विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
काठमाडौं । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । संयुक्त राष्ट्र संघले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेअनुरुप सन् २०१६ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैङ्गिक असमानता रहँदै आएको छ । महिलाहरूले उच्च शिक्षामा सहभागिता विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरे तापनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व अझै पनि न्यून छ । लैङ्गिक समानता संयुक्त राष्ट्र संघको प्रमुख ‘एजेन्डा’मध्ये एक रहँदै आएको छ । महिला तथा बालिकाहरूको सशक्तीकरण र लैङ्गिक समानताले विश्वको आर्थिक विकासमा मात्र नभई दिगो विकासका लागि २०३० कार्यसूची अन्तर्गतका सबै लक्ष्य तथा उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने उक्त विश्व संस्थाले बताउँदै आएको छ । महिलासम्बन्धी राष्ट्र सङ्घीय आयोगले सन् २०११ मार्च १४ मा सम्पन्न आफ्नो ५५औँ अधिवेशनमा शिक्षा, तालिम तथा विज्ञान र प्रविधिमा महिला तथा बालिकाहरूको पहुँच र सहभागिता विस्तार तथा पूर्ण रोजगारी र सम्मानजनक काममा महिलाको समान पहुँच प्रवर्द्धन गर्ने विषयमा सहमत निष्कर्षसहितको प्रतिवेदन पारित गरेको थियो । त्यसैगरी, सन् २०१३ डिसेम्बर २० मा महासभाले विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी प्रस्ताव पारित गर्दै सबै उमेर समूहका महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि र नवप्रवर्तनमा पूर्ण तथा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अपरिहार्य भएको बताएको थियो । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा प्रत्येक बालिकाले आफ्नो भविष्यको कल्पना गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने तथा प्रत्येक महिलाले आफ्नो वैज्ञानिक करियरमा निरन्तर प्रगति गर्न सक्ने अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । यस अवसरमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले वक्तव्य जारी गर्दै विज्ञान तथा प्रविधिमा महिला तथा बालिकाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
एआई प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराइने
काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबिच सम्झदारी पत्रमा हस्ताक्षर गरिएको छ । सोमबार सम्झदारी पत्रमा कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहाल र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौताको उद्देश्य नेपाली किसानलाई डिजिटल प्लेटफर्ममार्फत कृषि सम्बन्धी समस्या समाधानमा सजिलो बनाउनु हो । कनेक्ट किसानले विकसित गरेको भ्वाइस बेस र टेक्स्ट बेस एआई एडभाइजरी प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पुर्याउनेछ । यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्या जस्तै मल, बजार, रोगरकीरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन् । कनेक्ट किसानका निर्देशक राजन दाहालले भारतमा प्रविधिमैत्री किसानले एआईको प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका छन् भने नेपालमा पनि यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई ठूलो फाइदा हुने बताए । उनका अनुसार किसानहरूले यदि नीतिगत समस्या वा बजारसँग सम्बन्धित चुनौती देखेका छन् भने, वा खेतीमा रोग–कीरा सम्बन्धी अनुसन्धान आवश्यक छ भने उनीहरूले यी जानकारीहरू एआई प्रविधिको माध्यमबाट पठाउन सक्नेछन् । पठाइएको जानकारी सङ्कलन गरी एनएएएमपीले आवश्यक कदम चाल्न प्रयोग गरिनेछ । उनले भने, 'हाम्रो एआई प्रणालीले किसानलाई व्यक्तिगत कृषि सल्लाह दिन सक्षम छ ।' राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले