कुमारी बैंकको बोर्डमा गोल्डस्टारका प्रवर्द्धकदेखि पूर्वबैंकरसम्म

काठमाडौं । कुमारी बैंकको सञ्चालक समितिमा गोल्डस्टार जुत्ता उत्पादन गर्ने युनिभर्सल समूहका अध्यक्षदेखि सिमेन्ट उद्योगका व्यवसायी, पूर्वबैंकर, चार्टर्ड एकाउन्टेन्ट र नयाँ पुस्ताका व्यावसायिक प्रतिनिधिसम्मको उपस्थिति छ । बैंकको बोर्डमा उद्योग, व्यापार, वित्तीय व्यवस्थापन, घरजग्गा, बीमा र संस्थागत सुशासनको अनुभव भएका व्यक्तिहरू रहेका छन् ।

बैंकको सञ्चालक समितिमा अमिरप्रताप जेबी राणा, पशुपति मुरारका, महेशप्रसाद पोखरेल, विजयकुमार श्रेष्ठ, राजाराम खड्का, विजय स्थापित र सिमरन अग्रवाल रहेका छन् । उनीहरूको व्यावसायिक पृष्ठभूमि फरक–फरक भए पनि बैंकको रणनीतिक दिशा, जोखिम व्यवस्थापन, सुशासन र संस्थागत विकास सञ्चालक समितिका साझा जिम्मेवारी हुन् ।

कुमारी बैंकले २०५७ चैत २१ गतेदेखि ‘क’ वर्गको वाणिज्य बैंकका रूपमा वित्तीय कारोबार सुरु गरेको थियो । बैंकले देवः विकास बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेबिहार विकास बैंक, पश्चिमाञ्चल फाइनान्स र नेपाल क्रेडिट एन्ड कमर्स बैंकलाई प्राप्ति गरेको छ । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ रहेको छ । यसमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत छ ।

अमिरप्रताप जेबी राणा

कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जेबी राणा युनिभर्सल समूहका अध्यक्ष तथा अनुभवी व्यवसायी हुन् । उनको नेतृत्वमा समूहअन्तर्गत विभिन्न व्यवसाय सञ्चालन भइरहेका छन्, जसमा ३ हजार ५०० भन्दा बढी व्यक्तिले रोजगारी पाएको विवरण छ । युनिभर्सल समूह जुत्ता उत्पादन तथा बिक्रीका लागि परिचित छ । समूहअन्तर्गत गोल्डस्टार ब्रान्डका खेलकुद जुत्ता र दुई दशकभन्दा लामो समयदेखि बजारमा रहेको हाथी ब्रान्डका हवाई चप्पल उत्पादन तथा बिक्री हुँदै आएका छन् । राणा थोपाल खोला हाइड्रोपावर नेपाल प्रालिका अध्यक्षसमेत हुन् ।

सिंगापुरस्थित जेएसएस इन्टरनेसनल स्कुलबाट उच्च शिक्षा हासिल गरेका राणा उद्यमशीलता प्रवद्र्धनमा पनि सक्रिय छन् । उनी सन् २०१७÷१८ मा इन्टरप्रेन्योर्स अर्गनाइजेसनको नेपाल शाखाका संस्थापक सदस्य तथा अध्यक्ष थिए । साथै, उनी वल्र्ड इन्भाइरोन्मेन्ट सोसाइटी, योङ प्रेसिडेन्ट्स अर्गनाइजेसन, फुटवेयर एसोसिएसन अफ नेपाल र नेपाल उद्योग परिसंघसँग आबद्ध छन् । सामाजिक क्षेत्रमा पनि उनको संलग्नता रहेको छ ।

पशुपति मुरारका

मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारका नेपालको उत्पादनमूलक तथा व्यापारिक क्षेत्रमा स्थापित व्यवसायी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक गरेका छन् । सानै उमेरदेखि पारिवारिक व्यवसायमा संलग्न हुँदै आएका मुरारकाले समूहको व्यवसाय विस्तार र व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

