अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

अष्ट्रेलिया । अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८/२४ वर्षका युवाहरूमा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०/६४ वर्षका बीच ८० प्रतिशत र ६५ वर्षमाथिका समूहमा ८७ प्रतिशत पुगेको छ । मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार, 'यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेटफर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोगकर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।' उनका अनुसार यी एपहरूले युवा प्रयोगकर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने एल्गोरिदममार्फत शोषण गर्ने आरोपमा छन् । समर्थकहरूले यस प्रतिबन्धले युवाको मानसिक स्वास्थ्य, धम्की, चरमपन्थी सामग्री, गलत सूचना र यौन अपराधीबाट हुने जोखिम घटाउने बताएका छन् । विरोधकहरूले भने यसले अभिभावक अधिकारमा हस्तक्षेप गर्ने र सामाजिक जडानमा बाधा पुर्याउने आरोप लगाएका छन् । यो कदमले दुईपक्षीय समर्थन पाएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ, किनभने अन्य देशहरू पनि समान कानुन विचार गरिरहेका छन् । तर, रेडिटले उच्च अदालतमा चुनौती दायर गरेको छ । यसले आफ्नो प्रौढ प्रयोगकर्ता केन्द्रित फोरमहरूमा प्रतिबन्ध लागू नहुने तर्क गरेको छ । गत महिना, दुई जना १५ वर्षीय अष्ट्रेलियाली किशोरहरूले पनि उच्च अदालतमा संवैधानिक चुनौती दायर गरेका थिए । नयाँ कानुनअनुसार प्रभावित प्लेटफर्महरूले १६ वर्षमुनिका प्रयोगकर्ताले खाता सिर्जना गर्न वा पहुँच गर्न नदिने उचित कदम चाल्नुपर्नेछ । गम्भीर उल्लङ्घन पाएमा प्लेटफर्महरूले ४९.५ करोड अष्ट्रेलियाली डलर (३३ लाख अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ । रासस

लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर)

काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनी अहिले आफ्नो परम शान्ति र प्राकृतिक सुन्दरताको उत्कर्षमा छ । जाडोको मधुर मौसममा यहाँको पवित्र बगैंचा हरियालीले ढाकिएको छ । जहाँ मायादेवी मन्दिरको सेतो संरचना शान्त पोखरीको किनारमा झल्किरहेको देखिन्छ । अनन्त शान्तिको ज्वाला निरन्तर बलिरहेको छ । जसले वरपरको वातावरणलाई झन् रहस्यमय र आध्यात्मिक बनाउँछ । अन्तर्राष्ट्रिय मठ क्षेत्रहरूमा विभिन्न देशका भव्य मठहरू चिटिक्क परेका छन् । थाई, चिनियाँ, जापानी र जर्मन मठहरूको रंगीन वास्तुकला र सुन्दर बगैंचाहरूले लुम्बिनीलाई विश्व शान्तिको प्रतिक बनाएका छन् । सारस क्रेनहरूको बासस्थान बनेको सिमसार क्षेत्रमा पंक्षीहरूको कलरव र पर्यटकहरूको मन्द गतिले यहाँको वातावरणलाई अझ रमणीय बनाएको छ । यहाँको चौडा पदमार्गहरू, फुल्दै गरेका फूलहरू र शान्त पोखरीहरूले हरेक आगन्तुकलाई बुद्धको शान्त सन्देशको अनुभुति गराउँछन् । लुम्बिनीको यो अहिलेको सुन्दरता साँच्चै अवर्णनीय छ । अनि शान्ति र सौन्दर्यको पर्याय छ ।   

आजदेखि सञ्चालनमा आयो मोक्सी होटल

काठमाडौं । काठमाडौंको कमलादीमा निर्माण भएको मोक्स होटल शुक्रबार (आज)देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक शशिकान्त अग्रवाल हुन् ।  इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलमार्फत निर्माण भएको होटल मोक्सी मेरियट ब्राण्डमा आधारित छ । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा  १०१ वटा लक्जरियस कोठाहरू छन् । होटलमा क्याफेटेरिया, बार, स्वीमिङ पुल, साउना स्टीम, हेल्थ क्लबलगायतका सुविधा हुने छ । यो होटल युवावर्ग र विदेशी पाहुना लक्षित हो । यो होटललाई एसियाकै दोस्रो होटलका रूपमा लिइएको छ । यस्तो होटल पहिला जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिइसकेको छ । असोजदेखि होटल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि जेनजी आन्दोलनको कारण ढिलाइ भएको थियो । यसअघि ठमेलमा म्यारियटको चारतारे र नक्सालमा पाँच तारे होटल सञ्चालन भइसकेकोमा यो तेस्रो होटल हो । पौने २ अर्ब लागतमा कमलादीमा ठडियो १२ तले मोक्सी होटल, छिट्टै ओपनिङ (फोटोफिचर)