इक्रा नेपालको ४७.३१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । इक्रा नेपालले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ४७.३१ प्रतिशतका दरले ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर ३ गते काठमाडौंमा दिउँसो ३ बजे १३औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिको निर्वाचन गर्ने, गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन पारित र चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न पिकेएफ टि आर उपाध्या एण्ड कम्पनीलाई नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । 

साढे ७ करोडको सेयर बेचेर जीवन विकास लघुवित्तबाट बाहिरिँदै भरतलाल

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साढे ७ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका संस्थापक सेयरधनी भरत लाल बहरदारले आफ्नो नाममा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५ सय रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा संस्थापक सेयरधनी बहरदारले ७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेका हुन् ।  लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ । यस्तै, मातृभूमि लघुवित्तका एक जना सेयरधनीले आफ्नो नाममा रहेको २ हजार २६८ कित्ता सेयर बिक्रीमा राखेका छन् । 

प्रभु बैंकबाट एकैपटक १० जना सेयरधनी बाहिरिँदै

काठमाडौं । प्रभु बैंकका एकै पटक १० जना संस्थापक सेयरधनी सेयर बिक्री गरेर बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो नामको सेयर बिक्री गरेर एकैपटक १० जना सेयरधनी बाहिरिन लागेका हुन् ।  बैंकका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको ४ लाख २२ लाख ८०७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये उमेशचन्द्र राइले १८ हजार ९२० कित्ता, बलराम न्यौपानेले २ लाख कित्ता, विनोद कुमार अग्रवालले ४० हजार ५५७ कित्ता, कोपिला ढुंगाना घिमिरेले १८ हजार २९५ कित्ता, देव प्रसाद श्रेष्ठले २८ हजार ६२ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  यस्तै, खेतराज सिटौलाले १४ हजार २१७ कित्ता, उत्तम बरालले ५६ हजार १४२ कित्ता, सन्ध्या थापा क्षेत्रीले १६ हजार ८८ कित्ता, निर बहादुर सुनुवारको २ हजार ७३४ कित्ता र महेश कुमार अग्रवालले २७ हजार ७९२ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त संस्थापक सेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।