भोटेकोशी बाढीपछि नेपाल टेलिकमको पहिलो चरणको फाइबर सेवा पुनःसञ्चालन

काठमाडौं । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रको नेपाल टेलिकमको फाइबर नेटवर्क पहिलो चरणमा पुनःसञ्चालन भएको छ ।

बाढीका कारण रसुवागढी र बेत्रावतीमा रहेका एक–एक गरी दुई वटा ओएलटी, रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीन गरी पाँच वटा एफडीसी तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो।

यसबाट ती क्षेत्रमा रहेका १,५४४ एफटीटीएच लाइन पूर्ण रूपमा अवरुद्ध भएका थिए।

नेपाल टेलिकमले विपद् लगत्तै प्राविधिक जनशक्ति र आवश्यक स्रोत–साधन परिचालन गरी मर्मत कार्यलाई तीव्र बनाएको जनाएको छ । हालसम्म प्रभावितमध्ये १,०९३ वटा फाइबर लाइन पुनःसञ्चालन भइसकेका छन् ।

कम्पनीका अनुसार पहिलो चरणको सेवा पुनःस्थापना कार्य सम्पन्न भएको छ । बाँकी रहेका लाइन भने सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको स्थिति, प्राविधिक सम्भाव्यता र सेवाग्राहीको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइनेछ ।

नेपाल टेलिकमले प्राकृतिक विपद्को कठिन परिस्थितिमा पनि सेवाग्राहीलाई छिटो र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ । साथै सेवा अवरुद्ध भएका बेला धैर्यता र विश्वासका साथ साथ दिएकोमा सेवाग्राहीप्रति आभार व्यक्त गरेको छ । 

Share News