चितवन । शिक्षा विकास तथा समन्वय इकाइ चितवनले सामाजिक सञ्जालको प्रयोग गर्दा प्रचलित कानुन र आचारसंहिता पूर्ण रूपमा पालना गर्न जिल्लाका सम्पूर्ण विद्यालयका शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ ।
सामाजिक सञ्जालको प्रयोगसम्बन्धी कानुनी व्यवस्थाको स्मरण गराउँदै शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन इकाइले आग्रह गरेको हो ।
इकाइ प्रमुख कृष्णचन्द्र पौडेलद्वारा जारी पत्रमा शिक्षा नियमावली, २०५९ को नियम १३३ मा रहेको शिक्षकले पालना गर्नुपर्ने आचारसंहिताको व्यवस्था उल्लेख गरिएको छ । उक्त नियमको उपनियम (१) को खण्ड (घ) अनुसार नेपाल सरकार, नेपाली जनताको पारस्परिक सम्बन्ध वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेनामी कुनै लेख प्रकाशित गर्न, प्रेसलाई कुनै खबर दिन वा रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यमबाट भाषण प्रसारित गर्न तथा सार्वजनिक भाषण दिन नहुने व्यवस्था रहेको पत्रमा उल्लेख छ ।
त्यस्तै, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न जारी गरिएको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा सामाजिक सञ्जालको प्रयोग गर्दा गर्न हुने र नहुने कार्यबारे कानुनी व्यवस्था रहेको जनाइएको छ ।
पत्रमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी कानुनी व्यवस्था स्पष्ट हुँदाहुँदै पनि शिक्षक तथा कर्मचारीले प्रचलित आचारसंहिता विपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भनी विभिन्न माध्यमबाट गुनासो आउने गरेको उल्लेख छ । यसै सन्दर्भमा इकाइले चितवनका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई सम्बन्धित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न र आचारसंहिताअनुसार सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको छ ।
साथै, आचारसंहिता पालना नभएको अवस्थामा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम नियमन गर्नसमेत आग्रह गरिएको छ ।