माथिल्लो मैलुङ खोलाको ८४ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन अवधि सकिने भएको छ ।

कम्पनीले भदौ २४ गते सूचना प्रकाशित गर्दै लकइन अवधिमा रहेका कुल ८४ लाख ९० हजार ८०० कित्ता सेयर आगामी कात्तिक २ गते (१९ अक्टोबर) देखि लकइनबाट बाहिरिने जानकारी दिएको हो ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ७० लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा कर्मचारीलाई बाँडफाँट गरिएको १४ लाख ९० हजार ८०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीले सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी सेयरधनी, नियामक निकाय तथा सरोकारवालालाई दिएको जनाएको छ ।

यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।

सेयर रजिष्ट्रारको काम सानीमा क्यापिटलले गर्दै आएको छ ।

Share News