काठमाडौं । गत वर्षको भदौ २३ गते चर्किएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानका थुप्रै संरचनामा ठूलो क्षति पुगेको थियो ।
सिंहदरबार, अदालतदेखि निजी व्यवसायीका संरचनासम्ममा क्षति पुगेको थियो । पर्यटकीय पूर्वाधारमा ठूलो धक्का पुर्याएको थियो ।
आन्दोलनका क्रममा क्षति पुगेका धेरै संरचना अझै पुनः निर्माण हुन सकेका छैनन् । केही सञ्चालनमा आइसकेका छन् भने केही सञ्चालनमा आउने तयारीमा छन् । होटल व्यवसायीहरूका अनुसार आन्दोलनमा क्षति पुगेका साना, मझौला तथा आंशिक क्षति बेहोरेका करिब ८० प्रतिशत होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आइसकेका छन् ।
तर काठमाडौंमा ठूलो लगानीमा निर्माण भएका दुई ठूला अन्तर्राष्ट्रिय ब्रान्डका होटल भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।
नक्सालस्थित हिल्टन काठमाडौं र बौद्धस्थित हायात रिजेन्सी अझै पनि भग्नावशेष र आंशिक पुनः निर्माणको छायाँबाट बाहिर निस्कन सकेका छैनन् । नेपालमा वैदेशिक लगानी र उच्चस्तरीय पर्यटनको प्रतीक मानिएका यी दुवै तारे होटलहरू पूर्ण रूपमा ठप्प रहँदा विश्व बजारमा छाएको नकारात्मक सन्देश कायम नै छ ।
साढे आठ अर्ब रुपैयाँभन्दा बढी लगानीमा एक वर्षअघि मात्रै सञ्चालनमा आएको हिल्टन आगजनी र लुटपाटबाट पूर्ण रूपमा ध्वस्त भएको थियो । अहिले बाहिरी संरचनाको सफाइ तथा केही मर्मतका काम सुरु भए पनि होटलको भित्री भागमा जलेका संरचनालाई पूर्ववत् अवस्थामा फर्काउन लामो समय लाग्ने देखिन्छ ।
उक्त होटलले पाँच अर्ब रुपैयाँको बीमा दाबी गरेको छ । यद्यपि बीमा दाबीको मूल्यांकन तथा दाबी भुक्तानीमा भएको ढिलाइका कारण होटलको पुनरुत्थानको काम अझै अघि बढ्न सकेको छैन ।
त्यस्तै, बौद्धस्थित हायात रिजेन्सीमा पनि जेनजी आन्दोलनकारीहरूले आगजनी, तोडफोड र लुटपाट गरेका थिए । आन्दोलनका क्रममा होटलका ७० भन्दा बढी गेस्ट रुम, मुख्य लबी, रिसेप्सन, रेस्टुरेन्ट, ब्याङ्क्वेट हल तथा कार्यालय संरचनामा ठूलो क्षति पुगेको थियो ।
होटल व्यवस्थापन तारागाउँ रिजेन्सी होटल्सले संरचनात्मक क्षतिको मूल्यांकनपछि पूर्ण मर्मत–सम्भार तथा स्तरोन्नतिको काम अघि बढाएको थियो । होटललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन कम्तीमा एक वर्ष वा सोभन्दा बढी समय लाग्ने अनुमान गरिएको थियो ।
लामो समयसम्म सञ्चालनमा आउन नसक्ने र आर्थिक भार बढ्दै गएपछि व्यवस्थापनले ठूलो संख्यामा कर्मचारीलाई नियमानुसारको सुविधा दिएर कटौती गरेको थियो । हाल होटल पुनःनिर्माण तथा स्तरोन्नतिको प्रक्रियामा छ ।
