भोटेकोशी बाढीका २१ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक भारतीयसहित २१ घाइतेको अहिले त्यहाँ उपचार भइरहेको जानकारी दिए । उक्त अस्पतालमा अशोक श्रेष्ठ, बलबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, रामप्रसाद थारु, रिता डोल्चा, ऋतु डङ्गोल, सुरुची राना मगर, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, सिजल थापा क्षेत्रीको उपचार भइरहेको छ । यस्तै, सितार तामाङ, मनिषा उचाई मगर, श्रीकेशकुमार यादव, चण्डिका श्रेष्ठ, कृष्ण श्रेष्ठ र सनम पाल्मोको समेत उपचार भइरहेको छ । यस्तै, भारतीय नागरिक नवलेश शर्माको पनि उक्त अस्पतालमा उपचार भइरहेको छ । उपचारमा रहने मध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठलाई आईसीयुमा तथा मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टको हाई केयर यूनिटमा उपचार भइरहेको प्रवक्ता डा. सेढाईंले बताए । उक्त अस्पतालबाट हाल उपचार गरेर ५५ जना डिस्चार्ज भएका छन् । यस्तै चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा. सेढाईंले बताए । उक्त अस्पतालमा ल्याएका मध्ये २५ वर्षीय कुशल मगरको उपचारका क्रममा मृत्यु भएको छ ।
पाल्पामा दुई महिनामा २५५ जनामा डेंगी सङ्क्रमण पुष्टि
पाल्पा । पछिल्लो दुई महिनामा पाल्पामा २५५ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा मात्रै यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएसँगै जिल्लामा डेंगीको जोखिम उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार यसअघिका आर्थिक वर्षहरूमा पनि डेंगी सङ्क्रमणको स्थिति उतारचढावपूर्ण रहेको थियो । विगतका वर्षहरूको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको थियो। पछिल्लो समय परीक्षणको दायरा फराकिलो बन्दै गएको र जलवायु परिवर्तनका कारण वातावरणीय अनुकूलता मिल्दा सङ्क्रमण बढी देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । पाल्पास्थित युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीहरूमा डेंगी सङ्क्रमण देखिएको छ । यसबाहेक विभिन्न निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमा समेत डेंगी परीक्षण हुँदै आएको छ । वर्षायाममा घर वरिपरि पानी जम्ने स्थानहरू बढ्ने र त्यसले डेंगी सार्ने एडिज जातको लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण तयार गर्ने भएकाले जोखिम झन् बढेको छ । यस्ता लामखुट्टेले घरआँगनमा रहेका पुराना टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने अन्य भाँडाकुँडामा फुल पार्ने गर्दछन् । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय पाल्पाले सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । कार्यालयले सरोकारवालाहरूसँग डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी पैरवी तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको छ । लामखुट्टे नियन्त्रणका लागि घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लार्भा नष्ट गर्न र लामखुट्टेको टोकाइबाट बच्न सबैलाई आग्रह गरेका छन् । घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन तथा खाल्डाखुल्डी पुर्न, गमलाको प्लेट, फुलदानी र कुलरको पानी कम्तीमा हप्तामा एक पटक फेर्न तथा खानेपानी वा ढल चुहिएको भए तत्काल मर्मत गर्न उनले अनुरोध गरेका छन् । साथै, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, सधैँ झुलभित्र सुत्ने र झ्यालढोकामा जाली हाल्न पनि सुझाव दिइएको छ ।
नुवाकोटको विदुरमा भदौ २४ देखि विद्यालय खुल्ने
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका क्षेत्रका विद्यालयहरू भदौ २४ गतेदेखि सञ्चालनमा आउने भएका छन् । आइतबार (आज) बसेको नगर कार्यपालिका बैठकले होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका तथा पूर्णरूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्न अनुरोधसमेत गरेको छ । बाढीका कारण विद्यालयहरू बन्द रहेका बेला नगरपालिकाले प्रभावित क्षेत्रका विद्यार्थीलाई आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा अध्ययन गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । बाढीबाट क्षतिग्रस्त तथा होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका विद्यालय भने तत्काल सञ्चालनमा नआउने नगरपालिकाले स्पष्ट पारेको छ ।