बाढी पीडितलाई इम्पेरियल सेक्युरिटिजको साढे २४ लाख सहयोग

काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ४५) ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ४५ हजार ५४५ रुपैयाँ सहयोग गरेको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो कटान तथा डुबान गराउँदा मानवीय र भौतिक क्षति भएको छ । बाढीका कारण नागरिकको ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा सयौँ परिवार विस्थापित हुनुपरेको छ । बाढीले स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत आयोजनामा समेत क्षति पुर्याएको छ ।

कम्पनीले बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ ।

Share News