उनको नेतृत्वमा अर्घाखाँची सिमेन्ट प्रालि र पशुपति आइरन एन्ड स्टिल प्रालिलगायत उत्पादनमूलक कम्पनी सञ्चालनमा छन् । त्यस्तै, पीके ट्रेडर्स र प्यारामाउन्ट मोटर्स प्रालिलगायत व्यापारिक कम्पनीसँग पनि उनको आबद्धता छ । मुरारका कुमारी बैंकसँगै एनएमबी बैंक, हिमालयन रिइन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सलगायत वित्तीय संस्थाका प्रवद्र्धकसमेत हुन् । सामाजिक सेवामा समेत सक्रिय मुरारकाको पहलमा लहानमा रामकुमार उमा प्रसाद मुरारका मेमोरियल अस्पताल र जेएस मुरारका बहुमुखी कलेज स्थापना भएका छन् । उनी राउन्ड टेबल नेपाल तथा योङ प्रेसिडेन्ट्स अर्गनाइजेसन नेपालका पूर्वअध्यक्षसमेत हुन् । साथै, काठमाडौंस्थित लायन्स क्लब क्यापिटलका चार्टर सदस्य पनि हुन् ।

महेशप्रसाद पोखरेल

बैंकका सञ्चालक महेशप्रसाद पोखरेलसँग बैंकिङ तथा वित्तीय व्यवस्थापनको अनुभव छ । उनले वाणिज्य विषयमा स्नातक (बीकम) गरेका छन् । सेयर कारोबार तथा वित्तीय व्यवस्थापनमा विशेष अनुभव हासिल गरेका पोखरेलले यसअघि सिद्धार्थ बैंकको सञ्चालकका रूपमा ११ वर्षभन्दा बढी समय काम गरेका थिए । सिद्धार्थ बैंकमा रहँदा उनले रणनीतिक योजना, संस्थागत सुशासन र बैंकको विकाससम्बन्धी काममा योगदान गरेका थिए । हाल कुमारीको सञ्चालकका रूपमा उनले वित्तीय क्षेत्रमा हासिल गरेको अनुभव उपयोग गर्दै संस्थागत विकास, नवीनता र प्रभावकारी वित्तीय अभ्यासमा योगदान गर्दै आएका छन् ।

विजयकुमार श्रेष्ठ 

विजयकुमार श्रेष्ठ वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका व्यवसायी हुन् । उनले व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । उनले आफ्नो व्यावसायिक यात्रा कर्मचारी सञ्चय कोषबाट सुरु गरेका थिए र सन् १९९८ देखि २०२२ सम्म त्यहाँ प्रमुख प्रबन्धकका रूपमा काम गरेका थिए ।

सन् २०२२ अप्रिलदेखि श्रेष्ठ सञ्चयकोष घरजग्गा व्यवस्थापन कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । उनी कुमारी बैंक र सञ्चयकोष घरजग्गा व्यवस्थापन कम्पनीका सञ्चालकसमेत हुन् । श्रेष्ठले यसअघि देवः विकास बैंक, हिमालयन बैंक, राष्ट्रिय बीमा कम्पनी, प्रभु इन्स्योरेन्स र बैंक अफ काठमाडौंमा पनि सञ्चालकका रूपमा काम गरेका छन् । 

राजाराम खड्का

राजाराम खड्का व्यवसाय तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका व्यवसायी हुन् । उनले सन् १९९६ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत शंकरदेव क्याम्पसबाट वित्त विषयमा व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका थिए । उनले प्रथम श्रेणीमा ६६.३० प्रतिशत अंक प्राप्त गरेका थिए । यसअघि उनले मकवानपुर बहुमुखी क्याम्पसबाट लेखा तथा बजारीकरण विषयमा वाणिज्यमा स्नातक गरेका थिए ।

