स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्पछिको स्वास्थ्य व्यवस्थापनलाई राहत र तत्कालीन प्रतिकार्यमा मात्र सीमित नराखी दीर्घकालीन स्वास्थ्य तयारी,प्रभावकारी सूचना प्रणाली,औषधि आपूर्ति र स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्ने गरी प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ । मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको उपस्थितिमा बुधबार आयोजित विपद्पछिको स्वास्थ्य प्रतिकार्य तथा पुनर्स्थापनासम्बन्धी विज्ञ परामर्श तथा सुझाव संकलन बैठकमा विपद्पछिको स्वास्थ्य अवस्था,देखिएका चुनौती तथा आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्नुपर्ने रणनीतिबारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग विस्तृत छलफल गरिएको हो । बैठकमा विभिन्न स्वास्थ्य परिषद्,व्यावसायिक संघ–संस्था तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निकायका अध्यक्ष तथा प्रतिनिधि,पूर्व स्वास्थ्य सचिव तथा महानिर्देशक,स्वास्थ्य सेवा विभागअन्तर्गतका सम्बन्धित महाशाखा तथा निर्देशनालयका प्रतिनिधि,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक,स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख,स्वास्थ्य बीमा बोर्ड लगायतका प्रतिनिधि तथा जनस्वास्थ्य विज्ञहरूको सहभागिता थियो । छलफलमा विपद्पछि देखिन सक्ने संक्रामक,पानीजन्य तथा खाद्यजन्य रोगको जोखिम,डेंगु,हैजा तथा छालासम्बन्धी रोगको निगरानी र रोकथाम,मानसिक स्वास्थ्य, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता,स्वास्थ्य संस्थाको निरन्तर सञ्चालन तथा आवश्यक जनशक्तिको तत्काल परिचालन लगायतका विषयमा विज्ञहरूले सुझाव दिएका थिए । त्यसैगरी,विपद्पछिको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आघातपछिको मानसिक तनाव,मानसिक स्वास्थ्य सेवाको विस्तार,विद्यालयस्तरमा मानसिक स्वास्थ्य कार्यक्रम तथा समुदायमा जनस्वास्थ्य सचेतना अभिवृद्धि गर्नुपर्नेमा समेत विज्ञहरूले जोड दिएका थिए । छलफलमा विपद् व्यवस्थापनका लागि छुट्टै तथा पर्याप्त बजेटको व्यवस्था,आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने स्रोतको सुनिश्चितता तथा जोखिममा रहेका परिवार र समुदायलाई लक्षित गरी राहत तथा स्वास्थ्य सेवाको एकीकृत प्याकेज विकास गर्नुपर्ने सुझाव प्राप्त भएको थियो । बैठकमा सहभागी विज्ञ तथा सरोकारवालाले विपद् आएपछि मात्र प्रतिक्रिया जनाउनेभन्दा विपद् आउनुअघि नै तयारी गर्ने,विपद्को समयमा प्रभावकारी समन्वय गर्ने र विपद्पछि स्वास्थ्य तथा पुनर्स्थापनाको कामलाई दीर्घकालीन योजनासहित अघि बढाउने गरी स्वास्थ्य प्रणालीलाई थप सक्षम र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका थिए । मन्त्रालयले बैठकबाट प्राप्त सुझावलाई आगामी कार्ययोजना तथा नीति निर्माणमा समेट्दै विपद्पछिको स्वास्थ्य प्रतिकार्य, पुनर्स्थापना र दीर्घकालीन स्वास्थ्य तयारीलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने
काठमाडौं । जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा जिल्ला र कैलालीका तीन स्थानीय तहमा जेई विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिने भएको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा यी क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । पहिलो चरणअन्तर्गत झापा जिल्लाका सबै स्थानीय तह तथा कैलालीका धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेई विरुद्धको खोप लगाइने जनाइएको छ । अभियानका लागि आवश्यक जेई खोप काठमाडौंस्थित केन्द्रीय खोप भण्डारण केन्द्रबाट सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको छ । खोप उपलब्ध भएपछि स्थानीय तह र स्वास्थ्य संस्थामार्फत अभियान सञ्चालन गरिनेछ ।
हरेक सूचनामा तुरुन्तै फोन हेर्ने बानीले बढाउँछ मानसिक तनाव, कसरी जोगिने ?
