काठमाडौं । नबिल बैंक लिमिटेडले १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले असोज २२ गते बिहान साढे ९ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ४२औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले बैंकको सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९६ हजार रुपैयाँको ५ प्रतिशतका दरले १ अर्ब ३५ करोड २८ लाख ४९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका १०.८० प्रतिशतका दरले २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको एकीकृत वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेस हुनेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची रहेको छ ।
सभाले नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतले हुने २३ करोड ३४ लाख २४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
यस्तै, बैंकको अधिकृत पुँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्याउने, गत आर्थिक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने तथा उपयुक्त देखिएमा वैदेशिक रणनीतिक साझेदारीमा जान सक्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ । यसका लागि बैंकको चल–अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न मूल्यांकनकर्ता नियुक्त गर्ने, मर्जर वा एक्विजिसनसम्बन्धी सम्झौता गर्ने तथा आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।