एभरेष्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६४ अंकले घटेर २६९६ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको सेयर मूल्य घटेको हो । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मंगलबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्सको भएको छ । सेन्ट्रलको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिडि पावरको २१ करोड, सोलु हाइड्रोको १९ करोड र ग्लोबल आइएमई बैंकको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेप्सेको सीईओका लागि आवेदन आह्वान, तलब–भत्ता सरकारले तोक्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ । नेप्सेका तत्कालीन सीईओ चुडामणि चापागाईंले गत असार २२ गते राजीनामा दिएपछि रिक्त रहेको पदका लागि आवेदन आह्वान गरिएको हो । अर्थ मन्त्रालयले सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकलाई १५ दिनभित्र अर्थात् साउन २६ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको छ । नेप्सेको सीईओ बन्न अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको उपाधि हासिल गरेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा व्यवस्थापकीय तहमा कम्तीमा सात वर्ष काम गरेकोसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । मन्त्रालयले व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृतस्तरको कम्तीमा द्वितीय श्रेणी वा सो सरहको पद, वा कम्पनी तथा संगठित संस्थाको कार्यकारी प्रमुख वा सोभन्दा दुई तह मातहतसम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्तिलाई जनाउने उल्लेख गरेको छ ।  आवेदक नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ । साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) अनुसार कम्तीमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । गैरनेपाली नागरिक, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर तथा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका, प्रचलित कानुनबमोजिम कालोसूचीमा समावेश भई फुकुवा भएको तीन वर्ष पूरा नभएका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) प्राप्त गरेका, सार्वजनिक निकायसँग ठेक्का वा पट्टा सम्झौता गरी कार्यरत तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्ति भने आवेदनका लागि अयोग्य हुने मन्त्रालयले जनाएको छ । आवेदनसँगै स्वघोषणा फाराम, स्वयंले प्रमाणित गरेका शैक्षिक तथा अनुभवका प्रमाणपत्र, दुई प्रति पासपोर्ट आकारका फोटो तथा व्यावसायिक कार्ययोजनाका तीन प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ । दरखास्त दस्तुरबापत ५ हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि आवेदनसँगै पेश गर्नुपर्नेछ । मन्त्रालयका अनुसार प्रमुख कार्यकारी अधिकृतको मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा सरकारले तोकेबमोजिम हुनेछ । छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनलाई आवश्यक परे कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्ने मन्त्रालयले जनाएको छ । साथै, झुटा विवरण वा कागजात पेश गर्ने आवेदकको आवेदन रद्द गरिनुका साथै प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

सानिमा बैंकको नाफा साढे ३.५५ अर्ब, लाभांश क्षमता २०.८५ रुपैयाँ

काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आव २०८१/८२ मा बैंकले २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत बढेर ६ अर्ब ९९ करोड ५ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकले १ अर्ब ३२ करोड ८० लाख ५७ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ९ अर्ब ७३ करोड २३ लाख १४ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ५ अर्ब १६ करोड ५१ लाख ७२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।  समीक्षा वर्षमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश क्षमता २०.८५ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २ अर्ब १० करोड २९ लाख ६ हजार रुपैयाँ वितरणयोग्य नाफा थियो भने १५.४८ प्रतिशत लाभांश क्षमता । १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड ४५ लाख १५ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्म बैंकको निक्षेप संकलन ११ प्रतिशत बढेर २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख १७ हजार रुपैयाँ र कर्जा प्रवाह १० प्रतिशत बढेर १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो असारसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८०.७७ प्रतिशत रहेको छ ।  बैंकको खराब कर्जा अनुपात ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ भने खुद खराब कर्जा १.२० प्रतिशतबाट १.०२ प्रतिशतमा सीमित रहेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात (पीई रेसियो) १३.५९ गुणा रहेको छ । इक्विटीमा प्रतिफल १४.३९ प्रतिशत कायम भएको छ ।