नबिल इन्भेष्टमेन्ट बैंकिङले २१.०५ प्रतिशत लाभांश दिने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट करसहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशतका दरले ४ करोड ५ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनसहित ११.०५ प्रतिशतका दरले ४ करोड ४७ लाख ६३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २० गते सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौंमा बिहान ११ बजे १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गर्नेछ । 

Share News