काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशीको बाढीले मानवीय र भौतिक रूपमा ठूलो क्षति भयो । बाढीले घर, बस्ती र सडक मात्रै बगाएन, सयौं बालबालिकाको पढाइको बाटोसमेत अवरुद्ध गरिदिएको छ ।
बाढीको चपेटामा परेका धादिङ, नुवाकोट र रसुवाका विद्यालयमा पुगेको क्षतिको प्रारम्भिक विवरण आउँदा शिक्षा क्षेत्रमा ठूलो क्षति भएको देखिएको छ ।
शिक्षा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित तीन जिल्लाका १९ वटा विद्यालयमा प्रत्यक्ष क्षति पुगेको छ । त्यसमध्ये १० वटा विद्यालय पूर्ण रूपमा र ९ वटा विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
पूर्ण रूपमा क्षति भएका विद्यालयमध्ये ८ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालय छन् । त्यस्तै, आंशिक क्षति भएका विद्यालयमा ४ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय छन् ।
तर यो प्रारम्भिक विवरण मात्रै हो । शिक्षा मन्त्रालयको टोली अहिले प्रभावित क्षेत्रमा पुगेर क्षतिको वास्तविक अवस्था र अभिलेख रुजु गरिरहेको छ । स्थलगत अनुगमनपछि विद्यालय, विद्यार्थी र शिक्षकसँग सम्बन्धित तथ्यांकसमेत यकिन हुने मन्त्रालयले जनाएको छ ।
बाढीबाट ३२ विद्यालयमा पढाइ प्रभावित
बाढीले क्षति पुर्याएका कतिपय विद्यालय अब तत्काल सञ्चालन गर्न सकिने अवस्थामा छैनन् । कतिपय विद्यालयको संरचना नै बाढीले बगाएको छ भने कतिपय ठाउँमा विद्यालयको भग्नावशेष मात्रै बाँकी रहेको शिक्षा मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले जानकारी दिए ।
उनले भने, ‘विद्यालय भवन जोगिएका ठाउँमा पनि पढाइ सुरु गर्न सकिने अवस्था छैन । बाढीबाट जोगिएका ८ वटा विद्यालयमा अहिले आश्रयस्थल तथा होल्डिङ सेन्टर सञ्चालन भइरहेका छन् ।’
यसरी प्रत्यक्ष क्षति भएका १९ र आश्रयस्थलका रूपमा प्रयोग भइरहेका ८ तथा मनोपरामर्शका कार्यहरू सञ्चालन गरेका, हेल्थडेस्क गरी कम्तीमा ३२ वटा विद्यालय प्रभावित भएका मन्त्रालयले जनाएको छ ।
२ सय ५० बालबालिका र २० जना शिक्षक सम्पर्कविहिन
बाढीले विद्यालयका भौतिक संरचना मात्रै ध्वस्त पारेको छैन, बालबालिकाको सिकाइमा पनि ठूलो असर पारेको छ ।
मन्त्रालयलाई प्राप्त प्रारम्भिक विवरणअनुसार करिब २ सय ५० बालबालिका सम्पर्कविहीन अवस्थामा छन् । १९ देखि २० जना शिक्षकसमेत सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ ।
यी तथ्यांकले बाढीपछि शिक्षा क्षेत्रले सामना गरिरहेको संकटको गहिराइ देखाउँछ । विद्यालयमा फर्कने वातावरण नबनेसम्म बालबालिकाको पढाइ नियमित हुने अवस्था छैन ।
त्यसमाथि बाढीबाट बचेका बालबालिकाको मानसिक अवस्था अर्को चुनौती बनेको छ । शारीरिक रूपमा ठूलो चोट नलागेका बालबालिकासमेत मानसिक रूपमा गम्भीर असरमा परेको मन्त्रालयको आँकलन छ ।
त्यसैले अब विद्यालय खोल्नु मात्रै पर्याप्त नहुने शिक्षा मन्त्रालयको बुझाइ छ । प्रभावित बालबालिकालाई सामान्य अवस्थामा फर्काउन मनोसामाजिक परामर्शसँगै सिकाइलाई पुनः जोड्ने योजना अघि सारिएको छ ।
१० हजार बालबालिकाको सिकाइ प्रभावित
प्रारम्भिक विवरणअनुसार रसुवामा मात्रै करिब २ सयदेखि २ सय ५० बालबालिकाको सिकाइ पूर्ण रूपमा प्रभावित भएको छ भने नुवाकोटमा विद्यालय र कलेजहरूमा क्षति भएकोमा ठुलो मात्रामा बालबालिकाको पढाइ प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी धामीले भने तीनवटै जिल्लाका विद्यालयमा गरी करिब १० हजार बढी बालबालिकाको पढाइ प्रभावित भएको छ ।
विद्यालयहरू तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेपछि सुरक्षित रहेका विद्यालयलाई आवासीय विद्यालय अर्थात् होस्टेलका रूपमा सञ्चालन गर्ने विकल्पबारे छलफल भइरहेको उनले बताए ।
यसरी प्रभावित बालबालिकालाई सुरक्षित विद्यालयमा राखेर पढाइलाई निरन्तरता दिन सकिने मन्त्रालयको बुझाइ छ । विपद्पछि बालबालिकाको शिक्षा नरोकिने गरी वैकल्पिक व्यवस्था गर्ने प्रयास भइरहेको छ ।
अब उद्धारपछि ‘सिकाइ’ प्राथमिकतामा
बाढीपछि पहिलो प्राथमिकता जीवन जोगाउनु थियो । अहिले उद्धारको काम करिब टुंगिन लागेको अवस्थामा शिक्षा मन्त्रालयको ध्यान प्रभावित बालबालिकाको सिकाइतर्फ केन्द्रित हुन थालेको छ ।
शिक्षा विभागको नेतृत्वमा धादिङ, नुवाकोट र रसुवामा निर्देशकसहितको प्राविधिक टोली परिचालन गरिएको छ । गैरसरकारी संस्था, विकास साझेदार तथा अन्य सहयोगी संस्थाका प्रतिनिधिसमेत टोलीसँग समन्वयमा खटिएका छन् ।
स्थलगत टोलीले विद्यालयको भौतिक क्षतिसँगै विद्यार्थी, शिक्षक र शैक्षिक अभिलेखको अवस्था पनि रुजु गर्नेछ । त्यसपछि कुन विद्यालय तत्काल सञ्चालन गर्न सकिन्छ, कहाँ वैकल्पिक सिकाइ केन्द्र आवश्यक छ र कहाँ आवासीय व्यवस्थामार्फत पढाइ अघि बढाउन सकिन्छ भन्ने टुंगो लाग्नेछ ।
शिक्षा मन्त्रालयका सूचना अधिकारी धामीका अनुसार अबको प्राथमिकता उद्धारबाट सामान्यीकरण र सामान्यीकरणबाट सिकाइतर्फ अघि बढ्नु हो ।
बाढीले विद्यालयका भवन भत्काए पनि बालबालिकाको पढाइ रोकिराख्ने अवस्था नबनाउने मन्त्रालयको लक्ष्य छ । त्यसका लागि सुरक्षित विद्यालयको उपयोगदेखि आवासीय व्यवस्थासम्मका विकल्प अघि सारिँदैछन् ।
‘किनकि विपद्पछि विद्यालयको भवन पुनर्निर्माण गर्न समय लाग्न सक्छ, तर बालबालिकाको सिकाइमा आएको लामो अवरोधले उनीहरूको भविष्यमा अर्को ठूलो क्षति पुर्याउन सक्छ,’ उनले भने ।