काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.७१ अंकले घटेर २५२६ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ४८ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
बिहीबार ३४१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लिबर्टी इनर्जीको भएको छ । लिबर्टीको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै रिलाइन्स स्पिीनिङको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड, एसबिआई बैंकको १६ करोड र रिडि पावरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
लिबर्टी इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा अधिकांश उपसूचक घटेका छन् । कारोबारमा सहभागी सबै १३ उपसूचक राताम्मे हुँदा बजारमा व्यापक दबाब देखिएको हो ।
सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन समूहमा देखिएको छ । यो उपसूचक १२१ अंक अर्थात् १.१४ प्रतिशतले घटेर १० हजार ४५८.४५ बिन्दुमा झरेको छ ।
त्यसपछि निर्जीवन बीमा समूह ०.७८ प्रतिशत, वित्त समूह ०.६६ प्रतिशत, अन्य समूह ०.६४ प्रतिशत र म्युचुअल फन्ड समूह ०.५७ प्रतिशतले घटेका छन् ।
जलविद्युत समूह ०.५५ प्रतिशत, लघुवित्त समूह ०.५६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५० प्रतिशत र बैंकिङ समूह ०.४७ प्रतिशतले पनि गिरावट बेहोरेका छन् ।
यस्तै लगानी समूह ०.४१ प्रतिशत, विकास बैंक समूह ०.३४ प्रतिशत, व्यापार समूह ०.२७ प्रतिशत र जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेका छन् ।