काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवामा सञ्चार सेवा प्रभावित बनेपछि डिशहोमले युटेलस्याट वानवेबको सहकार्यमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को स्वीकृति र समन्वयमा सुरु गरिएको यो सेवा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा उपलब्ध गराइएको डिशहोमले जनाएको छ । प्राथमिकताका आधारमा भदौ २० गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका अनुसार बाढीका कारण क्षति पुगेको सञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको हो । यसबाट सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार टोली, राहत शिविर र समन्वय केन्द्रमा सञ्चार सेवा सहज हुने अपेक्षा गरिएको छ ।
डिशहोमले यो सेवाले उद्धार, राहत र पुनःस्थापनाका काममा सूचना आदान–प्रदान, समन्वय र आवश्यक डाटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने जनाएको छ ।
कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा आवश्यकताअनुसार स्याटेलाइट इन्टरनेट सेवा थप विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।