काठमाडौं । वेबसाइट तथा अनलाइन सेवा सञ्चालनमा प्रयोग हुने पीएचपी प्रणालीमा दुई गम्भीर सुरक्षा कमजोरी पहिचान भएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी तथा निजी क्षेत्रका निकायलाई तत्काल सुरक्षा अद्यावधिक गर्न आग्रह गरेको छ । सुरक्षा कमजोरी समाधान गर्न नसकिने अवस्थामा इन्टरनेटमा सार्वजनिक पहुँच सीमित गर्न वा जोखिमयुक्त सेवा अस्थायी रूपमा बन्द गर्नसमेत केन्द्रले सुझाव दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मातहत रहेको केन्द्रले बुधबार जारी गरेको अत्यन्त जरुरी सुरक्षा सूचनामा पीएचपी र यससँग सम्बन्धित प्रणालीमा देखिएका दुई सुरक्षा कमजोरीलाई गम्भीर रूपमा लिन आग्रह गरेको हो । ती कमजोरीलाई सीभीई–२०२६–१०९६१८ र सीभीई–२०२६–१०९६१९ का रूपमा पहिचान गरिएको सूचनामा उल्लेख छ ।
पीएचपी वेबसाइट तथा अनलाइन सेवा सञ्चालनका लागि प्रयोग हुने प्रमुख प्रविधिमध्ये एक हो । यसमा आधारित प्रणाली वर्डप्रेस, जुम्ला, ड्रुपल र म्याजेन्टोजस्ता सामग्री व्यवस्थापन प्रणालीमा पनि प्रयोग हुन्छन् । त्यसैले पीएचपी प्रयोग गरेर वेबसाइट तथा अनलाइन सेवा सञ्चालन गरिरहेका निकायले आफ्नो प्रणालीमा जोखिम भए–नभएको तत्काल जाँच गर्नुपर्ने हुन्छ ।
केन्द्रले प्रणालीमा प्रयोग भइरहेको पीएचपीको संस्करण पहिचान गरी जोखिमयुक्त संस्करणलाई सुरक्षित संस्करणमा अद्यावधिक गर्न भनेको छ । सूचनामा पीएचपी ८.५.१२, ८.४.२७, ८.३.३६ र ८.२.३५ संस्करण उल्लेख गरिएका छन् । अद्यावधिक गर्दा सम्बन्धित प्रणालीका लागि उपलब्ध सुरक्षा सुधारसहितको संस्करण प्रयोग गर्नुपर्ने हुन्छ ।
पीएचपी ८.१ वा त्योभन्दा पुरानो संस्करण प्रयोग गरिरहेका र सुरक्षा अद्यावधिक पाउन छाडेका प्रणालीमा थप जोखिम हुन सक्ने केन्द्रको चेतावनी छ । यस्ता प्रणालीलाई नयाँ तथा सुरक्षित संस्करणमा स्तरोन्नति गर्नुपर्नेछ । अद्यावधिक गर्नुअघि सम्बन्धित सफ्टवेयर र प्रणालीसँग संस्करण अनुकूल रहेको सुनिश्चित गर्न पनि आवश्यक हुन्छ ।
अद्यावधिक गर्न नसके सेवा बन्द गर्न सुझाव
केन्द्रले तत्काल सुरक्षा सुधार लागू गर्न नसकिने अवस्थामा जोखिमयुक्त प्रणालीलाई इन्टरनेटबाट अलग राख्न वा सार्वजनिक पहुँच रोक्न सुझाव दिएको छ । विशेषगरी इन्टरनेटमा सीधै जोडिएका प्रणालीलाई प्राथमिकतामा राखेर सुरक्षा उपाय अपनाउनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्ता प्रणालीमा आन्तरिक सञ्जाल वा भर्चुअल निजी सञ्जाल (भीपीएन) मार्फत मात्र पहुँच दिने, निश्चित इन्टरनेट ठेगानाबाट मात्रै प्रयोग गर्न मिल्ने व्यवस्था गर्ने तथा सञ्जालको पहुँच नियन्त्रण गर्ने उपाय अपनाउन सकिनेछ ।
सुरक्षा अद्यावधिक नपाउने पुराना पीएचपी संस्करण प्रयोग भइरहेका प्रणालीलाई छुट्टै सञ्जालमा राख्न र त्यहाँबाट बाह्य सञ्जालमा अनावश्यक तथ्याङ्क प्रवाह हुन नदिन पनि केन्द्रले सुझाव दिएको छ ।
यदि जोखिमयुक्त अनलाइन सेवा तत्काल अद्यावधिक गर्न वा अन्य उपायबाट सुरक्षित बनाउन सम्भव नभए पीएचपी–एफपीएम, अपाचे तथा विन्डोजमा सञ्चालन भइरहेका सम्बन्धित सेवाहरू अस्थायी रूपमा रोक्नुपर्ने हुन सक्छ । डकर वा क्लाउडमा सञ्चालन गरिएका जोखिमयुक्त सेवासमेत आवश्यकताअनुसार अस्थायी रूपमा बन्द गर्न सकिने सूचनामा उल्लेख छ ।
केन्द्रका अनुसार सञ्जाल पहुँच सीमित गर्ने वा अन्य अस्थायी उपायले जोखिम घटाउन सहयोग गर्न सक्छन् । तर, ती उपाय पूर्ण समाधान होइनन् । त्यसैले उपलब्ध सुरक्षा सुधार लागू गर्नु नै जोखिम हटाउने प्रमुख उपाय हो ।
सरकारीदेखि निजी क्षेत्रका वेबसाइट जोखिममा पर्न सक्ने
पीएचपी प्रयोग गर्ने सरकारी कार्यालय, वित्तीय तथा व्यावसायिक सेवा प्रदायक, सञ्चारमाध्यम र अन्य संस्थाले आफ्नो वेबसाइट तथा सर्भरमा प्रयोग भइरहेको संस्करण जाँच गर्नुपर्ने हुन्छ । पुरानो संस्करण, सुरक्षा अद्यावधिकको अभाव वा जोखिमयुक्त सेवा खुला अवस्थामा रहँदा अनलाइन प्रणालीको सुरक्षामा चुनौती उत्पन्न हुन सक्छ ।
केन्द्रले प्रणालीको अवस्था अद्यावधिक गर्नुअघि र गरेपछि दुवै अवस्थामा परीक्षण गर्न तथा आवश्यक प्राविधिक सहयोग लिन आग्रह गरेको छ । सुरक्षा अद्यावधिक तथा प्राविधिक समन्वयका लागि केन्द्रका कम्प्युटर अधिकृत आशिष भट्टलाई ९८४४६८२७४२ नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । प्रणालीमा पहुँचसम्बन्धी समन्वयका लागि एकीकृत डेटा व्यवस्थापन केन्द्रसँग पनि सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पीएचपीमा देखिएका सुरक्षा कमजोरीबाट बच्न वेबसाइट सञ्चालकले सूचना बेवास्ता नगरी आफ्नो प्रणालीको तत्काल परीक्षण, सुरक्षित संस्करणमा अद्यावधिक र आवश्यक पहुँच नियन्त्रण गर्नुपर्ने देखिन्छ । जोखिम हटाउन नसकिने अवस्थामा सेवा अस्थायी रूपमा बन्द गर्नु अनलाइन प्रणालीलाई सम्भावित क्षतिबाट जोगाउने महत्त्वपूर्ण सावधानी हुनेछ ।