हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड लगानी गर्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले दुई कम्पनीमा संस्थापक सेयरमार्फत ४० करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीको भदौ २४ गते बसेको २३५औँ सञ्चालक समिति बैठकले लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्ने तथा दीर्घकालीन लगानी नीति अनुरूप उक्त निर्णय गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी दिएको हो ।

निर्णयअनुसार हाथवे इन्भेष्टमेन्टले विजय श्री सुगर मिल्स लिमिटेडमा प्रतिसेयर १०० रुपैयाँका दरले २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्दै २५ करोड रुपैयाँसम्म लगानी गर्नेछ ।

यस्तै, भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरिरहेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन इन्दुवा खोला पीआरओआर जलविद्युत आयोजना (२४.९२१ मेगावाट) मा प्रतिशेयर १०० रुपैयाँका दरले १५ लाख कित्ता संस्थापक सेयर खरिद गरी १५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय पनि भएको छ ।  

Share News