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ३२.७१ प्रतिशत बढेर ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ र कर्जा लगानी ९.०५ प्रतिशत बढेर २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले २ खर्ब ८० अर्ब ३२ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ७३.६३ प्रतिशत रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष २२.७६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २३.०६ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १७.१३ गुणा छ भने प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ छ । बैंकको खराब कर्जा २.६२ प्रतिशतबाट बढेर ३.५३ प्रतिशत पुगेको छ ।