काठमाडौं । युरोपेली मुलुक जर्मनीमा जेनजी (युवापुस्ता) को नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार राति देशको वित्तीय केन्द्र र्फ्यांकफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै तोडफोड गरेका छन् ।
शिक्षाको गुणस्तर सुधार गर्न र बढ्दो महँगी नियन्त्रण गर्न माग गर्दै जर्मनीका प्रमुख सहरमा हजारौं युवा सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा नकाब लगाएका केही व्यक्तिले र्फ्यांकफर्टका कम्तीमा दुईवटा पसल लुटेका थिए । अन्य पसलमा समेत तोडफोड भएको थियो ।
जर्मनीको ‘जेनजी रेगेल्ट’ नामक अभियान समूहको आयोजनामा बर्लिन, र्फ्यांकफर्ट र म्युनिखसहित ३४ सहरमा प्रदर्शन भएको थियो । समूहले अनिवार्य सैनिक सेवा लागू गर्ने योजनाको विरोध गर्दै शिक्षा क्षेत्रमा थप लगानी गर्न माग गरेको छ ।

र्फ्यांकफर्ट प्रहरीले प्रदर्शनका क्रममा केही पसलका सिसा फुटाइएको र सुरक्षाकर्मी तथा उद्धार टोलीलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको जनाएको छ । प्रहरीले सहरको केन्द्रमा नजान र त्यहाँ रहेका मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।
आयोजकले एक लाख ८२ हजार जनाको सहभागिता हुने अनुमान गरे पनि प्रहरीका अनुसार र्फ्यांकफर्ट, म्युनिख र बर्लिनमा गरी करिब १८ हजार जना मात्रै प्रदर्शनमा सहभागी भएका थिए । आयोजकले भने करिब ३६ हजार सहभागी भएको दाबी गरेका छन् ।

जर्मन अधिकारीहरूले शनिबारका अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेको बताएका छन् । तर, अतिवादी समूहले प्रदर्शनलाई आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने भन्दै सचेत गराएका छन् । ह्याम्बर्गमा भने केही अवरोधमा आगजनी गरिएको थियो ।
प्रदर्शनकारीले युद्ध र जबर्जस्तीको सट्टा शान्ति र स्वतन्त्रताको पक्षमा आवाज उठाएको बताएका छन् । अभियानकी प्रवक्ता लिना फ्रेडरिकले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी हुनुपर्ने तथा अनिवार्य सैनिक सेवा लागू गर्न नहुने बताइन् ।
यसैबीच, सम्भावित हिंसात्मक गतिविधिको आशंकामा जर्मनीका विभिन्न सहरका व्यवसायीले पसलका सिसामा सुरक्षा प्रबन्ध मिलाएका थिए । बर्लिनको महँगा ब्रान्डका पसलहरू रहेका कुर्फ्युर्स्टेन्डाम क्षेत्रमा समेत पसलहरू चाँडै बन्द गर्ने तयारी गरिएको थियो ।

जर्मनीको अर्थतन्त्रले पछिल्लो समय सुस्त वृद्धिको सामना गरिरहेको छ । बढ्दो जीवनयापन खर्च, सार्वजनिक सेवामा दबाब र पेन्सन प्रणालीको चुनौतीले युवा पुस्तामा असन्तुष्टि बढाएको छ ।
प्रदर्शनमा सहभागी १८ वर्षीय विद्यार्थी स्टिभले सरकारलाई युवाका समस्या बेवास्ता नगर्न आग्रह गरेका छन् । माग सम्बोधन नभएसम्म शान्तिपूर्ण रूपमा भेला हुने अधिकार प्रयोग गरिरहने उनको भनाइ छ ।

जर्मनीमा भएको प्रदर्शन यस वर्ष युरोपका विभिन्न देशमा देखिएका युवा नेतृत्वका आन्दोलनको पछिल्लो शृङ्खला हो । युरोपका विभिन्न मुलुकमा बढ्दो महँगी, बेरोजगारी, कमजोर सार्वजनिक सेवा र राजनीतिक नेतृत्वप्रति असन्तुष्टि जनाउँदै युवा पुस्ता सडकमा उत्रिने क्रम बढेको छ ।
सामाजिक सञ्जालको प्रयोगमार्फत संगठित भएका युवाले शिक्षा, रोजगारी, जीवनयापनको खर्च र राजनीतिक जवाफदेहिताका विषयलाई आन्दोलनको मुख्य मुद्दा बनाउँदै आएका छन् ।
यसअघि सर्बियामा विद्यार्थी नेतृत्वको आन्दोलनले लामो समयदेखि सत्तामा रहेको नेतृत्वलाई निर्वाचनमार्फत हटाउन भूमिका खेलेको थियो । त्यहाँ भ्रष्टाचार र सरकारी जवाफदेहिताको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलनले व्यापक जनसमर्थन पाएको थियो ।
यस्तै, फ्रान्समा पनि युवा तथा अन्य प्रदर्शनकारीले सरकारका नीति र बढ्दो जीवनयापन खर्चको विरोधमा प्रदर्शन गरेका थिए । ती प्रदर्शनका क्रममा केही स्थानमा हिंसा, आगजनी र लुटपाटका घटना भएका थिए ।
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने जर्मनीमा पनि अहिले युवा पुस्ता बढ्दो आर्थिक दबाब र भविष्यप्रतिको अनिश्चिततासँग जुधिरहेको छ । शिक्षा क्षेत्रमा पर्याप्त लगानी नहुनु, जीवनयापन खर्च बढ्नु र अनिवार्य सैनिक सेवाको सम्भावित व्यवस्थाले युवामा असन्तुष्टि बढाएको छ । यही असन्तुष्टि प्रदर्शनका रूपमा सडकमा देखिएको हो ।
अन्य पठनीय सामग्रीहरू :
इजरायलको चुनावी नतिजा र अबका चुनौती
चिनियाँ अर्बपतिहरूमा नागरिकता त्याग्नेको संख्या बढ्दै
एम्बाप्पेको अभिव्यक्तिले ला–लिगाको ४० करोड युरोको कारोबार जोखिममा
ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकाल अहिलेसम्मकै कठिन