काठमाडौं । एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
क्यापिटलको दशौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
क्यापिटलको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२र८३ को सञ्चालक समितिको प्रतिवेदन तथा आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष रुपेश लुईंटेलका अनुसार २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । सो अवधिमा क्यापिटलले १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ ।
क्यापिटलले व्यवसाय विस्तारतर्फ पनि उल्लेख्य प्रगति गरेको जनाएको छ । आषाढ मसान्त २०८३ सम्ममा क्यापिटलले ८ लाख ६३ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ ।
यस्तै, म्युचुअल फन्ड सेवाअन्तर्गत चार वटा बन्दमुखी र दुई वटा खुलामुखी गरी ६ वटा योजनामार्फत ७ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिरहेको छ ।
लगानी व्यवस्थापन सेवाअन्तर्गत ७१० जना ग्राहकको ३ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरेको क्यापिटलले जनाएको छ ।
सेयर रजिस्ट्रार सेवातर्फ क्यापिटलले २४ वटा कम्पनीलाई सेवा प्रदान गरिरहेको छ । ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत भने हालसम्म २५ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको जनाएको छ ।
क्यापिटलका अनुसार दशौं वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांशसहित हालसम्म आफ्ना सेयरधनीलाई कुल ३४० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको छ ।