काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा अधिकांश बैंकहरूको नाफा बढेको छ । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार चालु आवको असोजसम्म बैंकहरुले १९ अर्ब रुपैयाँ नाफा गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा १३ अर्ब हाराहारी मात्रै नाफा गरेका थिए ।
समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले सबैभन्दा उच्च नाफा वृद्धि गरेको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २५२२.४६ प्रतिशतले बढेर १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १७५.५२ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ पुगेको छ । सिद्धार्थ बैंकको नाफा १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ भने सानिमा बैंकको नाफा १३१.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड १४ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
लक्ष्मी सनराइज बैंकको नाफा ९६.६० प्रतिशतले बढेर ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ पुगेको छ । नबिल बैंकले २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ४५.४२ प्रतिशत बढी हो । नबिल बैंकले समीक्षा अवधिमा सबैभन्दा धेरै खुद नाफा कमाएको छ ।
नेपाल बैंकको नाफा ४१.४५ प्रतिशतले बढेर ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकको ३१.८६ प्रतिशतले बढेर ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ र एनएमबि बैंकको २७.१० प्रतिशतले बढेर १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको खुद नाफा २४.४८ प्रतिशतले बढेर २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकको १०.०९ प्रतिशतले बढेर ५५ करोड २२ लाख १५ हजार रुपैयाँ, प्रभु बैंकको ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख २१ हजार रुपैयाँ र एभरेष्ट बैंकको ६.२२ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
एनआइसी एशिया बैंकको नाफा ४.३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ पुगेको छ भने कुमारी बैंकको १.७० प्रतिशतले बढेर १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ पुगेको छ ।
तीन बैंकको खुद नाफा भने घटेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा २.९९ प्रतिशतले घटेर ६७ करोड १४ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ । प्राइम बैंकको नाफा ५.६२ प्रतिशतले घटेर १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ र हिमालयन बैंकको नाफा ६.८३ प्रतिशतले घटेर ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ कायम भएको छ ।
सिटिजन्स बैंक भने गत वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानीमा रहेकामा चालु आवको सोही अवधिमा १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफामा फर्किएको छ ।