काठमाडौं । क्रिमसन कलेज अफ टेक्नोलोजी प्रालिको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा ६.५ प्रतिशतले बढेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा ४२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी ४० करोड रुपैयाँ थियो ।
कम्पनीको आम्दानीमा मुख्यतः औषधि व्यवसाय तथा अस्पतालबाट प्राप्त आम्दानीको योगदान रहेको छ । अस्पतालबाट प्राप्त आम्दानी गत आर्थिक वर्षमा ८.५३ प्रतिशतले बढेर ३० करोड ५० लाख रुपैयाँ पुगेको छ । अस्पतालमा बाह्य बिरामीको संख्या बढेसँगै आम्दानीमा वृद्धि भएको कम्पनीले जनाएको छ ।
सञ्चालन तथा प्रशासनिक खर्चमा आएको कमीका कारण कम्पनीको सञ्चालन नाफाको मार्जिनमा समेत सुधार भएको छ । यस्तो मार्जिन अघिल्लो आर्थिक वर्षको १९.१० प्रतिशतबाट बढेर गत आर्थिक वर्षमा २४.११ प्रतिशत पुगेको छ ।
त्यस्तै, कम्पनीको व्यवसायबाट सिर्जित कुल नगद सञ्चिति पनि बढेको छ । गत आर्थिक वर्षमा यस्तो रकम ७ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ५ करोड ७० लाख रुपैयाँ थियो ।
कम्पनीको आम्दानी यसअघि आर्थिक वर्ष २०८०/८१ मा ३१ करोड ८० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा ३२ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
लुम्बिनी प्रदेशका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको क्रिमसन कलेज अफ टेक्नोलोजी प्रालिले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । सन् २००० जुलाईमा स्थापना भएको कम्पनीले पोखरा विश्वविद्यालयको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कलेजले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउने उद्देश्य राखेको जनाएको छ । कलेजअन्तर्गत सञ्चालित क्रिमसन अस्पतालले सन् २०१२ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा विभिन्न चिकित्सकीय सेवासहित चौबीसै घण्टा आकस्मिक सेवा सञ्चालनमा रहेको छ ।
कम्पनीको सञ्चालक समितिमा ६ जना सदस्य रहेका छन् । सञ्चालक समितिका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले वाणिज्य विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेका छन् । सम्बन्धित क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेका पाण्डेसँग बैंकिङ तथा विद्युतीय व्यवसाय क्षेत्रमा समेत अनुभव रहेको छ ।
त्यस्तै, सञ्चालक कृष्णप्रसाद अर्यालको बैंकिङ क्षेत्रमा अनुभव रहेको छ भने बाबुराम भट्टराई चिकित्सा क्षेत्रको पृष्ठभूमिबाट आएका छन् । चिकित्सक शेखरप्रसाद पोखरेलले चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् र अस्पताल तथा स्वास्थ्य सेवा व्यवसाय सञ्चालनसम्बन्धी अनुभव राख्छन् ।
सञ्चालक देवी भण्डारीले अंग्रेजी विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी छन् । उनी क्रिमसन कलेज अफ टेक्नोलोजी प्रालिकी प्राचार्यका रूपमा कार्यरत छन् र शिक्षा क्षेत्रमा अनुभव राख्छिन् । अर्का सञ्चालक कृष्णप्रसाद नेपाल सामाजिक क्षेत्रमा सक्रिय छन् ।

कम्पनीको पूर्ण स्वामित्वमा क्रिमसन टेक्निकल कलेज प्रालि र क्रिमसन फार्मेसी प्रालि सञ्चालनमा रहेका छन् । क्रिमसन टेक्निकल कलेजको मुख्य उद्देश्य प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका विभिन्न पाठ्यक्रम सञ्चालन गर्नु रहेको छ । क्रिमसन फार्मेसीले औषधि व्यवसायमार्फत कम्पनीलाई सम्बन्धित क्षेत्रमा थप आम्दानीको अवसर प्रदान गरेको छ ।