पुनःनिर्माण तथा मर्मत-सम्भारका लागि होटलले करिब दुई अर्ब रुपैयाँ ऋण स्वीकृत गराई काम अघि बढाइरहेको छ । त्यसैगरी, काठमाडौंको बालुवाटारस्थित वर्णवास म्युजियम होटल पनि आंशिक रूपमा सञ्चालनमा आएपनि पूर्ण रूपमा आउन सकेको छैन ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा यो होटललाई पनि प्रदर्शनकारीहरूले निसाना बनाउँदै आगजनी र तोडफोड गरेका थिए । होटलका सञ्चालक तथा पूर्वसांसद राजेन्द्र बजगाईंका अनुसार आन्दोलनका क्रममा प्रतिशोध साँध्ने नियतले सामाजिक सञ्जालमार्फत उक्साएर होटलमा आगजनी गराइएको थियो ।
आगजनीका कारण होटलको भौतिक संरचना, बहुमूल्य सजावट तथा इन्टेरियरमा क्षति पुगेको थियो । सञ्चालक बजगाईंले घटनालगत्तै पुनः निर्माण योजनासहित मर्मत–सम्भार अगाडि बढाएका थिए ।
उपत्यकाबाहेक काठमाडौं बाहिरका विभिन्न स्थानका होटलहरूमा क्षति पुगेको थियो । प्रदर्शनकारीले काठमाडौं उपत्यकाका होटलसहित पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, तुल्सीपुर, महोत्तरीलगायत ठाउँमा सञ्चालनमा रहेका होटलहरूमा तोडफोड तथा आगजनी गरेका थिए ।
पोखराको लेकसाइड क्षेत्रमा रहेका होटल सरोवर प्रालि, होटल एड्म, होटल पोखरा गुडविल प्रालि, वर पिपल रिसोर्ट प्रालि, बगैंचा रिसोर्ट एण्ड स्पा प्रालिलगायतमा क्षति पुगेको थियो ।
त्यस्तै, पूर्वी नेपालको पाँचतारे होटल मेची क्राउनमा क्षति पुगेको थियो । उक्त होटलको रेष्टुरेन्ट, स्पा, स्वीमिङ, पुल र करिब १५ वटा कोठाहरूमा क्षति पुगेका थिए । अहिले यो होटल सञ्चालनमा आइसकेको छ ।
होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार जेनजी आन्दोलनकारीले ३० भन्दा बढी पर्यटकीयस्तरीय होटलमा क्षति पुर्याएका थिए । जसमा करिब २५ अर्बको नोक्सानी भएको संघले विज्ञप्ति नै जारी गरेको थियो ।
प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका होटलहरूमा काम गर्ने करिब दुई हजार कामदारको रोजीरोटी गुमेको अनुमान थियो । पर्यटनको सिजनमै आन्दोलन हुँदा ९० प्रतिशतसम्म होटल बुकिङ बन्द भएको व्यवसायीहरुले बताएको थियो । त्यस्तै, होटलको अकुपेन्सी घटेर २० प्रतिशतमा खुम्चिएको थियो ।
पर्यटन क्षेत्रलाई अघि बढाउने स्पष्ट योजनाको अभाव
जेनजी आन्दोलनको एक वर्ष बितिसक्दा पनि होटल तथा पर्यटन व्यवसायीको ‘बिजनेस कन्फिडेन्स’मा सुधार आउन नसकेको हानका अध्यक्ष शाहले बताएका छन् ।
क्षतिग्रस्त होटल पुनःनिर्माण गर्नु मात्रै पर्याप्त नभएको भन्दै उनले व्यवसायीलाई आगामी दिनमा लगानी र व्यवसाय विस्तारका लागि उत्साहित बनाउने वातावरण आवश्यक रहेको बताए । ‘हामी कसरी अगाडि बढ्छौं भन्ने स्पष्ट खाका हुने हो भने व्यवसायी अझ उत्साहित हुन्छन्,’ उनले भने । शाहले आन्दोलनपछि नयाँ सरकार गठन भए पनि पर्यटन क्षेत्रलाई अघि बढाउने स्पष्ट योजना आउन नसकेको बताए ।
सरकारले अबको पाँच वर्षमा पर्यटन क्षेत्रमा के गर्ने भन्ने स्पष्ट योजना दिनुपर्ने उनको भनाइ छ । ‘हामीले के पायौं, के गुमायौं र अब कसरी अगाडि बढ्ने भन्ने योजना सरकारसँग हुनुपर्छ,’ उनले भने । राज्यको संयोजनकारी भूमिका के हो भन्ने कुरा व्यवसायीले खोजिरहेको उनले बताए ।
नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको भन्दै शाहले भारत र चीनबाट मात्रै पर्याप्त पर्यटक आकर्षित गर्न सके वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने सुनाए । तर त्यसका लागि व्यवसायीको विश्वास बढाउने र लगानीको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
पर्यटन क्षेत्रका लागि ‘कालो दिन’
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी.आर भण्डारी (शंकर) ले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् ।
उनले आन्दोलनका क्रममा होटल तथा पर्यटकीय क्षेत्रमा आगजनी हुनु नेपालको पर्यटन क्षेत्रका लागि ‘कालो दिन’ का रूपमा स्मरण गर्नुपर्ने बताए । ‘जुन हिसाबले आगो लगाइयो, त्यो एकदमै गलत थियो, यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै पछाडि धकेल्यो,’ उनले भने ।
आन्दोलनका कारण विश्वभर नेपाल असुरक्षित रहेको सन्देश गएको र त्यसको असर पर्यटन बुकिङमा परेको भण्डारीले स्मरण गरे । उनका अनुसार धेरै पर्यटकले नेपाल भ्रमणको योजना स्थगित तथा रद्द गरेका थिए । कतिपय पर्यटक भविष्यमा नेपाल नफर्किन सक्ने अवस्थासमेत सिर्जना भएको उनको भनाइ छ ।
भण्डारीले निजी संरचनामा समेत राजनीतिक असन्तुष्टिका नाममा आगजनी र तोडफोड गर्ने अवस्था सिर्जना हुनु तत्कालीन राजनीतिक परिस्थितिको परिणाम भएको बताए । आन्दोलनका क्रममा क्षति पुगेका केही संरचना पुनःनिर्माणको क्रममा रहेको र केही मर्मत–सम्भारपछि पुनः सञ्चालनमा आइसकेको उनले जानकारी दिए ।
आफ्नै सुन्धारास्थित होटल प्रेसिडेन्टमा समेत भदौ २४ गते केही व्यक्ति प्रवेश गरी तोडफोड गरेको उनले बताए । उक्त होटल मर्मत–सम्भार गरी पुनः सञ्चालनमा ल्याइसकेको छ ।
जेनजी आन्दोलनपछि पनि नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किदै थियो । तर पुनः गत भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको अकस्मात् बाढीको कारण यो क्षेत्रलाई पुनः धक्का पुर्याएको छ ।
पछिल्लो समय रसुवाको बाढीपछि नेपालका बारेमा अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश फैलिँदा पर्यटन क्षेत्रमा थप असर पुगेमा व्यवसायीहरू चिन्तित छन् ।
नेपाल सुरक्षित र खुला रहेको सन्देश दिन पर्यटन बोर्ड, मन्त्रालय तथा व्यवसायीले प्रयास गरिरहेका बेला होटल तथा रेस्टुरेन्टलाई ग्यास उपलब्ध नहुने जस्ता विषयले गलत सन्देश प्रवाह भइरहेको व्यवसायीहरूको भनाइ छ ।
व्यवसायीहरूका अनुसार यो विषयले पर्यटकको बुकिङसमेत रद्द हुन थालेका छ ।
पर्यटन क्षेत्रमा साना विषयले समेत ठूलो प्रभाव पार्ने भएकाले सरकारले समग्र पर्यटन क्षेत्रलाई ध्यानमा राखेर नीतिगत तथा व्यावहारिक वातावरण बनाउनुपर्नेमा व्यवसायीहरूको माग छ ।