काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन–प्याब्सनलाई निलम्बन गरिएको जनाएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पटक-पटक पालना नगरेको तथा संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएको छ ।
यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षसँग छलफलसमेत गरेको थियो । छलफलका क्रममा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले गत मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको थियो । तर, उक्त निर्देशनबमोजिम काम गरेको नदेखिएपछि मन्त्रालयले निलम्बनको निर्णय गरेको सूचनामा उल्लेख छ ।
मन्त्रालयले निलम्बन अवधिमा संस्थाको नाममा कुनै समूह वा गुटबाट गतिविधि सञ्चालन भएमा गैरकानुनी मानिने र प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।