काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
शुक्रबार आयोजित छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर तथा २२ दशमलव १०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने निर्णय गरेको हो ।
उक्त साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि सेयर निष्काषन गर्ने तथा उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्ताहरूलाई वितरण गरिने विवरण पत्र स्वीकृत गर्ने लगायत काम कारबाहीको अख्तियारी संचालक समितिलाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा अस्पतालको कुल आम्दानी फार्मेसी बाहेक रु.२ अर्ब ८३ करोड, कुल खर्च रु.२ अर्ब ३६ करोड तथा खुद नाफा रु.४७ करोड भन्दा माथि रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, फार्मेसीसहित कुल आम्दानी रु ३ अर्ब ४७ करोड, कुल खर्च रु २ अर्ब ९९ करोड तथा खुद नाफा रु ४७ करोड ८५ लाख भन्दा माथि रहेको जनाएको छ ।
हस्पिटलको वार्षिक प्रतिवेदनअनुसार नर्भिकले २०८२/८३ मा ओपिडि तर्फ एकलाख ७९ हजार, आइपीडीतर्फ ९ हजार र आकस्मिक तर्फ ६ हजारजना बिरामीलाई उपचार सेवा प्रदान गरेको छ ।
त्यस्तै, ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, युके, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनियाका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको छ ।