किसानलाई डिजिटल प्लेटफर्ममा पुर्याउन र समस्या समाधानमा सहयोग पुर्याउन कनेक्ट किसानसँग सम्झौता गरिएको बताए । उनले भने, 'किसानले आफ्नो खेतबारीमा जुनसुकै समस्या आए पनि तत्काल समाधान पाउन सक्नेछन् । साथै, ठूला वा जटिल समस्याहरूको लागि प्रविधिक र अनुसन्धान टोलीले पनि सहयोग गर्नेछ ।' यस समझौताको माध्यमबाट किसानको समस्या दिर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ। कृषि नीतिगत चुनौती जस्तै बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापन जस्ता समस्या पनि एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताए । कनेक्ट किसानको एआई प्रविधि भनेको कृषकको आवश्यकता अनुसार कृषि सल्लाह, रोगरकीरा व्यवस्थापन, मल र बीउ सुझाव, बजार जानकारी लगायतका सेवाहरू उपलब्ध गराउने डिजिटल प्लेटफर्म हो। यो प्रणालीले किसानलाई आफ्नो खेतमा प्रत्यक्ष निर्णय लिन सजिलो बनाउनेछ र कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
१५ वर्ष नपुग्दै बालबालिका चुरोटको लतमा, सबैभन्दा बढी उपत्यकामा
काठमाडौं । नेपालमा १५ वर्ष नपुग्दै बालबालिका चुरोटको लतमा लाग्ने गरेको पाइएको छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सबैभन्दा बढी ५.५ प्रतिशत काठमाडौं उपत्यकाका किशोरकिशोरीहरू १५ वर्ष नपुग्दै चुरोट लगायतको सुर्तीजन्य पदार्थको लतमा फसेको पाइएको हो । यस्तै, गण्डकी प्रदेशको ग्रामीण क्षेत्रमा ४.४ प्रतिशत किशोरकिशोरी चुरोटको लतमा छन् । जहाँ सहरी क्षेत्रका ३.८ प्रतिशत १५ वर्ष नपुगेका किशोरकिशोरी लतमा छन् । यस्तै, लुम्बिनी प्रदेशको सहरी क्षेत्रमा २.४ र ग्रामीण क्षेत्रमा १.१ प्रतिशत किशोरकिशोरी १५ वर्ष नपुग्दै चुरोट सेवन गरिरहेको पाइएको छ । यस्तै कर्णाली प्रदेशको ग्रामीण क्षेत्रमा ३.८ र सहरी क्षेत्रमा १.९, सुदूरपश्चिम प्रदेशमा ग्रामीण क्षेत्रमा ४.१ र सहरी क्षेत्रमा ३.४ प्रतिशत किशोर किशोरी १५ वर्ष नपुग्दै चुरोटको कुलतमा लागेका छन् । यसरी चुरोट सेवन गर्ने किशोरकिशोरीमध्ये ६.४ प्रतिशत स्कुल नगएका, कक्षा १ देखि ५ सम्म पढेका ५.९ प्रतिशत रहेका छन् भने धनीभन्दा गरीब परिवारका किशोरकिशोरी अझ बढी रहेको देखाएको छ । अति गरिब वर्गका २५.५ प्रतिशत सुर्तीजन्य पदार्थको कुलतमा लाग्दा अति धनी वर्गका १६.१ प्रतिशत मात्रै सुर्तीजन्य पदार्थको कुलतमा लागेको देखाएको छ । ५.१ प्रतिशत महिला कुनै न कुनै सुर्तीजन्य पदार्थको लतमा नेपाल समग्ररूपमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको संख्या बढेको छ । अझ रोचक त के भने अहिले १५ देखि ४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिला कुनै न कुनै सुर्तीजन्य पदार्थको लतमा लागिरहेको पाइएको छ । तम्बाखु, चुरोट, बिँडी, भेपलगायत विभिन्न सुर्तीजन्य पदार्थ प्रयोग गर्नेको महिलाको संख्या बढेको पाइएको छ । सोही उमेर समूहका पुरुष भने ४१.८ प्रतिशत लतमा छन् । सहरीभन्दा ग्रामीण क्षेत्रमा बढी सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका नागरिक बढिरहेका छन् । ग्रामीण क्षेत्रमा २०.० प्रतिशत नागरिकले सुर्तीजन्य पदार्थ सेवन गर्दा सहरी क्षेत्रका १९.९ प्रतिशतले सेवन गर्ने गरेका छन् । प्रदेशअन्तर्गत हेर्दा सबैभन्दा बढी कोशी प्रदेशका २४.५ र सबैभन्दा कम सुदूरपश्चिममा १५.६ प्रतिशतले सुर्तीजन्य पदार्थ खाने गरेको पाइएको छ । विज्ञहरू भने ग्रामीण क्षेत्रका नागरिक सुर्तीजन्य पदार्थ स्वास्थ्यमा पार्ने असरबारे जानकारी नहुँदा सेवन गरिरहे पनि सहरी क्षेत्रका नागरिक सबै कुरा जानकारी हुँदा पनि सेवन गर्ने गरेको बताउँछन् । अझ विद्यालय तथा कलेज पढ्दै गरेका बालबालिका भेपलगायतका बजारमा नयाँ आएका सुर्तीजन्य पदार्थको लतमा छन् । स्वास्थ्यमा पार्ने असरबारे सचेत उनीहरू बढी सेवन गर्ने गरेको बताउँछन् ।