काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत संगठित संस्थाले आफ्नै सेयर खरिद गर्न तथा सेयर कित्ता विभाजन गर्न पाउने भएका छन् । यसका लागि आवश्यक नियामकीय तथा नीतिगत व्यवस्था तयार गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिइएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा सूचीकृत कम्पनीलाई आफ्नै सेयर खरिद तथा सेयर कित्ता एकीकरण वा विभाजन गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको हो ।
कार्ययोजनामा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा रहेको व्यवस्थाअनुसार कम्पनीको सबै वा केही सेयर पुँजीलाई अंकित मूल्यभन्दा बढी वा घटी मूल्यको सेयरमा एकीकरण वा विभाजन गर्न सक्ने व्यवस्था व्यावहारिक रूपमा कार्यान्वयन गर्ने भनिएको छ ।
त्यसैगरी, कम्पनीले लाभांशका रूपमा वितरण गर्न सकिने सञ्चित मुनाफाबाट आफ्नै सेयर आफैं खरिद गर्न सक्ने व्यवस्थालाई समेत कार्यान्वयनमा ल्याइने भएको छ ।
उक्त व्यवस्था कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्डले सम्बन्धित सरोकारवालासँग परामर्श गरी आवश्यक नियामकीय, नीतिगत तथा कानुनी पूर्वाधार तयार गर्नुपर्नेछ । बोर्डले २०८३ माघ मसान्तभित्र आवश्यक कार्यविधि तथा अन्य व्यवस्था तयार गरिसक्नुपर्नेछ ।