काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि अभिभुखीकरण कार्यक्रम गरेको छ ।
कलेजमा आउने नयाँ विद्यार्थीले विद्यालय समयमा के गर्न पाउने, के नपाउने भन्ने विषयमा जानकारी गराउन नयाँ भर्ना भएका विद्यार्थीका लागि यो कार्यक्रम गरेको हो ।
बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई टेक्सास कलेजमा स्वागत गर्दै विद्यार्थीले विद्यालय भित्र पालना गर्नुपर्ने नियमबारे जानकारी गराइएको थियो ।

जसमा विद्यार्थीले कलेजमा अनिवार्य विद्यालय पोशाकमा आउनुपर्ने, कलेज समयभन्दा करिब १५ मिनेट अगाडि नै उपस्थित हुनुपर्ने, विद्यालयमा आयोजना हुने हरेक कार्यक्रममा भाग लिनुपर्ने लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक डा. श्यामसुन्दर श्रेष्ठले टेक्सासले आध्यात्मिक रूपमा सचेत, तीक्ष्ण विवेकी र सीपयुक्त विद्यार्थी उत्पादन गर्नु आफूहरूको लक्ष्य रहेको बताए ।
‘टेक्सास मन्टेश्वरीदेखि मास्टर्स सम्मकै शिक्षाको लागि उत्कृष्ट शैक्षिक संस्था हो,’ उनी भन्छन्,‘ कुनै विषयको छनोटले विद्यार्थीलाई सफल बनाउने नभई आफ्नो मेहनत र त्यो विषय प्रतिको धारणाले सफल बनाउने हो । सिकाइमा कलेजले कुनै कसुर बाँकी राख्दैन यसमा परिश्रम, मिहिनेत विद्यार्थीले गर्नुपर्छ ।’
कलेजमा विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीको आकर्षण बढेको बताउँदै श्रेष्ठले कुनै पनि विषय आफैमा कमजोर नभएको तर विद्यार्थीले आफूले रोजेको विषयमा निकै मिहिनेत गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेको जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले विद्यार्थीलाई अरूको पछाडि दगुर्नुभन्दा आफ्नो रुचि लगाव के हो भन्ने बुझन आवश्यक रहेको बताए ।
अहिले बजारमा विज्ञान, व्यवस्थापन, आईटीजस्ता विषयमा माग पनि बढेको र विद्यार्थीको आकर्षण पनि त्यतै बढेको बताउँदै उनी भन्छन्, ‘जुन कुरा बिक्छ भनेर दौडिनुहुन्छ, त्यतापट्टि नलाग्नुहोस्, किनकि त्यो बिकाउ सामान होइन, तपाईं आफ्नो ज्ञान र रुचिमा काम गर्नुहुन्छ भने बजार तपाईंको पछाडि दगुर्छ ।’
अहिले धेरै विद्यार्थी साथी र बजारको पछाडि लाग्ने गरेको बताउँदै उनले विद्यार्थी आफैको वुद्धि जाग्नुपर्ने बताए । कसैलाई खुसी बनाउन काम गर्नुभन्दा खुसी भएर गरेको कामले राम्रो परिणाम दिने उनको भनाइ छ ।
यस्तै कार्यक्रममा बोल्दै उत्प्रेरक वक्ता डा. रविन कटवाल भन्छन्, ‘अहिले सबै व्यक्ति उत्कृष्ट भए पनि अझै उत्कृष्ट त्यो व्यक्ति बन्छ जसले आफूलाई चिनेर काम गर्छ ।’
उनले विद्यार्थीले राम्रो विद्यालय छनोट गरेको बताउँदै अब मिहिनेत गर्ने पालो आएको बताए । उनी शिक्षा अहिले अपरिहार्य रहेको बताउँदै मान्छेलाई महान बनाउने चिज नै शिक्षा भएकाले पढाइमा निकै मिहिनेत गर्नुपर्ने बताए।
शिक्षालाई ग्रहण गर्न इच्छा आवश्यक पर्ने भएकाले इच्छा नभएका व्यक्तिले शिक्षा लिन नसक्ने बताए ।
‘जसरी आजको ३०–४० वर्ष अगाडि पढेलेखेका मान्छे निकै कम थिए, अबको २० वर्ष पछाडि यो समाजमा पढेलेखेका मान्छे निकै कम हुनेछन् किनकि अधिकांश मानिस धनको पछाडि दगुर्ने र पढाइ बीचैमा छोड्नेछन्,’ उनले भने ।
कार्यक्रममा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा. डा. गोविन्दप्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, क्याम्पस प्रमुख श्याम सुन्दर श्रेष्ठसहित अन्य प्रशासकहरू, विभिन्न विभागका विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो ।