बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता र आवश्यकताअनुसार थप सेवा उपलब्ध गराउने निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागेको हो । यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको अवस्थामा मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा थप आवश्यक रहेकाले अर्को टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ । टोलीमा कान्ति बाल अस्पतालकी ११औँ तहकी बालरोग विशेषज्ञ डा. बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ र डा. श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. धनबहादुर रहेका छन् । टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ । टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइनेछ । बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री परिचालन गर्दै आएको छ ।
सरकारले अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने
काठमाडौं । बागमती प्रदेश सरकारले अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने भएको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा अभिभावक गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले भदौ १८ गते बालबालिकाको आवास, विद्यालय शिक्षा तथा आवश्यक शैक्षिक व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको हो । प्रदेश सरकारले राहत वितरणलाई छिटो र प्रभावकारी बनाउन प्रदेश विपद् व्यवस्थापन कोषको कार्यविधि संशोधन गरी राहत रकम जिल्ल तथा स्थानीय तहमा प्रत्यक्ष पठाउन सकिने व्यवस्था समेत गरेको छ । भदौ १० गते बिहान आएको बाढीमा रसुवा,नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो । हालसम्म १३ सय बढीको शव फेला परिसकेको छ ।
परोपकार प्रसूति अस्पतालमा ६० प्रतिशत स्टाफ नर्स दरबन्दी खाली
काठमाडौं । देशकै प्रमुख प्रसूति अस्पतालमा दैनिक दर्जनौं महिलाले सुरक्षित प्रसूति सेवाका लागि उपचार लिइरहेका छन् । तर त्यही अस्पतालमा बिरामीको चापअनुसार आवश्यक पर्ने नर्सिङ जनशक्ति व्यवस्थापनमा सरकार भने उदासीन देखिएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा संघीय सरकारअन्तर्गत स्वीकृत स्टाफ नर्सका २० दरबन्दीमध्ये १२ पद लामो समयदेखि रिक्त छन् । सरकारबाट स्वीकृत दरबन्दीको ६० प्रतिशत नर्सिङ पद खाली छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पठाएको पत्रले यो अवस्था पुष्टि गर्छ । पत्रमा पाँचौं तहका स्टाफ नर्सका २० स्वीकृत दरबन्दीमध्ये ८ पद मात्र पूर्ति भएको र १२ पद रिक्त रहेको उल्लेख छ । अस्पतालमा आउने सेवाग्राहीको चापको तुलनामा नर्सिङ जनशक्ति न्यून हुँदा गुणस्तरीय सेवा प्रवाहमा बाधा पुगेको भन्दै निर्देशक अधिकारीले रिक्त पदमा तत्काल पदपूर्ति गर्न मन्त्रालयसँग आग्रह गरेका छन् । डा. अधिकारीले साउन ८ गते पत्र लेखे पनि हालसम्म सरकारले दरबन्दीअनुसार नर्सिङ कर्मचारी पठाएको छैन । अस्पतालमा वार्षिक करिब २३ हजार प्रसूति हुने गरेका छन् । औसत दैनिक करिब ६१ प्रसूति हुने भए पनि कतिपय दिनमा यो संख्या ७० देखि ८० सम्म पुग्ने गरेको अस्पताल प्रशासनको तथ्यांक छ । देशभरबाट जटिल प्रसूति तथा स्त्रीरोगका बिरामीसमेत आउने केन्द्रीय अस्पतालले प्रसूति सेवासँगै आकस्मिक उपचार, शल्यक्रिया र नवजात शिशु उपचारको जिम्मेवारीसमेत सम्हाल्दै आएको छ । प्रसूति सेवाको यो चापबीच अस्पतालको ओपीडीमै वार्षिक करिब २ लाख बिरामी पुग्ने गरेका छन् । दैनिक औसत करिब ५३३ बिरामीले ओपीडी सेवा लिने अवस्थामा आकस्मिक कक्ष, भर्ना भएका बिरामी, प्रसूति वार्ड, शल्यक्रिया र नवजात शिशु उपचारमा समेत नर्सिङ जनशक्ति खटाउनुपर्ने बाध्यता छ । तर यति ठूलो सेवा भार धानिरहेको अस्पतालमा सरकारकै स्वीकृत २० नर्सिङ दरबन्दीमध्ये १२ पद खाली छन् । अस्पतालमा नर्सिङतर्फ कुल १०० दरबन्दी रहेकामा ८० दरबन्दी अस्पताल विकास समितिअन्तर्गत र २० दरबन्दी संघीय सरकारअन्तर्गत रहेको डा. अधिकारीले जानकारी दिए । विकास समितिअन्तर्गतका कर्मचारीहरू सेवा निवृत्त हुँदै जाँदा नर्सिङ जनशक्ति घट्दै गएको निर्देशक अधिकारी बताउँछन् । उनका अनुसार स्थायी दरबन्दी बढाएर जनशक्ति अभाव सम्बोधन गर्ने प्रयास भइरहेको छ ।