ग्लोबल आइएमई क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट करसहित २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतका दरले ७ करोड ४० लाख ८७ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनसहित १० प्रतिशतका दरले ४ करोड ९३ लाख ९१ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १४ गते होटल ले हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे ८ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गर्नेछ । साथै, सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ । 

Share News