कम्पनीले निकट अवधिमा ठूलो परिमाणमा पुँजीगत खर्च गर्ने योजना पनि अघि सारेको छ । नयाँ उपकरण खरिद तथा अन्य भौतिक पूर्वाधार विकासमा लगानी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । प्रस्तावित लगानीबाट स्वास्थ्य सेवाको दायरा तथा सञ्चालन क्षमता विस्तार हुने अपेक्षा गरिएको छ । यद्यपि, शिक्षा तथा स्वास्थ्य क्षेत्र नियामकीय जोखिममा रहेको कम्पनीको भनाइ छ । सम्बन्धन, पाठ्यक्रम, शुल्क संरचना, सेवा मापदण्ड, अनुमतिपत्र, पूर्वाधार तथा सञ्चालनसम्बन्धी नियममा हुने परिवर्तनले संस्थाको व्यावसायिक योजना तथा विस्तारमा प्रभाव पार्न सक्ने देखिन्छ । आवश्यक स्वीकृति प्राप्त गर्न हुने ढिलाइ तथा नियामकीय व्यवस्था परिवर्तनले समेत विस्तार योजनामा चुनौती सिर्जना गर्न सक्ने कम्पनीले जनाएको छ ।
स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले चिकित्सकीय लापरबाही, जटिल बिरामीको व्यवस्थापनमा कमजोरी वा सेवाको गुणस्तरमा आउने त्रुटिले अस्पतालको प्रतिष्ठामा असर पार्न सक्ने जोखिमसमेत रहेको छ । यस्तो जोखिम न्यूनीकरण गर्न प्रभावकारी चिकित्सकीय कार्यविधि, बिरामीको नियमित निगरानी, पर्याप्त जनशक्ति तथा बलियो आन्तरिक नियन्त्रण प्रणाली आवश्यक हुने कम्पनीले जनाएको छ ।
क्रिमसन अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ । बजारमा निजी अस्पताल तथा स्वास्थ्य संस्थाको संख्या बढ्दै जाँदा बिरामी आकर्षित गर्न सेवा विस्तार, गुणस्तर, चिकित्सकको विशेषज्ञता तथा जटिल रोगको उपचारमा सफलता महत्वपूर्ण हुने देखिन्छ । दक्ष तथा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीलाई आकर्षित गरी टिकाइराख्नु पनि कम्पनीका लागि चुनौतीका रूपमा रहेको छ ।
नेपालमा स्वास्थ्य सेवाको माग भने निरन्तर बढिरहेको छ । सरकारी तथा निजी क्षेत्रबाट स्वास्थ्य सेवामा हुने खर्च वृद्धि, स्वास्थ्य सेवाको पहुँचमा सुधार, बढ्दो स्वास्थ्य चेतना, जीवनशैलीसँग सम्बन्धित रोगको वृद्धि तथा स्वास्थ्य बिमाको विस्तारले स्वास्थ्य क्षेत्रको माग बढाउन सहयोग गरेको छ ।
राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्यांकअनुसार नेपाली नागरिकको औसत आयु ६८.८ वर्षबाट बढेर ७२.४ वर्ष पुगेको छ । डोल्मा विकास कोषले प्रकाशित गरेको प्रतिवेदनअनुसार नेपालमा करिब ६३ प्रतिशत जनसंख्याले निजी स्वास्थ्य सेवा रोज्ने गरेको उल्लेख छ । यसले निजी अस्पतालका लागि बिरामीको आधार विस्तार गर्ने अवसर सिर्जना गरेको देखिन्छ ।
यसैबीच, कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ६० करोड रुपैयाँ ऋण लिएको जनाएको छ । उक्त ऋणमध्ये ४३ करोड ७६ लाख रुपैयाँ दीर्घकालीन र १६ करोड २३ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
कम्पनीको वित्तीय मूल्याङ्कनमा ऋणमा आधारित पुँजीगत खर्च, नियामकीय तथा प्रतिष्ठासम्बन्धी जोखिम, स्वास्थ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र ब्याजदरको उतारचढावलाई चुनौतीका रूपमा हेरिएको छ । अर्कोतर्फ, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कम्पनीको स्थापित अनुभव, अनुभवी सञ्चालक, सम्बन्धित क्षेत्रमा रहेका सहायक कम्पनी, सहज पुँजी संरचना तथा नेपालमा स्वास्थ्य सेवाको बढ्दो मागलाई सकारात्मक पक्षका रूपमा लिइएको छ ।