सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ८९ करोड रुपैयाँ, लाभांश क्षमता १३.१९ प्रतिशत
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ४६.६९ प्रतिशत बढेर ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्म बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २५ करोड ७२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१ करोड ४६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ४६ करोड ११ लाख रुपैयाँ र सञ्चालन नाफा ८८ करोड ४४ लाख रुपैयाँ थियो । गत वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ३६ करोड ८३ लाख रुपैयाँ वितरणयोग्य नाफा र १०.३६ प्रतिशत लाभांश क्षमता थियो । ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १० करोड २६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.०६ रुपैयाँबाट बढेर २३.८३ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १६.९५ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ रहेको छ। गत असारसम्म बैंकले ५६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षसम्म बैंकले ५४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्ष बैंकको निक्षेप ४ प्रतिशत अर्थात् २ अर्ब २६ करोड रुपैयाँ र कर्जा ७ प्रतिशत अर्थात् ३ अर्ब ५ करोड रुपैयाँ बढेको देखिन्छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा (एनपीएल) ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ ।
नेको इन्सोरेन्सको एकैपटक १२ लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति ?
काठमाडौं । नेको इन्सोरेन्स लिमिटेडबाट संस्थापक सेयरधनीहरू बाहिरिने भएका छन् । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । उक्त सेयर बिक्री गर्ने इच्छा जाहेर गरेपछि सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाएको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र अर्थात् भदौ ८ गतेसम्म खरिद गर्न चाहेको कित्ता र प्रतिकित्ता मूल्य तोकि आवेदन दिनुपर्नेछ । निर्धारित अवधिभित्र पर्याप्त निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
असारमा ब्रोकरको कमिसन साढे ३८ करोड, मनी वर्ल्डको १ हजार मात्र
काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले असारमा साढे ३८ करोड रुपैयाँ कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार असारमा ९२ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले कुल ३८ करोड ५१ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका हुन् । यो कमिसन जेठ महिनाको तुलनामा ५.१६ प्रतिशत अर्थात् १ करोड ८९ लाख रुपैयाँ बढी हो । जेठ महिनामा ब्रोकर कम्पनीहरूले कुल ३६ करोड ६२ लाख २९ हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए । नेप्सेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असारमा सबैभन्दा बढी कमिसन नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले आर्जन गरेको छ । उक्त कम्पनीले असारमा २ करोड ४९ लाख ८८ हजार रुपैयाँ कमिसन कमाएको हो । यस्तै, नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)ले २ करोड ४९ लाख ८८ हजार रुपैयाँ, अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९)ले १ करोड ४३ लाख ९९ हजार रुपैयाँ, सानी सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४२)ले १ करोड २७ लाख २६ हजार रुपैयाँ, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)ले १ करोड २६ लाख १९ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५)ले १ करोड ९ लाख ६४ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । नबिल स्टक डिलर (ब्रोकर नं. ७७)ले १ करोड ६ लाख ३० हजार रुपैयाँ, ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट(ब्रोकर नं. ४)ले १ करोड ६ लाख २ हजार रुपैयाँ, त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८)ले १ करोड १ लाख ५९ हजार रुपैयाँ, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४)ले ९८ लाख २ हजार रुपैयाँ, लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१)ले ८४ लाख ७७ हजार रुपैयाँ कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ । यस्तै, सबैभन्दा कम कमिसन भने मनी वल्र्ड (ब्रोकर नं. ७३)दे सेयर एक्सचेन्जले गरेको छ । असारमा मनि वल्र्डले १ हजार १ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ । नेप्सेको तथ्याङ्क अनुसार पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९)ले ७७ हजार ६५० रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३)ले १ लाख ४२ हजार रुपैयाँ, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नं. ९८)ले ४ लाख ७ हजार रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८)ले ५ लाख ७२ हजार रुपैयाँ, सजिलो ब्रोकर (ब्रोकर नं. ९०)ले ६ लाख ९२ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । माछापुच्छ्रे सेक्युरिटिज (ब्रोकर नं. ७६)ले ८ लाख ३९ हजार रुपैयाँ, सगरमाथा सेक्युरिटिज (ब्रोकर नं.१८)ले ८ लाख ४९ हजार रुपैयाँ, एलिट स्टक हाउस (ब्रोकर नं. ६८)ले ९ लाख ३२ हजार रुपैयाँ र भोले गणेश सेक्युरिटिज (ब्रोकर नं. ६१)ले ९ लाख ३७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।