काठमाडौं । सचिवको पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउँदै उमेरहदका कारण निजामती सेवाबाट अवकाशमा गएका डा. रामप्रसाद घिमिरे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशक नियुक्त भएका छन् ।
गत फागुनमा सचिवबाट अनिवार्य अवकाशमा गएका घिमिरेले अवकाशको एक वर्ष नबित्दै प्रशासनिक प्रशिक्षणको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् ।
घिमिरेले राजस्व सचिव र अर्थ सचिवका रूपमा काम गरिसकेका छन् । त्यसबाहेक उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।
५८ वर्षे उमेरहदका कारण सचिवको पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउँदै अवकाशमा पुगेका घिमिरे अब स्टाफ कलेजको कार्यकारी नेतृत्वमा रहनेछन् ।
स्टाफ कलेजका तत्कालीन कार्यकारी निर्देशक रामशरण पुडासैनी पदमुक्त भएपछि उक्त पद रिक्त थियो । रिक्त पदमा नियुक्तिका लागि घिमिरेसहित पूर्वसचिवहरू डिल्लीराम शर्मा, गोकर्णमणि दुवाडी र बाबुराम अधिकारी प्रतिस्पर्धामा थिए ।
छनोट प्रक्रियामा घिमिरे, शर्मा र अधिकारी नियुक्तिका लागि सिफारिस भएका थिए । सिफारिसमा परेका तीन जनामध्ये घिमिरे कार्यकारी निर्देशक नियुक्त भएका हुन् । दुवाडी भने अन्तिम तीन जनाको सूचीमा समेत पर्न सकेनन् ।
यसपटक स्टाफ कलेजको कार्यकारी निर्देशक छनोटमा यसअघिको अभ्यासभन्दा फरक प्रक्रिया अपनाइएको थियो । विगतमा मन्त्रिपरिषदबाट सिधै नियुक्ति गर्ने अभ्यास रहेकामा यसपटक खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरिएको हो ।
स्टाफ कलेजले सरकारी कर्मचारीको क्षमता अभिवृद्धि, प्रशासनिक प्रशिक्षण तथा सार्वजनिक प्रशासनसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै आएको छ ।