लक्ष्मी आधारभूतका १०४ छात्रालाई शिवम् सिमेन्टको छात्रवृत्ति सहयोग

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले छात्रा लक्षित छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले हेटौंडा–१७, हटिया स्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीहरूका लागि चालू शैक्षिक सत्रको लागि उक्त छात्रवृत्ति प्रदान गरेको हो । विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको शुल्कबापत हुन आउने रकम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रम १७ नं. वडा जन प्रतिनिधि, शिवम् सिमेन्टका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक लगाएतको उपस्थितिमा छात्रवृत्ति हस्तान्तरण गरिएको हो । कम्पनीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ । उक्त छात्रवृत्तिले छात्राहरूको मनोबल उच्च हुनुका साथै विद्यालयमा छात्रा उपस्थितिमा वृद्धि हुने विश्वास लिइएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग पुर्याएकोमा शिवम् सिमेन्ट लिमिटेडप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने बताए । साथै, उद्योग सन् २०६८ सालमा स्थापना भएदेखि विद्यालयसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिदिन आग्रह पनि गरे । यस अघि पनि शिवम् सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा कम्पाउन्ड वाल निर्माण, स्कुल बसको व्यवस्था तथा कम्प्युटर–प्रिन्टर लगायतका शैक्षिक सामग्री सहयोग गर्दै आएको जनाएको छ ।

नेपालको ड्रोन प्रविधिमा अन्तर्राष्ट्रिय फड्को, चिनियाँ विज्ञसहितको उच्चस्तरीय कार्यशाला हुँदै

काठमाडौं । नेपालको उड्डयन तथा ड्रोन प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने र ज्ञान आदान–प्रदानलाई सुदृढ गर्ने उद्देश्यले नेपाल र चीनका प्रतिष्ठित संस्थाहरुबीच ऐतिहासिक सहकार्य हुने भएको छ । ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेजको संयुक्त आयोजनामा धुलिखेलस्थित हाइडअवे ग्ल्याम्पिङुमा एकदिने ‘उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना हुने भएको हो ।  आगामी बिहीबारदेखि आयोजना हुने यो कार्यशाला नेपालको ड्रोन इकोसिस्टम सुदृढ गर्न र युवा पुस्तालाई उड्डयन प्रविधिमा आकर्षित गर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । कार्यशालामा चीनको उड्डयन क्षेत्रका दिग्गज व्यक्तित्वहरूको उपस्थिति रहनेछ । जिसीएसीका तर्फबाट डिन टियान जुको नेतृत्वमा उप–डिन हे यानबिन, निर्देशक बाइ जियानकुन, उप–निर्देशक यान झीयुआन, प्रशिक्षक नी वेइगुओ र विदेशी मामिला संयोजक लिन वेइच्याङ नेपाल आउँदैछन् । त्यस्तै, नेपालको तर्फबाट नेपाल मानव रहित विमान (ड्रोन) संघका अध्यक्ष राजभाई सुवाल सहित सम्पूर्ण टिमको विशेष सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय विज्ञ र नेपाली सरोकारवालाहरूको यो भेटले नेपालमा ड्रोन प्रविधिको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । के–के हुनेछ कार्यशालामा ? कार्यक्रमको सुरुवात विद्यार्थीहरूको नवप्रवर्तन क्षमता प्रदर्शन गर्दै आरसी (रिमोट कन्ट्रोल) विमानको रोमाञ्चक प्रदर्शनीबाट हुनेछ, जसले एयरोमोडेलिङ सीपलाई उजागर गर्नेछ । त्यसपश्चात्,  जिसीएसीका विज्ञहरूले उन्नत मानवरहित हवाई सवारी साधन प्रणाली, अन्तर्राष्ट्रिय तालिम मापदण्ड र नियामक अभ्यासहरू, ड्रोनको औद्योगिक उपयोग र भविष्यका सम्भावनाहरू जस्ता विषयमा विस्तृत प्रस्तुति दिनेछन्  । ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईको नेतृत्वमा आयोजना हुन लागेको यस कार्यक्रमको प्राविधिक तथा समन्वय पाटो अफताब आलमले सम्हालेका छन् । सञ्चार र सहभागी व्यवस्थापनमा सचिन सिंह र ओम साह तथा लजिस्टिक्समा रसिदव राज खटिएका छन् ।  कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न 'हाइडअवे ग्ल्याम्पिङ' का सञ्चालक निरज श्रेष्ठ र सुजन खतिवडाले विशेष व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन् । कार्यशाला बाहेक, चिनियाँ टोलीले आफ्नो नेपाल बसाईका क्रममा काठमाडौं र भक्तपुरका अग्नि नियन्त्रक केन्द्रहरूको स्थलगत अवलोकन पनि गर्नेछ । यसक्रममा विपद् व्यवस्थापन, खोज तथा उद्धार र आगलागी नियन्त्रणमा ड्रोनको प्रयोग कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदान–प्रदान गरिनेछ । ड्रोन हब नेपालका अनुसार यो कार्यक्रम केवल एक कार्यशाला मात्र नभई नेपालको उड्डयन प्रविधिमा युवा इन्जिनियरहरूलाई प्रेरित गर्ने अभियान हो । विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण र विकास परियोजनाहरूमा ड्रोनको जिम्मेवारपूर्ण प्रयोगलाई बढावा दिनु नै यसको मुख्य उद्देश्य हो ।  

