बाढीप्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका लगायत बाढीप्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार बाढीपीडित क्यान्सर बिरामीका लागि १० प्रतिशत निःशुल्क बेड तथा उपचार सेवा उपलब्ध गराइँदै आएको छ । यसअन्तर्गत बेड चार्ज, ल्याब परीक्षण शुल्क र अक्सिजन शुल्क निःशुल्क हुने तथा उपलब्ध भएसम्म आवश्यक औषधिसमेत उपलब्ध गराइने अस्पतालले जनाएको छ । त्यस्तै, विपन्न, असहाय तथा बेसहारा बिरामीले नेपाल सरकारबाट प्रदान गरिने विभिन्न प्रकारका क्यान्सर उपचारसम्बन्धी सुविधासमेत लिन सक्ने अस्पतालले जनाएको छ । विपन्न स्वास्थ्य बीमा तथा प्रदेश सरकारले प्रदान गर्ने सुविधामार्फत उपचार लिन सकिने भएकाले अस्पतालको सामाजिक सेवा इकाई वा प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका महर्जनलाई माइल्ड हाइपोथर्मिया
काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुईजनामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया देखिएको छ । अर्का उद्धार गरिएका व्यक्ति सञ्जय शाह भने जोखिममुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण सुरुङभित्र फसेका उनिहरुको १० दिनपछि उद्धार गरिएको हो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई हेलिकोप्टरमार्फत आर्मी अस्पताल छाउनीमा ल्याइएकोे हो । लामो समयसम्म चिसो पानी र वातावरणको सम्पर्कमा रहँदा शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ । के हो हाइपोथर्मिया ? हाइपोथर्मिया एउटा जोखिमपूर्ण समस्या हो । हाइपोथर्मिया हुँदा शरीरको तापक्रम घट्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलव ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्यो भने हाइपोथर्मिया हुने सम्भावना हुन्छ । जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर यो समस्या देखा पर्छ । यो समस्याले गर्दा मुटुले काम गर्न छोड्छ र मानिसको मृत्यु पनि हुनसक्छ। हाइपोथर्मियाले जनावरको समेत मृत्यु हुने गर्छ । यसका लक्षण तापक्रम अनुसार फरक–फरक हुन सक्छन् । मन्द खालको हाइपोथर्मियामा जिउ काम्ने तथा दिमाग सुस्त भएर अलमल पर्ने हुन्छ । मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ ।
स्टामफोर्ड कलेज काठमाडौंमा मोबाइल पब्जी प्रतियोगिता हुँदै
काठमाडौं । स्टामफोर्ड कलेज काठमाडौंले मोबाइल पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको नाम ‘स्टामफोर्ड एलिट एरिना’ राखिएको कलेजले जनाएको छ । प्रतियोगिता नयाँ बानेश्वर, शान्तिनगरस्थित स्टामफोर्ड कलेजमा भदौ ३० गते (१५ सेप्टेम्बर) देखि सुरु हुनेछ । प्रतियोगितामा नेपालभरबाट १२० टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टोलीले ३ लाख ६५ हजार रुपैयाँभन्दा बढी नगद पुरस्कार पाउनेछ । प्रतियोगिता एक सातासम्म सञ्चालन हुने कलेजले जनाएको छ । सहभागी हुन चाहने टोलीले भदौ २७ गते (१२ सेप्टेम्बर) सम्म आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ । स्टामफोर्ड कलेज काठमाडौंले बेलायतको युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्ड सँगको सहकार्यमा कम्प्युटिङ साइन्स (बीआईटी) र साइबर सेक्युरिटी विषयमा स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।