काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी घाइते भएका ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार बाढीमा परी कुल ३१६ जना घाइते भई विभिन्न अस्पतालहरूमा उपचारका लागि पुगेका थिए ।
जसमध्ये २१० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ७२ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उपचारका क्रममा विभिन्न अस्पतालमा ४ जनाको मृत्यु भएको छ भने ३० जनालाई अन्यत्र रिफर गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा रोग निगरानीलाई तीव्र बनाइएको छ। विभिन्न १५ वटा होल्डिङ सेन्टरहरूमार्फत कुल २,६८९ जना प्रभावितहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
नुवाकोटको बकुलहर रत्ननगर अस्पताल, सशस्त्र प्रहरी बल र आयुर्वेद टोली सम्मिलित केन्द्रबाट १ हजार २९ जना तथा चौतारा अस्पताल र सीएमसी नेपालको टोलीबाट ४५३ जनाले सेवा पाएका छन् ।
कुन अस्पतालमा कति घाइते ?
हाल विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २९ जना, रसुवा अस्पताल गोसाईकुण्ड, धुन्चेमा २७ जना र राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धमा १२ जना रहेका छन् ।
त्यस्तै, श्री वीरेन्द्र अस्पताल, छाउनीमा ३ जना तथा त्रिशूली अस्पताल, नुवाकोट, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, नेपाल एपीएफ अस्पताल, बलम्बु, ग्रिनसिटी अस्पताल, टोखा, चिरायु राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बी एण्ड बी अस्पताल, ग्वार्को र आदमघाट अस्पतालमा १–१ जना उपचाररत छन् ।
१३ आकस्मिक चिकित्सकीय टोली परिचालन
प्रभावित क्षेत्रमा १३ वटा सक्रिय आकस्मिक चिकित्सकीय टोलीका १७० जना सदस्य परिचालन गरिएका छन् । ती टोलीले हालसम्म ४ हजार २४१ भन्दा बढी बिरामीको उपचार गरिसकेका छन् ।
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा पहिचान हुन नसकेका व्यक्तिहरूको पहिचानमा सहयोग पुर्याउन रसुवामा डीएनए नमुना संकलनका लागि टेन्ट स्थापना गरी तयारी पूरा गरिएको छ।
रोग निगरानीमा ज्वरो, खोकी र झाडापखालाका केस
रोग निगरानी प्रणालीमार्फत पछिल्लो २४ घण्टामा ९ वटा ज्वरो तथा खोकी, ३ वटा झाडापखाला र ९ वटा साधारण ज्वरोका केसहरू दर्ता भएका छन् ।
बाढीपछि दूषित पानी र फोहोरका कारण विभिन्न सरुवा रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानीलाई प्राथमिकता दिइएको छ ।
६ हजारभन्दा बढीमा मनोसामाजिक परामर्शको पहुँच
बाढी प्रभावित क्षेत्रमा हालसम्म ६ हजार २६८ जनासम्म मनोसामाजिक परामर्शको पहुँच पुगेको छ। जसमध्ये ३ हजार ८१३ जनाले प्रत्यक्ष सेवा पाएका छन्।
यस कार्यमा २ मनोचिकित्सक, २ साइकोलोजिस्ट र १२१ परामर्शदातासहित १२५ जनाको जनशक्ति खटाइएको छ ।
स्वास्थ्य सेवा विभाग र वान हर्ट वर्ल्डवाइडको सहयोगमा २२ हजारभन्दा बढी ट्याब्लेट क्याप्सुल, ३ हजारभन्दा बढी ट्रमा तथा ड्रेसिङ सेट, र २ हजार २ सयभन्दा बढी ओआरएस तथा फ्लुइड बोतल प्रभावित जिल्लाहरूमा पठाइएको छ।
५ स्वास्थ्य संस्था पूर्णरुपमा क्षति
बाढीका कारण स्याफ्रुबेशी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क रसुवागढी र मैलूङ्ग सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा क्षति भएका छन् ।
त्यस्तै, धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ भने बैरेनी अस्पताल र चरौदी आ।स्वा।के। मा आंशिक क्षति पुगेको छ । मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा दूषित पानी र फोहोरका कारण झाडापखाला, हैजा, डेङ्गु तथा मलेरिया जस्ता रोगको जोखिम बढेकाले उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन अपिल गरेको छ।
स्वास्थ्य सम्बन्धी जानकारी वा आपतकालीन सेवाका लागि निःशुल्क हटलाइन १११५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।