काठमाडौं । उत्तर कोरियाले बाइनान्समा साइबर हमला गरी ६ अर्ब डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरी गरेको अमेरिकी अनुसन्धान निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले आरोप लगाएको छ ।
यो खबर सार्वजनिक भएपछि बिटक्वाइन र इथेरियमलगायत प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा तीव्र गिरावट आएको छ । यद्यपि, बाइनान्सले चोरी भएको रकमबाट भएको सम्पूर्ण आर्थिक क्षति कम्पनी आफैले बेहोर्ने जनाएको छ ।
एफबीआईका अनुसार उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह ‘ट्रेडरट्रेटर’ ले बाइनान्समाथि साइबर हमला गरेको थियो । ह्याकरहरूले चोरी गरेको डिजिटल मुद्रा इथेरियममा रूपान्तरण गरिरहेको अनुसन्धान निकायले जनाएको छ ।
त्यसपछि उनीहरूले विकेन्द्रीकृत वित्तीय प्लेटफर्म (डिफाई) तथा तत्कालै क्रिप्टोकरेन्सी साट्न मिल्ने सेवाहरू प्रयोग गरेर उक्त रकमको स्रोत लुकाउने प्रयास गर्न सक्ने एफबीआईको भनाइ छ ।
एफबीआईले क्रिप्टो कम्पनी तथा अन्य वित्तीय संस्थालाई ह्याकरसँग सम्बन्धित डिजिटल वालेटमा हुने कारोबार रोक्न आग्रह गरेको छ । उक्त समूह यसअघि पनि ठूला क्रिप्टो प्लेटफर्मबाट रकम चोरी गरेको आरोपमा मुछिएको थियो ।
बाइनान्सले साइबर हमलाबाट भएको क्षतिपूर्ति गर्न ६ अर्ब ३४ करोड डलरभन्दा बढी रकम छुट्याएको जनाएको छ । कम्पनीका अनुसार आफ्नै स्रोतबाट टोकन खरिद गरेर चोरी भएको रकमको करिब ९० प्रतिशत पुनः जुटाइसकेको छ ।
बाँकी १० प्रतिशत रकम जुटाउन भने समय लाग्न सक्ने कम्पनीले जनाएको छ । त्यसमा संलग्न केही टोकन बजारमा सहजै उपलब्ध नहुनु यसको मुख्य कारण हो । सामाजिक सञ्जाल एक्समार्फत कम्पनीले चोरीबाट भएको सम्पूर्ण आर्थिक क्षतिको जिम्मेवारी बाइनान्सले नै लिने स्पष्ट पारेको छ ।
साइबर हमलापछि बाइनान्सले आफ्नो प्लेटफर्मबाट प्रयोगकर्ताले रकम झिक्न पाउने सुविधा अस्थायी रूपमा बन्द गरेको थियो। कम्पनीले पछिल्लो जानकारी दिँदै आइतबारदेखि निकासी सुविधा पुनः सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।
बाइनान्स विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज हो । यस प्लेटफर्ममा दैनिक ठूलो परिमाणमा डिजिटल मुद्राको कारोबार हुन्छ । त्यसैले यसमाथि भएको साइबर हमलाले क्रिप्टो बजारको सुरक्षालाई लिएर थप चिन्ता बढाएको छ ।
बाइनान्समाथि साइबर हमला भएको खबर सार्वजनिक भएयता प्रमुख क्रिप्टोकरेन्सीको मूल्य घटेको छ ।
अक्टोबर २९ यता बिटक्वाइनको मूल्य करिब ५ प्रतिशतले घटेको छ । आइतबार बिहान १० बजेसम्म यसको मूल्य प्रतिगोटा ७७ हजार ६७५ डलर हाराहारीमा थियो ।
त्यस्तै, बाइनान्सको मूल्य करिब ६ प्रतिशतले घटेर ७०४ डलर आसपास पुगेको छ । इथेरियमको मूल्य पनि ४ प्रतिशतभन्दा बढीले घटेको छ । आइतबार यसको मूल्य प्रतिगोटा करिब २ हजार २६५ डलर थियो ।
यसअघि पनि ठूला क्रिप्टो चोरीमा संलग्न
ट्रेडरट्रेटर समूह क्रिप्टोकरेन्सी चोरीमा मुछिएको यो पहिलो घटना होइन । यसअघि पनि उक्त समूह विभिन्न ठूला साइबर हमलामा संलग्न भएको आरोप लागेको थियो ।
सन् २०२५ फेब्रुअरीमा बाइबिट प्लेटफर्मबाट करिब १ अर्ब ५० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको थियो । त्यतिबेला यसलाई इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो चोरी मानिएको थियो ।
त्यस्तै, सन् २०२४ मेमा जापानको क्रिप्टो एक्सचेन्ज डीएमएम बिटक्वाइनबाट करिब ३० करोड ८० लाख डलर बराबरको बिटक्वाइन चोरी भएको थियो । उक्त घटनामा पनि ट्रेडरट्रेटर समूहको संलग्नता रहेको आरोप लागेको थियो ।
ट्रेडरट्रेटर समूह उत्तर कोरियाको चर्चित ह्याकर संगठन ‘लाजरस ग्रुप’सँग सम्बन्धित रहेको विश्वास गरिन्छ । सन् २०१४ मा पनि लाजरस ग्रुप चर्चामा आएको थियो । त्यतिबेला उक्त समूहले सोनी पिक्चर्सको कम्प्युटर प्रणालीमा साइबर हमला गरेको आरोप लागेको थियो ।
उत्तर कोरियाली नेता किम जोङ उनको विषयवस्तुमा आधारित फिल्म ‘द इन्टरभ्यु’लाई लिएर विवाद उत्पन्न भएपछि सोनी पिक्चर्समाथि उक्त हमला भएको थियो ।
यी घटनाले क्रिप्टोकरेन्सी बजारमा साइबर सुरक्षा अझै ठूलो चुनौतीका रूपमा रहेको देखाउँछ ।
इजरायलको चुनावी नतिजा र अबका चुनौती
चिनियाँ अर्बपतिहरूमा नागरिकता त्याग्नेको संख्या बढ्दै
एम्बाप्पेको अभिव्यक्तिले ला–लिगाको ४० करोड युरोको कारोबार जोखिममा
ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकाल अहिलेसम्मकै कठिन