नोभा जेनेटिकाको 'आईपोड–२०० डीटी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले नोभा जेनेटिका प्रालि खानिखोला–७, नुवाकोटद्वारा उत्पादित ‘आईपोड–२०० डीटी’ (सेफपोडोक्सिम प्रोक्सेटिल डिस्पर्सिबल ट्याब्लेट) औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार ब्याच नम्बर आईपीडी२–१३३, उत्पादन मिति नोभेम्बर २०२५ र म्याद समाप्त हुने मिति अप्रिल २०२७ रहेको उक्त औषधि गुणस्तर परीक्षणका क्रममा मापदण्डअनुरूप नभएको पाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालाबाट गरिएको परीक्षणमा उक्त औषधिले घुलनशीलता (डिसोलुसन) सम्बन्धी मापदण्ड पूरा नगरेको विभागले जनाएको छ । परीक्षण प्रतिवेदनमा ‘घुलनशीलताका सम्बन्धमा औषधि नमुना मापदण्डअनुसार छैन’ भन्ने उल्लेख गरिएको छ । उक्त औषधिमा सेफपोडोक्सिम प्रोक्सेटिल यूएसपी, सेफपोडोक्सिम २०० मिलिग्राम बराबरको मात्रा रहेको छ । यो लेप नलगाइएको घुलनशील ट्याब्लेटका रूपमा उत्पादन गरिएको हो । विभागले सम्बन्धित उद्योग तथा औषधि व्यवसायीलाई उक्त ब्याचको औषधिको बिक्री–वितरण रोक्न तथा बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । साथै, फिर्ता गरिएको औषधिको विवरण विभागमा उपलब्ध गराउनसमेत भनिएको छ ।
विश्व फिजियोथेरापी दिवस : हृदय रोग र पक्षघातको रोकथाममा शारीरिक गतिविधिको महत्त्व
काठमाडौं । हृदय तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका भन्ने नाराका साथ मंगलबार (आज) विश्व फिजियोथेरापी दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्वास्थ्य तथा शारीरिक गतिशीलतामा फिजियोथेरापिस्टले पु‍र्याउने महत्त्वपूर्ण योगदानबारे जनचेतना फैलाउने उद्देश्यले सन् १९९६ देखि हरेक वर्ष सेप्टेम्बर ८ मा यो दिवस मनाउने गरिएको छ। नेपालमा भने सन् २००० देखि यो दिवस मनाउन सुरु गरिएको हो । विश्वका विभिन्न देशहरूमा लामो समयदेखि प्रचलनमा रहेको यो चिकित्सा पद्धति नेपालमा सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धति तथा भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत भित्रिएको पाइन्छ । त्यसयता केही दशक अगाडि मात्र निजी अस्पतालहरूले यसको औपचारिक सुरुआत गरेका थिए । पछिल्लो समय सेवाग्राही र प्रदायक दुवैको संख्या बढ्दै गएको छ भने नेपालमै यसको अध्ययन९अध्यापनसमेत हुन थालेपछि विद्यार्थीहरूको आकर्षणसमेत बढ्दै गएको चिकित्सकहरू बताउँछन् । विशेषगरी हाडजोर्नी तथा नसासम्बन्धी रोगका लागि प्रभावकारी मानिने फिजियोथेरापी न्युरोलोजिकल डिसअर्डर (स्नायुसम्बन्धी विकार) र अटिजम भएका बालबालिकाहरूमा समेत निकै उपयोगी साबित भएको छ । यसका साथै युवा, महिला तथा वृद्धावस्थामा देखिने ढाड र कम्मर दुख्ने लगायतका समस्याहरूमा समेत यो पद्धति अत्यन्त प्रभावकारी बनेको छ ।
के तपाईंको नक्कली नङ लगाउने बानी छ ? हुनसक्छ क्यान्सर
काठमाडौैं । बेलायतकी ३५ वर्षीया लुसी थोमसलाई नक्कली नङ अर्थात एक्रिलिक नङ लगाउने बानी थियो । करिब दुई वर्षअघि उनले एक्रिलिक नङ हटाएपछि आफ्नो बूढी औंलाको नङमा कालो रेखा देखिन् । सुरुमा उनले नङमा चोट लागेको होला भनेर खासै ध्यान दिइनन् । तर साथीले डाक्टरलाई देखाउन सुझाव दिएपछि उनी जाँचका लागि गइन् । जाँचपछि डाक्टरहरूले नङमुनि हुने दुर्लभ प्रकारको छालाको क्यान्सर हुनसक्ने आशंका गरे । थप परीक्षण गर्दा नङमुनि क्यान्सर बन्नुअघि देखिने असामान्य कोषहरू भेटिए, जसलाई हटाउन उपचार गर्नुप‍र्यो । लुसीले आफ्नो अनुभव सुनाउँदै नक्कली नङ लगाउने मानिसहरूलाई नङमा देखिने असामान्य परिवर्तनलाई बेवास्ता नगर्न आग्रह गरेकी छन् । नङमा अचानक कालो वा खैरो धर्सा देखिनु, रंग परिवर्तन हुनु, नङको आकार बदलिनु वा लामो समयसम्म असामान्य देखिनु जस्ता समस्या देखिएमा आफै अनुमान नगरी स्वास्थ्यकर्मीलाई देखाउनु राम्रो हुन्छ । त्यसैगरी, नङ सजाउन प्रयोग हुने युभी बत्तीबाट हुने बारम्बारको सम्पर्कले पनि हातको छालामा असर पार्न सक्छ । त्यसैले सुन्दर देखिने मात्र होइन, आफ्नो स्वास्थ्यको पनि ख्याल राखौं । नङमा देखिएको सानो परिवर्तनलाई पनि बेवास्ता नगर्नूहोस् ।