रमेश गुप्ता मेमोरियलले महालक्ष्मी डेभलपमेन्टसँगको सहकार्यमा क्यान्सर अस्पताललाई गर्यो सहयोग

काठमाडौं । नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउने तथा उपचारलाई अझ सुलभ र पहुँचयोग्य बनाउन सञ्चालित प्रयास अन्तर्गत रमेश गुप्ता मेमोरियल ट्रष्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ ।  यसले अस्पतालको बालक क्यान्सर सेवाहरूलाई सुदृढ बनाउनेछ र आईसीयू क्षमतालाई १५ बेडसम्म पुर्याउनेछ । साथै नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन मद्दत गर्नेछ । यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणाली सुलाव पार्न थालिएको ठूलो प्रयासको हिस्सा हो । यसका साथै, हाम्रो विश्वव्यापी साझेदार वर्ल्ड चाइल्ड क्यान्सको सहकार्यमा नेपालका सबै सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता र आवश्यक सहयोग प्रदान गर्दै ट्रष्टले जनाएको छ ।  यी केन्द्रहरूले उपचारलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा बालबालिकाहरू आफ्नो घर नजिकै सुरक्षित र समयमै उपचार पाउन सक्छन् र बारम्बार लामो दुरीको यात्रा गरिराख्नु पर्ने आर्थिक र मानसिक तनावलाई पनि कम गर्दछ । उक्त ट्रष्ट बाल क्यान्सर उपचारको परिणाम सुधार गर्न ३६०–डिग्री दृष्टिकोणसहित कार्यरत स्वास्थ्यकर्मी तालिमदेखि जनचेतना अभिवृद्धि, क्षमता तथा दक्षता विकासदेखि परिवारलाई आर्थिक, भावनात्मक र मनोसामाजिक सहयोग प्रदानसम्म ट्रष्टको उद्देश्य नेपाली बालकहरूले क्यान्सरविरुद्धको लडाइँमा गुणस्तरीय उपचार, आशा र बाँच्ने निष्पक्ष अवसर प्राप्त गर्न सहयोग गर्नु हो । ट्रस्टका अनुसार नेपालमा बाल क्यान्सरको उपचार परिणाम सुधार गर्न सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोण अत्यन्तै आवश्यक छ । यसको जारी प्रयासले हरेक बालबालिकाले, चाहे जहाँ बसोबास गरे पनि, गुणस्तरीय क्यान्सर उपचार पहुँच पाउन र बाँच्ने र जीवन सफल बनाउन उचित अवसर पाउन सक्ने प्रणाली निर्माण गर्ने प्रतिबद्धता देखाउँछ ।