काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन् । ढकालले कार्ययोजनालाई नेपालको पुँजी बजारमा संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहलका रूपमा लिएको बताएका छन् ।
कार्ययोजनामा प्राथमिक सेयर निष्कासन (आईपीओ)मा मूल्य निर्धारण (प्राइस डिस्कोभरी) प्रणाली लागू गर्ने, धितो कर्जा (मार्जिन लेण्डिङ) मा आधारित कारोबार तथा छोटो बिक्री (सर्ट सेलिङ) कारोबार कार्यान्वयन गर्ने, संस्थागत ऋणपत्र बजार (कर्पाेरेट बण्ड मार्केट) को विकास गर्ने र गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा लगानीको अवसर प्रदान गर्ने व्यवस्था समेटिएको उनले उल्लेख गरेका छन् ।
त्यस्तै, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार तथा नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने व्यवस्था पनि कार्ययोजनामा समेटिएको भन्दै ढकालले यसले नेपालको पुँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३.७५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव पनि सकारात्मक रहेको उनले बताएका छन् ।
उनका अनुसार यस्तो व्यवस्थाले दीर्घकालीन लगानी संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै बजारमा स्थायित्व कायम गर्न, लगानीकर्ताको विश्वास बढाउन र पुँजी बजारको दिगो विकासमा योगदान पुर्याउनेछ ।
सरकारले घोषणा गरेका सुधारहरू समयमै प्रभावकारी रूपमा कार्यान्वयन भए पुँजी बजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत हुने, बजारमा तरलता वृद्धि हुने तथा आर्थिक विकासमा पुँजी बजारको भूमिका अझ प्रभावकारी बन्ने ढकालको भनाइ छ ।
ढकालले पुँजी बजार सुधारप्रति सरकारले देखाएको प्रतिबद्धताका लागि अर्थमन्त्री, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन् । साथै, कार्ययोजनाको सफल कार्यान्वयनका लागि स्टक ब्रोकर एशोसिएसन अफ नेपाल सरकार तथा नियामक निकायसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको उनले बताएका छन् ।