काठमाडौं । स्मार्टफोन अहिले दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । फोनमा आउने सन्देश, सामाजिक सञ्जालका सूचना, इमेल तथा विभिन्न एपका सूचनाले मानिसको ध्यान पटक-पटक फोनतर्फ तान्ने गर्छ । मोबाइलमा सूचना आउनेबित्तिकै फोन हेर्ने बानी धेरैमा हुन्छ । तर, यस्तो बानी लामो समयसम्म दोहोरिँदा मानसिक शान्ति, एकाग्रता र काम गर्ने क्षमतामा असर पर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । फोनमा आउने प्रत्येक ‘पिङ’, कम्पन वा पर्दामा देखिने सूचनाले मानिसको ध्यान गरिरहेको कामबाट केही समयका लागि भए पनि अन्यत्र मोड्न सक्छ। कतिपय अवस्थामा फोन नछोएरै सूचना आएको आवाज वा कम्पनले पनि एकाग्रता भंग गर्न सक्छ । फोनमा अचानक आवाज, कम्पन वा सूचना आउँदा मानिसको ध्यान स्वाभाविक रूपमा त्यसतर्फ जान्छ । यसको कारण सूचनाको पछाडि कुनै महत्त्वपूर्ण सन्देश, व्यक्तिको फोन, इमेल वा सामाजिक सञ्जालको गतिविधि हुन सक्ने सम्भावना हो । विशेषगरी आफूलाई व्यक्तिगत रूपमा महत्त्वपूर्ण लाग्ने फोनको आवाजले दिमागको ध्यान छिटो तान्न सक्छ । त्यसैले मोबाइलको सामान्य आवाजभन्दा आफ्नै फोनबाट आउने सूचना मानिसका लागि बढी प्रभावकारी हुन सक्छ । एकपछि अर्को सूचना आउँदा मानिसलाई सधैं उपलब्ध र सम्पर्कमा रहनुपर्ने दबाब महसुस हुन सक्छ । विशेषगरी कार्यालयका इमेल, सन्देश र सामाजिक सञ्जालका सूचनाले हरेक समय जवाफ दिनुपर्ने जस्तो अनुभूति गराउन सक्छ । हरेक सूचना नै प्रत्यक्ष रूपमा चिन्ताको कारण हुन्छ भन्ने निष्कर्ष निकाल्न भने मिल्दैन । तर, लगातार ध्यान भंग हुनु, पटक-पटक फोन हेर्नु र केही छुट्ने डरजस्ता कारणले मानसिक दबाब बढ्न सक्छ । एक अध्ययनमा दिनमा सीमित पटक मात्र सूचना जाँच गर्ने मानिसमा सामान्य रूपमा सूचना जाँच गर्नेको तुलनामा तनाव कम देखिएको थियो । तर, सबै सूचना पूर्ण रूपमा बन्द गर्दा केही मानिसमा महत्त्वपूर्ण कुरा छुट्ने डर र चिन्ता बढ्न सक्ने पनि अध्ययनले देखाएको छ । यसले समस्या समाधान गर्न फोन नै पूर्ण रूपमा बन्द गर्नुपर्ने आवश्यकता नहुन सक्ने देखाउँछ । आवश्यक सूचनामात्र आउने गरी मोबाइलको सूचना व्यवस्थापन गर्नु व्यावहारिक उपाय हुन सक्छ । मोबाइलको सूचना आउने आवाजले मानिसको ध्यान मात्र होइन, काम पूरा गर्ने गतिमा समेत असर पार्न सक्छ । एक अध्ययनअनुसार काम गरिरहेका बेला सूचना आएको आवाज सुन्दा मानिसको प्रतिक्रिया दिने गति प्रभावित हुन सक्छ । त्यसले कुनै काम पूरा गर्न लाग्ने समयसमेत बढाउन सक्छ । तर, सूचनाले पार्ने असर सबै अवस्थामा समान हुँदैन। सामान्य र सजिलो काम गर्दा मानिस छिटो विचलित हुन सक्छन् । धेरै एकाग्रता आवश्यक पर्ने कठिन काममा भने कतिपय मानिसले सूचनालाई बेवास्ता गर्न सक्छन् । समस्या सूचनाको आवाजमा मात्र सीमित छैन । बारम्बार सूचना जाँच गर्ने बानीले मानिसको व्यवहारमा नै परिवर्तन ल्याउन सक्छ । बिस्तारै नयाँ सन्देश वा सूचना नआए पनि मोबाइल हेर्ने इच्छा हुन थाल्छ । कतिपय मानिसले कामका बीचमा अनावश्यक रूपमा लक स्क्रिन हेर्ने, सामाजिक सञ्जाल खोल्ने वा नयाँ सूचना आएको छ कि छैन भनेर जाँच गरिरहन्छन् । अर्थात्, कतिपय अवस्थामा फोनले मानिसलाई बोलाइरहेको हुँदैन । बरु मानिसको दिमाग नै अर्को सूचना आउने प्रतीक्षामा हुन्छ । ‘नोटिफिकेसन एन्जाइटी’ भनेको के हो ? ‘नोटिफिकेसन एन्जाइटी’ कुनै मानक चिकित्सकीय रोगको नाम होइन । लगातार आउने सूचना, सन्देश वा मोबाइल अपडेटका कारण महसुस हुने बेचैनी वा मानसिक दबाबलाई सामान्य रूपमा यस शब्दले जनाउने गरिन्छ । यसका केही सामान्य संकेत यस्ता हुन सक्छन् : सूचना आउनेबित्तिकै फोन जाँच गर्ने । सन्देशको जवाफ दिन ढिला हुँदा बेचैनी हुने । पटक–पटक मोबाइलको पर्दा हेर्ने । कुनै सूचना नआए पनि फोन जाँच गर्ने । काम गरिरहेको समयमा सामाजिक सञ्जालका गतिविधि हेर्ने । मोबाइल शान्त अवस्थामा हुँदा पनि सूचना आउने प्रतीक्षामा रहने । स्मार्टफोनका सूचनाले हाम्रो दैनिक जीवनलाई सहज बनाएका छन् । तर, प्रत्येक सूचना हाम्रो ध्यानका लागि एउटा सानो अवरोध पनि बन्न सक्छ । त्यसैले आवश्यक सूचना मात्र सक्रिय राख्ने, काम गर्ने समयमा अनावश्यक सूचना बन्द गर्ने र मोबाइल जाँच गर्ने निश्चित समय तय गर्ने बानी उपयोगी हुन सक्छ । मुख्य कुरा फोन प्रयोग नगर्नु होइन, फोनले आफ्नो ध्यान कहिले र कति समय नियन्त्रण गर्ने भन्नेमा सचेत हुनु हो ।