सानिमा बैंकको ७.३६ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सानिमा बैंक लिमिटेडको आइतबार २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षता बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले गरेका थिए । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, संस्थापक सेयरधनीहरूको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई २१औं वार्षिक साधारण सभाबाट निर्विरोध सञ्चालकमा पुनः निर्वाचित गरिएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिसम्म बैंकको कुल सम्पत्ति २६३.५५ अर्ब रुपैयाँ, कुल निक्षेप २२५.४८ अर्ब रुपैयाँ, र खुद कर्जा सापटी १८३.४५ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेपमा १३.०९ प्रतिशत, कर्जा सापटीमा ११.२२ प्रतिशत, र कुल सम्पत्तिमा १२.७० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ । वित्तीय परिसूचकका आधारमा २०८२ असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ३.०१ प्रतिशत, पुँजी कोष १३.०१ प्रतिशत, तरलता ३०.९५ प्रतिशत, र कर्जा–निक्षेप अनुपात (मासिक औसत) ८१.०३ प्रतिशत रहेको छ ।
आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, १६३ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २५०३ बिन्दुमा पुगेको छ । आज १६३ कम्पनीको मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२३ कम्पनीको ६१ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रियन्स्योरेन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २५ करोड, युनियन हाइड्रोपावरको १६ करोड र सीइडीबी होल्डीङसको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबार विकास बैंक समूह ०.२१, म्युचुअल फण्ड ०.१३ र निर्जीवन बिमा समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ०.८७, वित्त ०.५१, होटल तथा पर्यटन ०.७२, जलविद्युत् ०.७०, लगानी ०.७५, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७, व्यापार ०.९० र अन्य समूह १.१६ प्रतिशतले बढेको छ ।
आरबिवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न, ४० करोड नगद लाभांश पारित
काठमाडौं । आरबिवि मर्चेन्ट बैंकिङ लिमिटेडले दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले सेयरधनीहरूलाई ४० करोड रुपैयाँ नगद लाभांश पारित गरेको हो । कम्पनीकी अध्यक्ष सरस्वती अधिकारीले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ का विभिन्न प्रस्तावहरू पारित भएको जानकारी दिइन् । सभाले प्रस्तुत आर्थिक विवरण, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गर्दै सेयरधनीहरूलाई वितरणयोग्य मुनाफाबाट २० प्रतिशतले हुने रकम ४० करोड रुपैयाँ (कर सहित) नगद लाभांश पारित गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिसहित सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, र सामूहिक लगानी कोष योजना व्यवस्थापकको रूपमा सेवा प्रदान गर्दै आएको छ । सभाले सन् २०८१/८२ को बाह्य लेखापरीक्षकका रूपमा सिन्हा एण्डको चार्टर्ड एकाउन्टेन्टका सिए सञ्जयकुमार सिन्हा कायस्थको नियुक्ति अनुमोदन गरेको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ । विशेष प्रस्ताव अन्तर्गत कम्पनीका सञ्चालक तथा स्वतन्त्र सञ्चालकहरूको नियुक्ति अनुमोदन गरिएको छ । सभामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रतिनिधि उप-कार्यकारी अधिकृत विनयरमण पौडेलको नेतृत्वमा १०० प्रतिशत सेयरधनीहरूको उपस्थिति रहेको र सभाले पूर्ण वैधानिकता प्राप्त गरेको कम्पनीले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल उपस्थित थिए भने विशेष अतिथि रूपमा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले सहभागिता रहेको थियो ।