खड्का हाल गौरीशंकर सिमेन्ट प्रालिका कार्यकारी निर्देशक छन् । यसअघि उनले करिब साढे सात वर्ष महाशक्ति सिमेन्ट लिमिटेडको प्रबन्ध निर्देशकका रूपमा काम गरेका थिए । उनको व्यावसायिक अनुभव बैंकिङ क्षेत्रमा पनि फैलिएको छ । उनले इन्टरनेसनल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत र सनराइज बैंक लिमिटेडको वरिष्ठ प्रबन्धकका रूपमा जिम्मेवारी सम्हालेका थिए । साथै, एनआईसी एशिया बैंक, एभरेस्ट बैंक र नबिल बैंकमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।

विजय स्थापित

विजय स्थापित चार्टर्ड एकाउन्टेन्ट तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विशेषज्ञ हुन् । लेखा, लेखापरीक्षण, वित्तीय परामर्श र वित्तीय अपराध नियन्त्रणसम्बन्धी क्षेत्रमा उनले व्यावसायिक अनुभव हासिल गरेका छन् ।

स्थापितले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सन् २०१७ मा चार्टर्ड एकाउन्टेन्सी (सीएपी–थ्री) पूरा गरेका थिए । उनले शंकरदेव क्याम्पसबाट सन् २०१८ मा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । साथै, सन् २०१९ जुनमा प्रमाणित सम्पत्ति शुद्धीकरण विशेषज्ञ (सीएएमएस) कोर्स पूरा गरेका थिए ।

उनी स्थापित रायमाझी एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सका प्रबन्ध साझेदारका रूपमा कार्यरत छन् । उनले विभिन्न संस्थालाई वित्तीय परामर्श तथा लेखापरीक्षण सेवा प्रदान गर्दै आएका छन् । यसअघि उनले जनवरी २०१८ देखि अगस्ट २०२३ सम्म नेपाल एसबीआई बैंकमा काम गरेका थिए । त्यसअघि लुम्बिनी बैंक, पीएम एन्ड एसोसिएट्स तथा केबी चित्रकार एन्ड कम्पनीमा पनि विभिन्न जिम्मेवारी सम्हालेका थिए । स्थापितसँग सार्वजनिक संस्थान, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास परियोजनाको लेखापरीक्षणमा समेत अनुभव छ । उनले नेपाल राष्ट्र बैंक र ज्योति विकास बैंकलगायत संस्थाको वैधानिक लेखापरीक्षणको नेतृत्व गरेका छन् । 

सिमरन अग्रवाल

कुमारी बैंककी सञ्चालक सिमरन अग्रवालसँग व्यवस्थापन, सञ्चालन तथा व्यवसाय विकाससम्बन्धी अनुभव छ । उनले भारतको मुम्बईस्थित एसपी जैन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड रिसर्चबाट सन् २०२१ मेमा पारिवारिक व्यवसाय व्यवस्थापनसम्बन्धी स्नातकोत्तर कार्यक्रम पूरा गरेकी छन् । यसअघि उनले मुम्बईकै नरसी मोंजी कलेजबाट सन् २०१९ मेमा व्यवस्थापनमा स्नातक गरेकी थिइन् । काठमाडौंस्थित रातो बंगलाबाट सन् २०१५ मा सीआईई ए लेभलको अध्ययन पूरा गरेकी अग्रवालको शैक्षिक पृष्ठभूमि स्वदेश र विदेश दुवैसँग जोडिएको छ ।

अग्रवालले स्प्राइटलाइट फुड्स प्रालिमा सञ्चालन तथा बजारीकरण व्यवस्थापक र जेन टाइगर कोम्बुचामा सञ्चालन व्यवस्थापकका रूपमा काम गरेकी छन् । साथै, अल्फाबेट इन्भेस्टमेन्टमा सामाजिक सञ्जाल तथा व्यवसाय विकाससम्बन्धी जिम्मेवारी पनि सम्हालेकी छन् ।

Share News